Comments Add Comment

गुफामा फसेका थाइ बालकहरु भन्छन् : उद्दारकर्ता देख्दा आश्चर्यमा पर्‍यौं

उत्तरी थाइल्याण्डको टाम लुवाङ गुफाभित्र फसेको १७ दिनपछि उद्दार गरिएका युवा फुटबल टिमका १२ बालकहरु र उनीहरुका प्रशिक्षक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुई हप्ताभन्दा धेरै समय गुफामा फसेका उनीहरुको स्वास्थ्य स्थिति कमजोर भएकाले उद्दारलगत्तै थाइल्याण्डको चियाङ राइ प्राचनुक्रोह अस्पताल भर्ना गरिएको थियो ।

बुधबार अस्पतालले डिस्चार्ज भएपछि पत्रकार सम्मलेनमा उपस्थित उनीहरुले गुफाभित्रको अनुभव साटेका छन् ।
पत्रकारहरुमाझ उपस्थित प्रशिक्षकसहित सबै बालकहरुले उस्तै कपडा लगाएका थिए । सेतो रंगमा हरियो बुट्टा मिसिएको जर्सी र कालो हाफपाइन्ट लगाएका थिए ।

उनीहरुले उद्दारका क्रममा ज्यान गुमाएका पूर्व थाई नेभी सेना सुमन गुननलाई श्रद्धाञ्जली दिए ।

पत्रकार सम्मेलनमा एक बालकले उनीहरु गुफाभित्र कहिल्यै पनि नगएकाले के छ भनेर हेर्न गएको बताए ।
१४ वर्षीय अदुन साम ओनले ब्रिटिस गोताखोरहरुले पहिलोपटक उनीहरुलाई भेट्टाएको क्षणलाई सम्झिँदै भने, ‘पहिले त हामीलाई पत्यार नै लागेन ।’

उनका अनुसार गुफामा फसेको समयमा हपस्कच खेल खेलेर समय बिताएका थिए । गोताखोरहरुले भेट्टाउनु अघिका १० दिनमा भने कतै खनेर बाटो पत्ता लगाउन सकिन्छ कि भनेर प्रयास पनि गरेको ओनले सुनाए ।

साथीहरुसँगै बोलेका सामले भने, ‘हामीले पहिले त साँच्चै हो भनेर विश्वास गर्ने सकेनौं । पछि उनीहरु त्यत्तिकै छोडेर जान्छन् कि भनेर डर लाग्यो र मैले हेल्लो भनेँ ।’

‘मैले हेल्लो भनेको सुनेँ तर, सुरुमा उनीहरुलाई देखिनँ । पछि उनीहरु पानीबाट बाहिर आएपछि उनीहरुले बोलेको सुन्यौं र उनीहरु केही भनिरहेका थिए ।’

‘मैले उनीहरु थाइल्याण्डकै होलान् भन्ने सोचेको थिएँ तर जब उनीहरु पानीबाट बाहिर निस्किए, उनीहरु अङ्ग्रेज भएको थाहा पाएँ । मलाई केही पनि भन्न आएन, त्यसैले हेल्लो भनेँ ।’

‘यो जादुमयी क्षण थियो, म त आश्चर्यचकित भएको थिएँ । जब उनी माथि आएर तिमीलाई कस्तो छ भनेर सोधे, मैले हामी सबै ठीकै छौं भनेँ । उनीहरुले कति जना छौ भनेर सोधे । मैले १३ जना भनेपछि उनीहरुले ठीक छ भने’ सामले सम्झिए ।

यसअघिका मिडिया रिपोर्टहरुमा धेरै जसो बच्चाहरुले पौडिन नसक्ने खबर आएको भए पनि प्रशिक्षक एकापोल चान्तावोङले सबै बालकहरुले पौडी खेल्न सक्ने भएको खुलासा गरे ।

वाइल्ड बोअर्स फुटवल टिमका १२ खेलाडी र प्रशिक्षक जुन २३ मा गुफामा भित्र पसेका थिए । तर, भारी वषर्ाका कारण गुफामा पानी पस्दा १७ दिनसम्म थुनिए ।

उनीहरुको सफल र सुरक्षित उद्दार गर्न सुरुमा कठिन मानिएको थियो । तर, थाइल्याण्डसहित विभिन्न देशका तालिमप्राप्त गोताखोरहरुको मद्दतमा विश्वको हालसम्मकै सबैभन्दा लामो र कठिन ‘केभ रेस्क्यु मिसन’ बाट उनीहरुको सफल उद्दार गरिएको थियो ।

उद्दार कार्यले विश्वभरमा मानिसहरुको ध्यान खिचेको थियो । उनीहरु गुफामा जिवितै भेटि्टएपछि उद्दारकार्य सफल नहुन्जेलसम्म विश्वभरका मिडियाहरुले प्राथमिकताको साथमा समाचार सम्प्रेषण गरे ।

उनीहरु फुटबल खेलाडी भएकाले र फिफा विश्वकप चलिरहेकाले पनि फिफा लगाएत फुटबल सम्बद्ध धेरै संघसंस्थाहरुले उनीहरुको सफल उद्दारको कामना गरेका थिए भने उद्दारपछि विभिन्न किसिमको सहयोगको प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment