Comments Add Comment

पर्सा हत्या प्रकरणः छानविन गर्न समिति गठन

प्रतीकात्मक तस्वीर

१ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई गाउँपालिका– २ का एकै परिवारका २ बालकको हत्याबारे छानबिन गर्न समिति गठन गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा संघीय प्रहरी इकाई कार्यालय, वीरगञ्जका प्रहरी नायब उपरीक्षक छेदिलाल कामती, , जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, अनुसन्धान अधिकृत दीपक पटेल र जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा महेश अर्याल सदस्य छन् ।

२०७४ मंसिर १३ गतेदेखि हराएका सञ्जय साहका ११ वर्षीय छोरा सुमित साहको शव हत्या गरी गाउँ नजिकैको पोखरीमा फालिएको अवस्थामा मंसिर १७ गते भेटिएको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

सञ्जयकै कान्छो भाइ शिवजी साहको ६ वर्षीय छोरा आयोग साह असार ३१ गते पोखरीमा मृत भेटिए । स्थानीयले आयोगको हत्या भएको भन्दै ३१ गते दिनभर शव झिक्न दिएका थिएनन् ।

अबेर साँझ हेटौंडाबाट तालिमप्राप्त कुकुर मगाएर आवश्यक अनुसन्धान पछि मात्रै शव बाहिर निकालिएको थियो । त्यही विषयलाई लिएर ३२ गते सोमबार पनि दिनभर वीरगञ्जमा तनाव भएको थियो । प्रदेशसभा सदस्यहरुको नेतृत्वमा स्थानीयले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन गम्भीर नभएको भन्दै नाराबाजी गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले छानविन समिति गठन नगरेसम्म आयोगको शव नबुझ्ने अडान लिएपछि प्रशासनले बाध्य भएर छानविन समिति गठन गरेको हो ।

प्रशासनले छानविन समिति गठन गरेपछि परिवार शव बुझ्न राजी भएका थिए । परिवारले बालकको शव बुझेर दाह संस्कार समेत गरिसकेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले घटनाको सत्य तथ्य छानविन गरेर यथाशिघ्र प्रतिवेदन बुझाउन ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको संयोजकत्वमा बसेको बैठकमा प्रदेश सभा सदस्यद्वय रमेशप्रसाद कुर्मी, राजेश्वरप्रसाद साह तेली, प्रहरी वरिष्ठ उपरीक्षक तारणीप्रसाद लम्साल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment