Comments Add Comment

विद्युतीय तारले पोखरा कुरुप ! मेयर भन्छन्– एक करोड लाग्छ !


३ साउन, पोखरा । पोखरा महानगरपालिकाका वडा नम्बर ४ गणेश टोलमा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भयो । बिजुलीको पोलमा गुजुमुज्ज परेका तारहरु जल्न थाले । पोलमा राखिएका अव्यवस्थित तारमा लागेको आगो निभाउन एक घण्टै लाग्यो ।

तारका कारण व्यहोर्नुपरेको यो दुर्घटना पोखरामा पहिलो घटना होइन । केही महिनाअघि रानीपौवामा बिजुलीको तार खसेर करेन्ट लाग्दा बाइकमा जाँदै गरेका एक युवाको ज्यानै गयो ।

महानगरपालिकामा दिनहुँजसो विद्युत सर्टका घटना आइरहेका हुन्छन् । नेपाल टेलिकम, विद्युत प्राविधिकरण, केबल लगायतका विद्युतीय तारका कारण पोखरा कुरुप बनेको छ । सुन्दर नगरीका मुख्य चोक तथा ठाउँका सबैजसो पोलमा रहेका अव्यवस्थित तारका कारण पोखरालाई कुरुपमात्रै बनाएको छैन्, दुखद घटनासमेत निम्त्याइरहेको छ ।

पोखरा महानगरपालिकाले विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण गर्ने नीति लिएको छ । ०७५/०७६ को नीति तथा कार्यक्रममार्फत महानगरले अन्डरग्राउन्डको योजना ल्याएको छ । हुन त यसअघिको नीति तथा कार्यक्रमले पनि यो योजना सार्वजनिक गरेको थियो, तर काम भने सिन्को भाचिएन ।

विद्युत सर्ट भएर भएको आगलागीको सोमबारको घटनालगत्तै पोखरा महानगरको वडा नम्बर ४ ले विद्युतीय तारलाई व्यवस्थित गर्ने अभियान थालेको छ ।

वडाले जेठ २७ गते नै विद्युतीय सेवा दिन तार टाँग्ने सरोकारवाहरुलाई बोलाएर संयुक्त बैठक गरेको थियो । सो बैठकले तारलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार बुधबारदेखि अव्यवस्थित विद्युतीय तार हटाउने अभियान वडा कार्यालयले थालेको छ । सोमबार आगलागी भएको बिजुलीको पोलमा टाँगिएका तारहरु निकालिएको छ ।

‘पोखराको वडा नम्बर ४ ले अव्यस्थित तार निकाल्ने अभियानकै रुपमा अगाडि बढाएको छ । बुधबार त्यसैको सुरुवात गरेका हौं,’ वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले अनलाइनखबरसँग भने, ‘पोखरामा विद्युतीय तारलाई अन्डरग्राउन्ड गर्न हामीले नै आवाज उठाएका हौं । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा कार्यक्रम ल्याएको छ, तर कार्यान्वयनमा शंका देखिएको छ ।’

गणेशटोल वडा कार्यालयदेखि पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थ चोक र नालाको मुखसम्म अव्यवस्थित तार हटाउने अभियान थालिएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

पोखरामा सबैभन्दा बढी वडा नम्बर ४ अन्तर्गतकै क्षेत्रमा अव्यवस्थित रुपमा तार टाँगिएको अध्यक्ष बास्तोलाको भनाइ छ ।

अव्यवस्थित तारलाई हटाउने क्रममा ३० प्रतिशत तार टाँगे हुने ठाउँमा ७० प्रतिशत तार टाँगिएको पाइएको उनले बताए । ७० प्रतिशत तारमात्रै हटाइदिने हो भने पनि पोखरा धेरै सुन्दर हुने बास्तोलाको भनाइ छ ।

‘७० प्रतिशत तार नभए पनि हुने देखियो । कतिपय तार कतै नजोडिकन पनि गुजुल्टो पारेर पोलमै झुन्ड्याएर छाडेको पाइयो,’ बास्तोलाले भने, ‘विभिन्न प्रयोजनका लागि तार टाँग्ने सरोकारवालालाई हटाउन भनेका छौं । उनीहरुले नहटाए प्राविधिकको सहयोगमा हामी नै हटाउँछौं ।’

वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी तार हटाउने बताएपछि टेलिकम, विद्युत प्राधिकरण, केबल कम्पनीहरुले सम्पर्क व्यक्ति तोकेर पठाए । वडामा नेपाल टेलिकम, विद्युत प्राधिकरण, बिजी केबल, गुरुङ केबल, पोखरा इन्टरनेट, बाराही नेटलगायत तार हटाउने भनेपछि सम्पर्क व्यक्ति तोकेको छ । तर, अव्यवस्थित तार हटाउन उनीहरुले असहयोग गरिरहेको बास्तोलाको भनाइ छ ।

बिजुली, टेलिफोन, केबल लगायतले तार जोड्ने कुनै कारणले लाइन काटेपछि पोलमै पोको पारेर छोड्ने गर्दा समस्या निम्तिएको हो । आवश्यकताभन्दा बढी विद्युतीय तार पोको पारेर पोलमै छोड्ने गरिएको र त्यो तार कुन संस्थाले टाँगेको हो भन्नेसमेत जानकारी नहुँदा अप्ठेरो पर्ने गरेको वडाध्यक्ष बास्तोलाको भनाइ छ ।

वडा कार्यालयले अब तार, त्यहाँ राखिने बक्समा ट्यागिङ गर्ने सिस्टम अगाडि बढाएको छ । ‘अहिले कुन तार कुन संस्थाले टाँगेको हो भन्ने थाहै नहुँदा कसलाई भन्ने अप्ठेरो थियो । अब हामीले तार र बक्समा ट्यागिङ गर्दैछौं,’ अध्यक्ष बास्तोलाले भने, ‘यसो हुँदा तार तथा बक्स कसको हो भन्ने चिनिन्छ र खबरदारी गर्न सजिलो हुन्छ ।’

मेयर भन्छन्– एक किलोमिटर अन्डरग्राउण्ड गर्न एक करोड लाग्छ

पोखरा महानगरपालिकाले कार्ययोजना बनाएर यसै वर्षदेखि विद्युतीय तार अन्डरग्राउन्ड गर्ने योजनालाई अगाडि बढाउने मेयर मानबहादुर जिसीले अनलाइनखबरलाई बताए ।

‘बिजुलीका तार अन्डरग्राउन्ड गर्न एक किलोमिटरका लागि एक करोडका दरले बजेको व्यवस्था गरेका छौं, मेयर जीसीले भने– कार्ययोजना बन्दैछ, कहाँबाट सुरु गर्ने र पहिलो चरणमा कति गर्ने भन्ने कार्ययोजना बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment