Comments Add Comment

अरुले पिएको चुरोटको धुँवाको असरले  बर्षेनी चार लाखको मृत्यु

डिजेलको गन्धमिश्रति काठमाडौंको वायु कति विषालु ?

‘काठमाडौंमा हाम्रो कारको प्रतिक्षा गरिरहँदा अत्याधिक धुलो, अत्याधिक ट्राफिक, हावामा अध्यधिक डिजेल र पेट्रोलको धुँवा….हामीले आफ्नो अनुहार छोप्नुपर्‍यो । यहाँ हरेक दिन स्थानीयवासीहरु अनुहारमा सर्जिकल मास्क लगाएर हिँड्ने गर्छन् ।’

नेपालमा घुमघामका लागि आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा काठमाडौंको अवस्थाबारे आफ्नो भोगाई यसरी लेखेकी थिइन् ।

हामीलाई नकारात्मक टिप्पणी पच्दैन । हामीले पनि बलिउड अभिनेत्रीको भोगाई पचाएनौं । बरु धुलो-धूँवा पचाउँछौं । तर वास्तविकता के भने, उनको घ्राणयन्त्रले काठमाडौंको वायुमण्डलमा जुन किसिमको गन्ध अनुभव गर्‍यो, त्यो अतिरञ्जित होइन । बनावटी होइन । अध्ययनबाट पनि पुष्टि भइसकेको छ कि, काठमाडौंको वायु अत्याधिक प्रदूषित छ । यहाँ सास फेर्नेहरुका लागि पर्याप्त अक्सिजन छैन । अक्सिजन नभएपनि मास्क्स लगाएर हिँड्नुपर्छ, ताकि प्रदूषित वायु फोक्सोमा नपुगोस् ।

काठमाडौंको वायु प्रदूषणले कति फोक्सोको रोगी भएका होलान् ? कतिलाई नाक, कान, घाँटीको समस्या भएको होला, ठोस अध्ययन भएको छैन । यद्यपी के ठोकुवा गर्न सकिन्छ भने, काठमाडौंको विषाक्त वायु फोक्सोको क्यान्सरको जोखिम बनेको छ, बन्न सक्छ ।

यसै सन्दर्भमा हालै हिन्दी बिबिसी अनलाइनले एउटा आलेख प्रकासित गरेको छ, जसमा चुरोट सेवन नगर्ने पनि क्यान्सरको रोगी भन्ने विषयमा छ । चुरोट पिउनेमात्र फोक्सोको क्यान्सरको रोगी हुन्छ भन्ने हाम्रो भ्रमलाई चिर्न यो लेख सान्दर्भिक हुनसक्छ ।

चुरोट नपिउनेपनि फोक्सोको क्यान्सर रोगी

फोक्सोको क्यान्सर आज विश्वमै तिब्र रुपमा फैलिइरहेको छ । यससँग सम्बन्धित आँकडा सन् २०१२ को हो, जुन समय फोक्सोको क्यान्सरका १८ लाख नयाँ रोगी थपिए । यसमा ५८ प्रतिशत विकासशील देशका थिए । तर, अमेरिका र बेलायत जस्ता  विकसित देशमा पनि यो समस्या उसैगरी फैलदो छ ।

अध्ययन अनुसार बेलायतमा हरेक बर्ष ४५ हजार फोक्सोको क्यान्सर रोगी बढ्दैछन् । अमेरिकामा त दुई लाख तीस हजार बढी बर्षेनी यस्ता रोगी थपिने गरेका छन् । अष्ट्रेलियामा बर्षमा साढे १२ हजार रोगी देखिने गरिएको छ ।

कुन रफ्तारमा बढ्दैछ ?

पछिल्लो केही दशकयता जुन रफ्तारमा क्यान्सरका रोगी बढ्दैछन्, त्यस हिसाबले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी प्रयास भएको देखिदैन । सन् १९७१ देखि ७२ सम्म रोग पत्ता लागिसकेपछि तीन प्रतिशत रोगीलाई दश बर्षसम्म बचाउन सकिन्थ्यो । सन् २०१० देखि ११ सम्म यसमा दुई प्रतिशत वृद्धि भयो । जबकी यस क्रममा ब्रेस्ट क्यान्सरबाट मर्नेको संख्या ३४ प्रतिशतसम्म गिरावट आयो ।

फोक्सोको क्यान्सरको सन्दर्भमा कुरा गर्दा भन्ने गरिन्छ कि, यो त चुरोट सेवनबाट हुन्छ । अर्थात चुरोटका अम्मलीहरु नै फोक्सोको क्यान्सरको जोखिममा हुन्छन् । यदि चुरोट पिउन छाडिएमा क्यान्सर ठिक हुन्छ । के यस्तै होला त ?

पक्कै होइन । जो चुरोट पिउँदैनन्, उनीहरुलाई पनि फोक्सोको क्यान्सर हुनसक्छ । के चाहि सत्य हो भने, महिलाको तुलनामा पुरुषहरु यो रोगको जोखिममा छन् ।

अमेरिकामा हरेक बर्ष १५ मा एक पुरुष जबकी हरेक १७ मा एक महिला फोक्सोको क्यान्सरले ग्रस्त हुने गर्छन् ।

महिला पनि जोखिमको घेरामा

तर, पछिल्लो समय के देखिएको छ भने फोक्सोको क्यान्सरबाट अत्याधिक महिलाहरु ग्रस्त हुँदैछन् । जबकी पुरुषको संख्यामा कमी आएको छ । अन्तर्राष्ट्रियस्तरमा भएका केही अध्ययनले त के साबित गरेका छ भने विश्वमै फोक्सो रोगी पुरुषको संख्या घट्दैछ । जबकी यस्ता महिलाको संख्या २७ प्रतिशतले बढेको छ ।

किन बढ्दैछ त ? यसको ठोस कारण फेला पारिएको छैन । यद्यपी के चाहि भन्न सकिन्छ भने, तम्बाकुमा पाइने कार्सिनोजेन्स अर्थात विषाक्त तत्व महिलाको डीएनएलाई चाडै प्रभाव पार्छ ।

पक्कैपनि महिलाहरु पुरुषको तुलनामा कम चुरोट सेवन गर्छन् । उनीहरुले पुरुषले भन्दा पछि धुमपान सुरु गरे । तर, अहिले उनीहरुमा पनि यसको असर देखिन थालिएको छ । जब महिला शसक्तिकरण र स्वतन्त्रताको वाकलत बढ्दै जाँदा महिलाहरुमा धुमपानको लत तिब्र रुपमा फैलिएको पाइन्छ ।

स्मोकिङको फेसन

अध्ययनले के साबित गरेका छ भने, जुन देशका महिला बढी शसक्त छन्, उनीहरुमा स्मोकिङको फेसन बढी छ । तर यो कुरा सबै देशमा लागु हुन्छ भन्ने छैन । स्मोकिङको सन्दर्भमा पनि जेन्डर ग्याप देखिन्छ । उदाहरणका लागि अमेरिकामा २२ प्रतिशत पुरुष र १५ प्रतिशत महिला चुरोट सेवन गर्छन् ।

अष्ट्रेलियामा यो आंकडा १९ र १३ प्रतिशतको छ । किशोरपुस्तामा भने अवस्था फरक छ । अमेरिकामा १३ देखि १५ बर्षका १५ प्रतिशत किशोर र १३ प्रतिशत किशोरी स्मोकिङ गर्छन् । जबकी अष्ट्रृेलियामा ५ प्रतिशत किशोर र किशोरी चुरोट सेवन गर्छन् । त्यसैगरी प|mान्स र बेलायतमा १५ बर्षका किशोरी किशोरको तुलनामा बढी स्मोकिङ गर्छन् ।

चुरोट सेवनले फोक्सोको क्यान्सरको खतरा ८५ प्रतिशत बढी

चुरोट नपिउनेलाई पनि फोक्सोको क्यान्सर हुन्छ भन्नुको अर्थ यसमा चुरोट कतिपनि जिम्मेवार छैन भन्ने होइन । चुरोट पिउनेहरु थप जोखिममा हुन्छन् । चुरोट पिउनेहरुमा फोक्सोको क्यान्सरको खतरा ८५ प्रतिशत बढी हुन्छ । तर बेलायतको क्यान्सर रिसर्चका सीनियर प्रोफेसर चाल्र्स स्वैन्टनका अनुसार उनले आफ्नो अभ्यासको क्रममा ५ देखि १० प्रतिशत फोक्सोको क्यान्सरका यस्ता रोगी देखे, जसले कहिल्यै चुरोट सेवन गरेका थिएनन् । अहिले यस्तै महिलामा देखिन थालिएको छ ।

फोक्सोको क्यान्सर भएका हरेक पाँच मिलाहा एक रोगी यस्ता थिए, जो कहिल्यै चुरोट पिउँदैनथे ।

विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट नपिउनेहरु जब चुरोटको धुँवाको सम्पर्कमा आउँछन्, तब उनीहरुमा पनि फोक्सोको क्यान्सरको संभावना २० देखि ३० प्रतिशत बढी हुन्छ । यही कारण हरेक बर्ष विश्वमा चार लाख तीस हजारको मृत्यु हुन्छ । यसमा ६४ प्रतिशत महिला छन् ।

फोक्सोको क्यान्सरका लागि चुरोटको धुँवा मात्र जिम्मेवार हुन्छ भन्ने छैन । चीनमा जुन महिला बन्द धरमा कोइला वा काठको दाउरा बालेर खाना पकाउँछन्, उनीहरु पनि फोक्सोको क्यान्सरको जोखिममा छन् । भारतमा पनि केही इन्धन यस्ता छन्, जसको धुलोले फोक्सोको क्यान्सर हुने देखिएको छ ।

नेपालका ग्रामिण क्षेत्रमा पनि दाउरामा आगो बालेर खानेकुरा पकाइन्छ । अक्सर भान्समा महिलाहरु खटिने गर्छन् । राजधानी लगायतका शहरमा भने वायु प्रदूषणले फोक्सोको समस्या निम्त्याइरहेको छ ।

चुरोट नपिउने पनि बढे

अध्ययन अनुसार यस्ता रोगी पनि प्रतिदिन बढ्दो छ, जसले कहिल्यै चुरोट पिएका थिएनन् ।

एक अध्ययन अनुसार २०११-१३ मा एकै प्रकारको क्यान्सरका १७ प्रतिशत रोगी पाइएको थियो । जबकी १९९० देखि १९९५ मा यो आंकडा ८ दशमलव ९ प्रतिशत थियो ।

बेलायतमा भएको एक अध्ययन अनुसार २००८ देखि २०१४ मा फोक्सोको क्यान्सरको शल्यक्रिया गर्ने रोगी १३ देखि १८ प्रतिशत बढेको छ । ताइवानमा यस्ता रोगीको आंकडा सन् १९९९ देखि २००२ मा ३१ प्रतिशत थियो, जो २००८ देखि २०११ को बिचमा बढेर ४८ प्रतिशत भयो ।

चुरोट पिउनेहरुलाई जुन किसिमको फोक्सोको क्यान्सर हुन्छ, चुरोट नपिउनेलाई हुने क्यान्सर फरक हुन्छ । दुबै किसिमको क्यान्सरमा भिन्न किसिमको जीवनमा बदलाव आउने गर्छ । चुरोट सेवन नगर्नेहरुमा सामान्यत ईजीएफआर जीनमा बदलाव हुँदा क्यान्सर हुन्छ । तर यसलाई प्रभावकारी औषधीले रोक्न सकिन्छ ।

कोशिकामा गडबडी पैदा हुँदा क्यान्सरको खतरा बढ्छ । कार्सिनोजोनिक केमिकल, भाइरस र अल्ट्रा भायोलेट किरणले कोशिकाको डिएनए बिगारिदिन्छ, जसले क्यान्सरको संभावना बढाइदिन्छ । तर कतिपय क्यान्सरको कारण थाहा पाउन सकिदैन । सायद चुरोट सेवन नगर्नेहरुमा यस्तै भएको हुनसक्छ ।

प्रदूषण पनि फोक्सोको क्यान्सरको कारण

यसका साथै प्रदूषण पनि क्यान्सरको ठूलो कारण हो । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार हरेक बर्ष विश्वभरमा दुई लाख २३ हजार फोक्सोको क्यान्सरले मृत्यु हुन्छ, जो वायु प्रदूषणको कारण हो । डिजेलको धुवा र धूलोले यस्तो समस्या निम्त्याउँछ ।

यसरी मृत्यु हुनेमा चीन र पू्रर्व एशियाई देशका हुन्, जहाँ लगातार भवन निर्माण, औधोगिकरणका कारण हावा विशाक्त हुँदैछ ।

चुरोट सेवन नगर्नेहरु अक्सर यस्तो भ्रममा हुन्छन् कि, उनीहरुलाई क्यान्सर छैन । त्यसैले फोक्सोको समस्यालाई उनीहरुले नजरअन्दाज गर्छन् । जबकी जटिल चरणमा पुगेपछि मात्र उनीहरु उपचारका लागि पुग्छन् । जुन व्यक्तिलाई क्यान्सर लागेको सुरुवाती चरणमा थाहा हुन्छ, उनीहरुमा ७० प्रतिशत व्यक्तिको सही उपचार हुन्छ । र, उनीहरु बाँच्छन् । तर एडभान्स स्टेजमा पुगेपछि उनीहरुलाई १४ प्रतिशत मात्र बचाउन सकिने संभावना हुन्छ ।

अध्ययनमा खर्च र सोंच बदल्नुपर्ने

चिकित्सकका अनुसार यदि कसैलाई छातीमा समस्या छ र त्यो लामो समय रहन्छ । अथवा एन्टिबायोटिकले पनि ठिक हुँदैन भने उनीहरुलाई तुरुन्तै परीक्षण गर्नुपर्छ । चुरोट पिउने होस् वा नहोस्, मुखबाट रगत बग्न थाल्यो भने यो फोक्सोको क्यान्सरको संकेत हो ।

चुरोट पिउनेलाई मात्र फोक्सोको क्यान्सर हुन्छ भन्ने भ्रमले गर्दा अन्य मानिसहरु यसप्रति सचेत हुँदैनन् र परीक्षण गराउँदैनन् । त्यही कारण हुनसक्छ, फोक्सोको क्यान्सरको रिसर्चका लागि पनि एकदमै कम पैसा खर्च गरिएको छ ।

अहिले बेलायतमा फोक्सोको क्यान्सर बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि रिसर्चको लगानी बढाइएको छ । यसमा जति धेरै अध्ययनहरु हुन्छन्, उत्तिनै सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ । साथै यसमा सतर्कता र सचेतना बढी आवश्यक छ । –बिबिसी हिन्दीको भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment