Comments Add Comment

डिएलए अधिवेशनः पौडेल भर्सेस सिटौला समूह

११ साउन, काठमाडौं । रामचन्द्र पौडेल, कृष्ण सिटौलाहरु मिलेपछि कांग्रेसको भ्रातृ संगठनहरुमा सभापति शेरबहादुर देउवा समूहले एकपछि अर्को हार व्यहोर्‍यो । यसले चुनावी हारपछि आलोचित भएको नेतृत्वलाई थप रक्षात्मक बनायो ।

तर, वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)मा भने पौडेल र सिटौला समूह नै आपसमा चुनाव लड्ने अवस्था आएको छ ।

डिएलएको १० औं अधिवेशन भोलिबाट नवलपुरको गैंडाकोटमा हुनेछ । पर्सिसम्म चल्ने अधिवेशन करिब ११ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने छन् ।

डीएलएमा देउवा समूह निकै कमजोर छ । त्यसैले रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतको समूह एक हुँदा उनीहरुले चाहेका व्यक्ति नै नेतृत्वमा आउँथे ।

तर, पौडेल र सिटौंलाले आफूले चाहेकै व्यक्ति हुनुपर्छ भनेपछि चुनाव हुने देखिन्छ ।

डीएलएको अध्यक्षका लागि कृष्ण सिटौला समूहले योगेन्द्रबहादुर अधिकारीलाई अघि सारेको छ भने पौडेल पक्षले सिताराम केसीको नाम लिएको छ ।

देउवा समूहले भने उम्मेदवार घोषणा गरेको छैन । डीएलएमा देउवा समूह निकै कमजोर छ । त्यसैले उम्मेदवार उठाउनुभन्दा पार्टीको आन्तरिक समिकरणमा अनुकुल बनाउन कुनै समूहलाई समर्थन गर्न सक्ने देखिन्छ ।

पार्टीमा नेतृत्वविरुद्ध एक ठाउँमा उभिएका नेताहरुले आपसमा लड्दा राम्रो नहुने भन्दै केही नेताहरुले भने सहमतिका आधारमा नेतृत्व चुन्नु पर्ने बताएका छन् । अर्जुननरसिंह केसीले भने, ‘हामीले छान्ने होइन, साथीहरुले आपसी सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो मत छ ।’

वरिष्ठ अधिवक्ताहरु नरहरी आचार्य, रामप्रसाद गौडेल र रामकुमार श्रेष्ठ पनि सहमतिकै आधारमा नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन् । र, अध्यक्षका दावेदार केदार कार्कीसँगै केसी र अधिकारी भने निर्वाचनको पक्षमा छन् ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्तक्षेप गरेर गोपालकृष्ण घिमिरेलाई अध्यक्ष बनाएपछि डिएलए बिभाजित भएको थियो । घिमिरेको विरुद्धमा वरिष्ठ अधिवक्ताहरुको समूहले भरत खरेलको नेतृत्वमा सामानान्तर समिति बनाएको थियो । पछि खरेलकै नेतृत्वमा तदर्थ समिति बनाएर गैंडाकोटमा १० औं महाधिवेशन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment