Comments Add Comment

विदेशिने नेपाली २० प्रतिशतले घटे, कतार र मलेसिया प्रमुख गन्तव्य

एक वर्षमा कुन देशमा कति युवा गए ?

४ साउन, काठमाडौं । गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसको अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए । यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदशे पुगेका छन् ।

नेपाली कामदार लैजान यो वर्ष पनि मलेसिया र कतारकै बढी प्रतिस्पर्धा देखिन्छ । झण्डै २ महिनादेखि कामदार मलेसिया जाने प्रक्रिया बन्द भए पनि अहिलेसम्मको तथ्यांकमा नेपाली युवाको प्रमुख श्रम गन्तब्य भने मलेसिया नै बनेको छ

गत वर्ष ३ लाख ५४ हजार ८२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका थिए । यसको अघिल्लो वर्ष यो संख्या ३ लाख ९८ हजार ९७८ थियो । यसअनुसार विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गतवर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।

यो वर्ष २ लाख ५८ हजार ६०३ जनाले भने विदामा आउँदा श्रम स्वीकृतिको रि-इन्ट्री गरेका हुन् । गत वर्ष यस्तो संख्या २ लाख ६० हजार २५२ थियो ।

श्रम स्वीकृतिका आधारमा अघिल्लो वर्ष मलेसिया सबैभन्दा धेरै नेपाली जाने मुलुक बनेको छ । तर, रि-इन्ट्री गर्ने काकदारको संख्यासहितको तथ्यांकलाई आधार बनाउँदा भने कतार पहिलो स्थानमा देखिन्छ ।

मलेसिया र कतारमा प्रतिस्पर्धा

नेपाली कामदार लैजान यो वर्ष पनि मलेसिया र कतारकै बढी प्रतिस्पर्धा देखिन्छ । झण्डै २ महिनादेखि कामदार मलेसिया जाने प्रक्रिया बन्द भए पनि अहिलेसम्मको तथ्यांकमा नेपाली युवाको प्रमुख श्रम गन्तब्य भने मलेसिया नै बनेको छ ।

गत असार महिनामा एकजना पनि नेपाली मलेसियामा कामका लागि उड्न पाएनन् । मलेसिया जाने कामदारमाथि आर्थिक शोषण भएको भन्दै सरकारले ठगी गर्ने संस्थामाथि कारबाही थालेपछि मलेसियामा कामका लागि जाने प्रक्रिया बन्द भएको थियो ।

तर, पनि अघिल्ला ११ महिनाको आँकडा अनुसार यो वर्ष मलेसिया नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य बन्यो । १ लाख ४ हजार २०९ जनाले मलेसियाका लागि श्रम स्वीकृति पाएका थिए ।

रि-इन्ट्रीसहित समग्रमा १ लाख ३७ हजार ३ सय ११ जनाले कामको खोजीमा मलेसिया जाने टिकट काटे । मलेसिया जान ३३ हजार १०२ जनाले मात्रै श्रम स्वीकृतिको नवीकरण गरको विभागले जानकारी दिएको छ ।

साउदीमा आर्थिक तथा रोजगारीको संकट चुलिएसँगै नेपाली अधिकांश युवाले कतार र मलेसियालाई नै रोज्ने गरेका छन् । कतारमा श्रमिकमाथि गरिने ब्यवहार र सुरक्षा प्रवन्ध सुधि्रएका कारण पनि त्यतातर्फ युवाको आकर्षण बढेको हो ।

गत वर्ष तेस्रो रहेको साउदी अरेबिया यो वर्ष पाचौं स्थानमा झर्‍यो । गतवर्ष १ लाख ८ हजार ४१४ जना नेपाली साउदीमा कामका लागि गए

यसैकारण श्रम स्वीकृति लिने आँकडाअनुसार कतार दोस्रो प्रमुख श्रम गन्तब्य भएको छ । तर, श्रमको रि-इन्ट्री गरेर विदेश उडेका नेपालीको हिसाव गर्दा कतार पहिलो स्थानमा देखिन्छ ।

विदामा आएका नेपालीहरु श्रम रि-इन्ट्री गरेर पुरानै कम्पनीमा फर्किने क्रम सबैभन्दा धेरै कतारमै देखिन्छ । यसले पनि कतारमा नेपाली कामदारको आकर्षण बढेको प्रष्ट्याउँछ ।

कतारका लागि गत वर्ष समग्रमा १ लाख ८३ हजार ५८२ जना कामदार उडेका छन् । जसमा एक लाख ३ हजार १७९ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यो मलेसियाका लागि श्रम स्वीकृति लिनेको भन्दा कम संख्या हो । गत वर्ष कतार जान ८० हजार ३६३ जनाले श्रम स्वीकृतिको नवीकरण गरे ।

अन्य देशमा कति गए ?

यूएईमा मात्र गत वर्ष १ लाख १४ हजार १४१ जना नेपाली पुगे । जसमा ६० हजार २४४ जना नयाँ स्वीकति लिएका थिए । यो देशमा जान विदामा आएका ५४ हजार ४९७ जनाले श्रमको रि-इन्ट्री गरे ।

गत वर्ष तेस्रो रहेको साउदी अरेबिया यो वर्ष पाचौं स्थानमा झर्‍यो । गतवर्ष १ लाख ८ हजार ४१४ जना नेपाली साउदीमा कामका लागि गए । जसमा नयाँ श्रम स्वीकृकतिमार्फत जानेको संख्या ४० हजार ९६२ मात्रै छ । साउदीमा फेरि कामका लागि जान गतवर्ष ६७ हजार ४५२ जनाले श्रम स्वीकृतिको नवीकरण गरेको देखिन्छ ।

गतवर्ष २७ हजार १४९ जना नेपाली काम खोज्दै कुवेतका लागि उडे । जसमा १७ हजार ५५५ नयाँ कामदार थिए । ९ हजार ५९४ जनाले श्रम इजाजत नवीकरण गरेर कुवेत उडे ।

बहराइनमा ८ हजार ४५४ जनाले अनुमति पाए, जसमध्ये ४ हजार ८६२ जनाले श्रम स्वीकृति पाए भने बाँकीले श्रमको रि-इन्ट्री गरे ।

गतवर्ष पोल्याण्ड जान ३ हजार ६२० जनाले श्रम स्वीकृति लिए भने ओमानका लागि ३ हजार ५९ जनाले ।

जोर्डनमा १ हजार ९४४, टर्कीमा १ हजार ८१५, साइप्रसमा १ हजार ५७४, अल्जेरियामा ८०८ र चेक रिपब्लिकमा जान ५०९ नेपाली कामदारले श्रम स्वीकृति पाए । ती देशमा जान श्रमको रि-इन्ट्री गर्नेको संख्या पनि सानो छैन ।

गत आर्थिक वर्ष एउटै मेन पावर कम्पनीले ५ हजार ८०४ जनशक्ति वैदेशिक रोजगारीमा पठाएर रेकर्ड बनाएको छ । विभागका अनुसार तीमध्ये ५ हजार १४२ जना पुरुष र ६६२ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment