Comments Add Comment

चेपाङ बस्तीमा चिउरी रोपेर मन्त्रीले सुरु गरे फलफूल वर्ष

१५, असार, चितवन । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ फलफूल वर्ष-२०७५ को शुभारम्भ गरेको छ ।

प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका-११ आँपपानीमा २०० वटा चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरेका हुन् ।

चेपाङहरुले छोरीको विहेमा दाइजोका रुपमा चिउरी रुख दिने भएकोले चेपाङ वस्तीमा यसको महत्व छ । साथैं चेपाङहरुले पाल्ने मौंरीका लागिसमेत चिउरीको विषेश महत्व भएकोले चेपाङ बस्तीमा चिउरीको बिरुवा रोपिएको हो ।

सोही अवसरमा प्रदेश ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने अभियानका रुपमा फलफूल वर्ष शुभारम्भ गरिएको बताए ।

नेपालमा बर्सेनि करोडौंको फलफूल आयात हुने गरेकाले त्यसलाई कम गर्दै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने उनको दाबी छ ।

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले प्रदेश नम्बर ३ को सम्वृद्धि नै कृषि र पर्यटन र जलविद्युत्बाट सम्भव भएकाले कृषिलाई सबैभन्दा माथि राखिएको बताए ।

चितवनको पहाडी क्षेत्रमा चिउरीको राम्रो उत्पादन हुने गरेको छ । चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरीको बिरुवा रोपिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए ।

प्रदेशका ५० बटा स्थानीय तह र २०० सामुदायिक तथा कबुलियती वनसँग मिलेर फलफूल रोप्ने अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रदेशका ४५० युवालाई तालिम दिएर फलफूल रोप्नका लागि आंशिक रोजगारको व्यवस्थासमेत गरिएको उनले बताए । चितवनमा मात्रै चिउरी रोप्नका लागि १६ जना युवा परिचालन गरिएको छ ।

स्वास्थ्यका लागि चिउरीको मह लाभदायक हुने भएकाले यसको माग बढ्दो छ । पहिला चेपाङहरुले मात्र प्रयोग गर्ने चिउरी समयक्रमसँगै बहुआयामिक जडिबुटीजन्य औषधि बन्न पुगेको छ ।

स्वास्थ्य विज्ञानका अनुसार चिउरीको घिउ कोलस्ट्रोलरहित हुने हुँदा मानव स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

चिउरी बजारमा प्रतिकेजी ७० रुपैयाँको दरले बिक्री हुने गरेको छ । कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment