Comments Add Comment

बालविवाह र दाइजो प्रथाविरुद्ध वीरगञ्जका किशोरीको प्रतिबद्धता

३२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका २५ जना किशोरीहरुले बालविवाह नगर्ने/गर्न नदिने तथा दाइजो नलिने/नदिने लिखित प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकामा शुक्रबार आयोजित किशोरीहरुका लागि बालविवाह तथा दाइजो प्रथाविरुद्धको अभिमुखिकरण एवं प्रतिबद्धता कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘कुराकानी गरौं बिहेको जब हुन्छ उमेर २० वर्ष पुगेको’ बिहेवारी, २० वर्ष पारी भन्ने नाराका साथ युनिसेफको सहयोगमा वीरगञ्ज महानगरपालिकासँग समन्वय गरेर युवालय र बाल अधिकार सम्बर्द्धनम अभियान समिति पर्साले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी १२ देखि १९ वर्ष उमेर समूहका २५ जना किशोरीहरुले बालविवाह तथा दाइजो प्रथाविरुद्ध प्रतिबद्धता जनाएको युवालयका सदस्य एवं कार्यक्रमका प्रशिक्षक जया साहले जानकारी दिए । ‘बालविवाह र दाइजो प्रथाले समाजमा पारिरहेको असरका बारेमा हामीले उनीहरुलाई बुझायौं । त्यसपछि किशोरीहरुले बाल विवाह नगर्ने, गर्न नदिने, दाइजो नलिने लिन नदिने प्रतिबद्धता पत्रमा हस्ताक्षर नै गरेका छन्,’ उनले भने, ‘उनीहरुले लिखित प्रतिबद्धतालाई व्यवहारमै उतार्ने संकल्प समेत गरे ।’

उनीहरुले बाल विवाह र यसको नकारात्मक असरका बारेमा जानकारी दिनुका साथै सामुदायमा उमेर नपुगी विवाह नगर्न नगराउन भन्नेछु, बाल विवाह र यसले पार्ने नकारात्मक असरका बारेमा निरन्तर छलफल गर्नेछु, आफ्नो घर टोल समाजमा बालविवाह हुन लागेको छु वा छैन भन्ने विषयमा चासो राख्ने र हुन लागेको जानकारी पाएको खण्डमा नजिकैको प्रहरी वा सामाजिक संघ संस्था वा भरपर्दो निकायमा खबर गरेर बाल विवाह रोक्न मद्धत गर्नेछु, म दाइजो लिन्न र दिन्न, दाइजो प्रथाविरुद्ध सचेतना जगाउँछु, २० वर्ष नपुगी विवाह गर्ने छैन लगायतका १० वटा बुँदा लेखिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमासमेत बालविवाह र दाइजो जस्ता कुप्रथा विद्यमान रहेकोले किशोर, किशोरी, उनीहरुको अभिभावक र अन्य सरोकारवालाहरुलाई सचेत बनाउँदै बालविवाह र दाइजो प्रथा निर्मुल पार्न कार्यक्रम सञ्चालन गरिएको साहले बताए ।

कार्यक्रम मार्फत वीरगञ्ज महानगरका १५ वटा वडामाप्रति वडा ३५ जनाका दरले किशोर किशोरी र उनीहरुका अभिभावकलाई सचेत बनाउने, ५ वटा वडामा घरदैलो तथा प्रतिबद्धता लिने काम गराउने बाल अधिकार सम्बर्द्धन अभियान समितिका अध्यक्ष राहुल साहले बताए ।

अभिमुखीकरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप प्रमु्ख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार भुषाल, अधिकृत मुकेश गुप्ता लगायतले २० वर्ष उमेर नपुगी विवाह नगर्न र दाइजो नलिने प्रतिबद्धता व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

सुरुमा यस्तो निर्णय लिँदा पारिवारिक समस्या आउने भएपनि पछि सबै पक्षको साथ पाएपछि त्यसले सार्थकता पाउने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment