Comments Add Comment

आचरण विपरीत काम गर्ने एसपीसहित ३८ जना प्रहरी निलम्बनमा

जिल्ला प्रहरी कार्यालयमा सुनसरीको प्रमुख हुँदा निलम्बनमा परेका एसपी विद्यानन्द माझी ।

१३ साउन, विराटनगर । प्रदेश १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी निलम्बनमा परेका छन् । एक वर्षको अवधिमा उच्च प्रहरी अधिकृतदेखि जवानसम्म निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष ०७४/७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पेशाप्रति जवाफदेही नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी विध्यानन्द माझी निलम्बनमा परेका थिए ।

तर, एसपी माझीमाथिको निलम्बन फुकुवा भइसकेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटीमा छन् ।

तत्कालीन समयमा सुनसरी प्रहरीका प्रमुख रहेका माझीलाई बालिका बलात्कारको घटनामा ‘मिलापत्र’ गराएको भन्दै विभागीय कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक चिरन्जीवि दाहाल पनि निलम्बनमा परेका थिए ।

प्रदेश प्रहरी कार्यालयले एक वर्षको अवधिमा कसुरको मात्रा हेरी ३५६ जनालाई कारबाही गरेको जनाएकेा छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजालले प्रहरी संगठन भित्र व्यवसायिक र दक्ष, इमान्दार प्रहरी कर्मचारी निर्माणका लागि प्रयास भइरहेकाले आफ्नो पेशा र मर्यादा विपरीत काम गर्न प्रहरी कर्मचारीलाई छुट नहुने बताए । ‘हामी नमूना प्रहरी बनाउने अबधारणा अनुसार अघि बढेका छौ,’ उनले भने, ‘हाम्रो यो यात्रामा कोही प्रहरी कर्मचारी बाधक बन्छ भन्ने ऊ विभागीय कारबाहीको भागिदार हुन्छ ।’

दुई महिनामै ७१ जनालाई कारबाही ५ निलम्बित

प्रहदेश प्रहरी कार्यालयले पछिल्लो समयम गएको दुई महिनामा प्रहरी आचारण विपरीत काम गर्ने पाँचलाई निलम्बन गरेको छ भने ७१ जनालाई विभागीय कारबाही गरेको छ ।

गएको जेठको पहिलो साता प्रहरी नायव महानिरीक्षकका रुपमा केदार रिजाल आएपछि प्रहरी कर्मचारी विभागीय कारबाहीको क्रम ह्वातै बढेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गएको जेठ ९ गतेदेखि हालसम्मको अवधिमा एक/एकजना प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक निलम्वनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी नायव निरीक्षक सूर्यनारायण यादवलाई आचारण विपरीत कार्यमा संलग्न भएको पाएपछि विभागीय कारबाहीमा परेका यादवको २९ असारमा जागिरबाट निलम्बित भएका थिए ।

त्यसैगरी प्रहरी हवल्दार एकजना र दुई जना प्रहरी जवान निलम्बनमा परेका छन् ।

प्रहरी आचारण विपरीत कार्यमा संलग्न भएको पाइएपछि कसुरको मात्राहरु उनीहरुमाथि विभागीय कारबाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment