Comments Add Comment

‘फोपी’ एप सार्वजनिक, पाइरेसी रोकिने विश्वास


काठमाडौं । सर्जक र स्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र स्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने उद्देश्यका साथ ‘फोपी एप’ सार्वजनिक भएको छ ।

एप निर्माता ‘आविष्कार टेक्नोलोजी’का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम गर्ने बताए ।

यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ । यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको उनले बताए ।

‘यो एपमार्फत जो–कोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुर्याउन सक्छन्,’ उनले भने, ‘यो स्वतन्त्र र पारदर्शी माध्यम हो । आफ्ना सामग्री कतिपटक किनियो, त्यसबापत कति रकम प्राप्त भयो भन्नेसम्म जानकारी सर्जक वा कम्पनीले थाहा पाउन सक्छन् । कोही ठगिने गुन्जायसै छैन ।’

कार्कीका अनुसार ‘फोपी’लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ । सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ । उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् । अर्को, तोकिएको ‘फोपी पसलुबाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ । यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ । तेस्रो, सार्वजनिक स्थलहरू (होटल, रेस्टुराँ, सवारीसाधन) मा ‘फोपी हटस्पट’ सञ्चालन गरिनेछ । यी ठाउँमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ ।

एप निर्माण कम्पनी आविष्कार टेक्नोलोजीले यो एपमार्फत सिर्जना चोरी पूर्णतः निषेध हुने विश्वास लिएको छ । यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ । ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ । मूल्य पनि न्यूनतम तोकिएको छ । सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ । सबै मिडिया सामग्री तीब्र गतिमा (टुजीमा समेत) डाउनलोड गर्न सकिन्छ । जहाँ बसेर पनि आफूले चाहेको गुणस्तरमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment