Comments Add Comment

गच्छदारले दिए कांग्रेस छोड्ने चेतावनी

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।

नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरेका छन् । गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउनसमेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आएपनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगर्दा आफूलाई दुख लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment