Comments Add Comment

आजका पत्रपत्रिकाः साना दल फकाउँदै कांग्रेस, शंकास्पद करदाता अनुसन्धानको दायरामा


५ साउन, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । सामग्रीहरुमा विविधता भए पनि पत्रपत्रिकाहरु अनशनरत डा. गोविन्द केसी र उनले उठाएका मुद्दामा बढी केन्द्रित भएका छन् ।

नागरिक दैनिकले आज ‘खलंगामा डा. केसीका तीन साता’ शीर्षक दिएर जुम्ला डायरी छापेको छ । सत्ताधारी नै निजी मेडिकल कलेजका सञ्चालक रहेको अर्को खबर पनि नागरिक दैनिकमा छ ।

कान्तिपुर दैनिकले जुम्लाबाट अनशनरत अवस्थामै डा. गोविन्द केसीलाई काठमाडौं ल्याएको २ दिन बितिसक्दा समेत सरकारले वार्ताको पहल नगरेको लेखेको छ । समाचार अनुसार केसीले औषधि उपचार मात्र होइन, परीक्षणसमेत गराउन अस्वीकार गरेका छन् ।

नयाँ पत्रिका दैनिकले सबै मेडिकल कलेज राष्ट्रियकरण गर्नेबारे बहस चलाएको छ । मन्त्री, राजनीतिज्ञदेखि विषयविज्ञसम्मले राष्ट्रियकरणमा समर्थन जनाएका छन् ।

यसका अतिरिक्त विद्रोहपछिको तिङ्लाको सोधीखोजीसँगै आफ्नै लगानीमा सगरमाथाको उचाइ नाप्न तम्सिएको सरकारी तयारीबारे पत्रपत्रिकाहरुले खबर लेखेका छन् ।

तीन तहमा कर्मचारी मिलान, थप २१ हजार चाहिने

सरकारले संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा रहने कर्मचारीको स्थायी दरबन्दी टुंगे लगाएसँगै तत्काल २१ हजार नयाँ कर्मचारी आवश्यक पर्ने देखिएको छ ।

हाल निजामतीतर्फ ८६ हजार र स्थानीय तहतर्फ १७ हजार गरी १ लाख ३ हजार कर्मचारी कार्यरत छन् । अन्नपूर्ण लेख्छ– तर सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख २४ हजार २ सय ५७ कर्मचारी आवश्यक पर्ने गरी नयाँ संगठन संरचना स्वीकृत गरेको छ ।

शंकास्पद करदाता अनुसन्धानको दायरामा

सरकारले दुई थरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको राजधानी दैनिकमा खबर छ ।

केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको व्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको समाचारमा उल्लेख छ ।

आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस


सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँशक्ति पार्टीका नेताहरुसँग छलफल गरेको कान्तिपुरमा खबर छ । समाचार अनुसार राजपा अध्यक्ष मण्डलकाक सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

छलफलमा सभापति देउवाले डा. गोविन्द केसीसँगको मुद्दा मात्रै नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए ।

दूषित पानी बेचे कारबाही

पानी वितरणका लागि उपत्यकामा ७० स्रोत पहिचान गरिए पनि ट्यांकरले अन्यत्रबाटै पानी भरेर बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणका लागि स्रोतको पहिचान गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तर व्यवसायीले पहिचान गरिएको स्रोत छाडेर अन्यत्रबाट पानी बिक्रीवितरण गरिदिँदा जनस्वास्थ्यमा असर पुगेको विश्लेषणसहित बोर्डले ट्यांकरमाथि निगरानी बढाएको हो ।

स्रोतबाहिरका पानी भरेर बिक्रीवितरण गर्ने ट्यांकर व्यवसायीलाई कारबाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले सुझाव दिइसकेको छ । खानेपानी बोर्डले स्टिकर नलिई पानी वितरण गर्न नपाउने नियम बनाएको छ ।

नौ इरिट्रियालीलाई नेपालमा प्रतिबन्ध

गृह मन्त्रालयले पूर्वीटिमोरको नक्कली राहदानीमा बोस्निया हर्ज गोभिना हुँदै युरोप छिर्न खोज्ने ९ इरिट्रियालीलाई १ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, गत असार १८ गते त्रिवि अध्यागमन कार्यालयबाट पूर्वीटिमोरको नक्कली राहदानीमा प्रस्थान अनुमति लिएका नौ इरिट्रियालीलाई बोस्निया हर्जगोभिनाले फिर्ता गरेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमन विभागले नौ इरिट्रियालीलाई नक्कली राहदानीमा शंकास्पद यात्रा गरेको भन्दै एक वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर निष्कासन गर्ने निर्णय गरेको हो ।

स्मार्ट लाइसेन्स नै नक्कली

ललितपुर ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।

दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले कान्तिपुरसँग स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment