Comments Add Comment

बंगलादेशमा बसेर नेपालमा अवैध कल बाइपासको धन्दा ! दुई एजेन्ट समातिए

८ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्टलाई पक्राउ गरेको छ ।

चितवन र चन्द्रागिरीमा छापा मारेर रुपन्देहीको तिलोत्तमा–११ का ३१ वर्षीय विजय गुरुङ र चितवनको भरतपुर–१६ का २२ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरिएको हो ।

ब्यूरोका एसपी कृष्णहरि शर्माका अनुसार उनीहरुलाई भरतपुर–१०, चारतले चोकस्थित नारायण पौडेलको घरमा छापा मारेर भीओआईपीमा प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका गुरुङले काठमाडौंको चन्द्रागिरी–५ स्थित हाई भिजन कोलोनीस्थित नारायण श्रेष्ठको घरमा जीओआईपी राखेको खुलेपछि त्यहाँ पनि सीआईबीले छापा मारेको जनाइएको छ ।

‘चितवनमा चलाइएको अपरेशनबाट १ सय २८ र ६४ पोर्टको भीओआईपी सीम बक्स, एयरटेलको फोरजी राउटर, टिपीलिंक राउटर लगायत बरामद भएको छ’, शर्माले भने, ‘चन्द्रगिरीबाट भने ६४ पोर्टको जीओआईपी गेटवे र त्यसको चार्जरसहितका अन्य सामग्री बरामद भएको छ ।’

मुख्य अभियुक्त बंगलादेशमा

ब्यूरोका अनुसार अवैध कल बाइपासमा संलग्न उनीहरुले एक जना बंगलादेशी नागरिकको निगरानीमा भीओआईपीको धन्दा चलाएको खुलेको छ ।

प्रहरीका अनुसार बंगलादेशको पन्चगढ, मिर्जापुरका अन्दाजी ३३/३४ वर्षको मिर्जा शाहिर आलम तुर्जौ यो प्रकरणका मुख्य योजनाकार हुन् ।

उनी हाल ढाकाको टिकियो स्क्वायर नजिक बस्ने गरेको खुलेको छ । भीओआईपीको मुख्य सर्भर समेत ढाकामै राखेर अवैध धन्दा चलाउने गरिएको भेटिएको ब्यूरोका अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment