Comments Add Comment

आईजीपी बनेपछि गुमनाम भए सर्वेन्द्र

सुनकाण्डबारे मौनता, सुरक्षा व्यवस्था कमजोर


१४ असार, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहँदासम्म ‘दबङ’ शैलीका चर्चित एवं काबिल प्रहरी अधिकारीको परिचय बनाएका सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) बनेपछि गुमनामजस्तै भएका छन् ।

आईजीपी नियुक्त भएको दुई महिनाको अवधिभित्र सुन तस्करी प्रकरणमा प्रहरीकै उच्च अधिकारीको संलग्नता रहेको पर्दाफास भएको छ । तर, आइजीपी सर्वेन्द्रले यसबारे बोलेका छैनन् । सुनकाण्डको प्रारम्भिक अनुसन्धान गरेको अपराध महाशाखाको टोलीलाई नै तस्करको मतियार बनेको अभियोगमा लाग्दासमेत आइजीपी मौन छन् ।

मोरङ जिल्ला अदालतले नेपाल प्रहरीका तत्कालीन महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित अन्य अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश पनि दिएको छ । यसबीचमा प्रहरीको नायब उपरीक्षक (डीएसपी) र उपरीक्षक (एसपी) बढुवामा पनि राजनीतिक चलखेल भएको व्यापक गुनासो आएको छ । तर, यी प्रकरणहरुमा संगठन प्रमुख खनाल मौन बसेका छन् । उनले न त सार्वजनिक रुपमा केही बोलेका छन्, न त ब्रिफिङमा आफ्नो नै धारणा सार्वजनिक गरेका छन् ।

के आइजीपी खनालले डीआईजी हुँदासम्मको छवि धमिलो बनाउन थालेका हुन् ? प्रहरी संगठनभित्र र बाहिरसमेत टीकाटिप्पणी हुन थालेको छ ।

‘विभाग हाम्रो हातमा त छ ?’

सुनकाण्डमा मुछिएका तत्कालीन अपराध महाशाखाका अधिकारीको पक्षमा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, डीआईजी हेमन्त मल्ल ठकुरी र रमेश खरेलले सार्वजनिकरुपमा अभिव्यक्ति दिए । उनीहरुको अभिव्यक्तिविरुद्ध गृह मन्त्रालयले विज्ञप्ति नै जारी गर्‍याे । तर, प्रहरी हेडक्वार्टरले यति ठूलो प्रकरणमा कुनै विज्ञप्ति जारी गरेन ।

गृह मन्त्रालयले अदालतमा समेत विचाराधीन मुद्दामा जिम्मेवार व्यक्तिहरु संवेदनशील नभएको टिप्पणी गरेको थियो । तर, आईजीपी खनालले यस प्रकरणमा न अनुसन्धान अधिकारीहरुको बचाउ गरे । न त उनीहरुलाई कारबाही गर्नुपर्ने पक्षमा नै अभिव्यक्ति दिए । बरु मौन बसे ।

भर्खरै अमेरिका भ्रमणबाट फर्केका आइजीपी खनालले आज औपचारिक पत्रकार सम्मेलन गर्न लागेका छन् । सुनकाण्डमा प्रहरी अधिकारीहरुको संलग्नताबारे आइजीपी खनालले मुख खोल्छन् या खोल्दैनन्, हेर्न बाँकी छ

‘पूर्वप्रहरी अधिकारीको भनाइमाथि विभागबाटै पहिले स्पष्ट धारणा सार्वजनिक हुनुपर्नेमा गृह मन्त्रालयबाट आयो’, नेपाल प्रहरीका एक पूर्वआईजीपीले अनलाइनखबरसँग भने, ‘यसले विभाग हाम्रो हातमै छैन कि भन्ने पनि भान हुन्छ । संगठनका वहालवाला अधिकारीहरुले नै पनि यस्तो गुनासो गर्न थालेका छन् । यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय यो कुरालाई पुष्टि गर्ने अन्य गतिविधि समेत देखिएका छन् ।’

सुनकाण्डमा प्रहरीको एउटा ठूलो जमात मुछिएका बेला संगठनका बहालवाला अधिकारीहरुमा एक किसिमको द्विविधा रहेको उनी बताउँछन् । ‘सुन प्रकरणसहित बढुवामा भएको भनिएको चलखेल लगायतका विषयले संगठनका अधिकारीहरुमाथि कन्फ्यूजन देखिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘यस्तो अवस्थामा संगठन प्रमुखले ती समस्यामाथि आफ्नो धारणा व्यक्त गर्नु पर्ने हो । तर, त्यो हुन सकेन ।’

आफूसहितका अन्य अधिकारीहरुले नेतृत्वमा रहेका बेला त्यस्ता विषयहरुमाथि कतिपय कुरा सार्वजनिकरुपमै त कतिपय ब्रिफिङमा बोल्ने गरेको भन्दै उनले भने, ‘अहिले विभागीय कुरासमेत गृहतिरैबाट आउन थालेका छन् ।’

बढुवा विवादः गृहमन्त्री बोले, आईजीपी चुप

डीएसपी र एसपी बढुवामा कामको मूल्याङ्कनभन्दा राजनीतिक पहुँचका आधारमा निर्णय भएको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि छ । बढुवामा कार्यक्षेत्रमा खटिएर अब्बल कार्यक्षमता प्रदर्शन गरेका भन्दा नेताका नजिककालाई प्राथमिकतामा राखिएको भन्दै अधिकारीहरुले असन्तुष्टि जनाउने गरेका छन् ।

डीएसपीबाट एसपी बढुवा सूचीमा रहेका गंगा पन्त, वसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, प्रज्वल महर्जनहरु वरियतामा पछाडि परे भने केही आशलाग्दा अधिकारी बढुवा सूचीमै परेनन् ।

एसपी बढुवामा एक नम्बरमा परेका अच्यूतम पुडासैनी गृह मन्त्रालयका सह–सचिव हरिशरण पुडासैनीका भाइ हुन् । प्रधानमन्त्री केपी ओलीको सुरक्षामा खटिएका डीएसपी सानुराम भट्टराई चौथो नम्बरमा परे भने माधव नेपाल प्रधानमन्त्री हुँदा उनका अंगरक्षक रहेका अभिनारायण काफ्ले ८ औं नम्बरमा बढुवा भए ।

त्यस्तै, इन्स्पेक्टरबाट डीएसपी बढुवा पनि विवादित बन्यो । पूर्वगृहमन्त्री वामदेव गौतमका पीएसओ भीमबहादुर लामा बढुवा सूचीको शीर्षस्थानमा परे । यसविषयमा पनि आईजीपी सर्वेन्द्र खनाल मौन बसेका छन् ।

बरु गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एक कार्यक्रममा सञ्चारकर्मीलाई सम्बोधन गर्दै ‘पहिले तलमाथि भएकालाई सच्चाइएको’ टिप्पणी गरेर बढुवा प्रक्रियाको बचाउ गरेका थिए ।

सचिवालयमा चर्चा – आईजी सा’ब सन्तुलित हुनु भो !

आईजीपी बनेपछि गुमनाम बनेका सर्वेन्द्रको पछिल्ला कार्यशैलीबारे उनकै सचिवालयमा पनि विभिन्नखाले चर्चा हुने गरेका छन् ।

सचिवालयमा रहेका एक अधिकारी खनालले सन्तुलित बन्ने नीति लिएको बताउँछन् । ‘अहिले दुई ठूला पार्टीहरु एक ठाउँमा छन् । उनीहरुलाई खुशी पार्न पनि संगठनभित्र चलखेल भइरहँदा उहाँ मौन बस्नुभएको जस्तो भान हुन्छ’, ती अधिकारीले भने ।

विभिन्न प्रकरणमा प्रहरी अधिकारीहरु मुछिँदासमेत संगठन प्रमुखका तर्फ स्पष्ट धारणा नआउँदा प्रहरी संगठनमाथि नै प्रश्न उठ्ने ती अधिकारी बताउँछन् ।

खनाललाई राम्रोसँग चिन्नेहरुका अनुसार उनी वाम सरकारका मन्त्रीहरुको प्यारो बन्ने दौडमा छन् । यसले गर्दा उनी प्रहरी संगठनको व्यवसायिकतालाई भन्दा बढी मन्त्रीहरु खुशी पार्नेतर्फ केन्द्रित छन् ।

यसैवीच भर्खरै अमेरिका भ्रमणबाट फर्केका आइजीपी खनालले बिहीबार औपचारिक पत्रकार सम्मेलन गर्न लागेका छन् । सुनकाण्डमा प्रहरी अधिकारीहरुको संलग्नताबारे आइजीपी खनालले मुख खोल्छन् या खोल्दैनन्, हेर्न बाँकी छ ।

यसका साथै राजधानीमा दिनदहाडै मानिसहरुको हत्या भइरहेको, ट्रिपर आतंक नरोकिएको र राजधानीको ट्राफिक व्यवस्थापन अनि ट्याक्सीले यात्रुमाथि गरिरहेको ठगीबारे आइजीपी खनालले कस्तो प्रतिक्रिया दिन्छन्, आजै थाहा हुनेछ ।

यो पनि पढ्नुस् 

आईजीपी खनालले भने – सुनकाण्डबारे केही बोल्दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment