१४ असार, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३८ क्वीन्टल सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् ।
महानिरीक्षक नियुक्त भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।
सुनकाण्डमा प्रहरी कर्मचारीहरुसमेत अनुसन्धानमा तानिएकाले आफ्नो चासो रहेको भन्दै यस विषयमा गृह मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान गरिरहेको खनालले बताए । उनले अपराधीकरण भने निर्मुल हुनुपर्ने धारणा राखे ।
खनालले प्रस्तुत गरेको आफ्नो प्रगति विवरणमा जिल्ला प्रहरी कार्यालय मोरङले सुनकाण्डबारे अनुसन्धान गरी मुद्दा दर्ता गरेको पनि उल्लेख गरिएको थियो ।
आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका छन् ।
त्यस्तै, प्रहरी संगठनलाई पनि संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।
विशेष प्रहरी कार्यक्रममा लागू औषध नियन्त्रण र मानव बेचबिखनविरुद्ध अभियानलगायत रहेका छन् ।
बढुवा विवादको बचाउ
डीएसपी र एसपी बढुवामा कामको मूल्याङ्कनभन्दा राजनीतिक पहुँचका आधारमा निर्णय भएको भन्दै प्रहरी संगठनभित्र रहेको असन्तुष्टिबारे सार्वजनिक रूपमै टिका टिप्पणी भइरहेको छ ।
तर, खनालले भने बढुवा प्रक्रियाको बचाउ गरेका छन् ।
‘एसपी बढुवामा २८ सिट थियो । र, बढुवा हुनु पर्नेमा एउटै ब्याचका धेरै थिए । धेरै पटकको छलफलबाट निर्णय लिइएको हो’, खनालले भने, ‘जसको नाम बढुवामा पछि पर्यो भनिएको छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन् । फेरि कसरी असन्तुष्ट भए ?’
उनले राम्रो काम नगर्ने अफिसरलाई फिर्ता बोलाइने समेत बताए । हेटौंडाका प्रहरी प्रमुखलाई फिर्ता तानिएको स्मरण गर्दै उनले भने, ‘नराम्रो काम गर्नेहरु अरु पनि फिर्ता तानिन्छन् ।’
यो पनि पढ्नुस्
प्रतिक्रिया 4