Comments Add Comment

कपिलको बायोपिक खेल्न कृष्णा अभिषेकले मानेनन्

बलिडका धेरै निर्माता-निर्देशकहरु अहिले बायोपिकको पछाडि कुदिरहेका छन् । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ हिट भएपछि त झन् यो सिलसिला ह्वात्तै बढेको छ ।

हुँदा हुँदा सन्नी लियोनीको पनि बायोपिक आइसकेको छ । यो बायोपिक वेब सिरिजका रुपमा आएको हो । यसको नाममा तीव्र विवाद उब्जे पनि अहिले साम्य भइसकेको छ ।

यसैबीच एक निर्देशक कमेडियन कपिल शर्माको बायोपिक बनाउन तातेका छन् । उनले बायोपिकको नाम पनि जुराइसकेका छन्, ‘कपिल शर्माः द रियल हिरो’ । सञ्जु हेरेपछि आफूलाई कपिलमाथि बायोपिक बनाउने आइडिया फुरेको तिवारी बताउँछन् ।

उनले यसमा कपिल स्वयम्लाई अभिनय गराउन चाहेका थिए । तर, सफल भएनन् ।

तिवारीले भने, ‘मैले कपिललाई प्रस्ताव गरेँ, तर, उनले वास्ता नै गरेनन् ।’

कपिलको रोलको लागि उनको दोस्रो च्वाइस थिए अर्का कमेडियन कृष्णा अभिषेक । कपिल र कृष्णा प्रतिस्पर्धि पनि मानिन्छन् । तिवारीले कृष्णालाई यो रोलको लागि अफर गरे, तर उनले पनि अस्वीकार गरिदिएका छन् ।

‘उनले सुरुमा रुची देखाएका थिए, तर, के कारणले हो एकाएक मुड चेन्ज गरे,’ तिवारीले भने ।

अब उनी अर्कै कलाकारको खोजीमा लागेका छन् । अब कुनै नयाँ कलाकारलाई लिने उनको सोच छ ।

पछिल्लो समय कपिल विभिन्न विवादमा मुछिएका छन् । आफ्नो शोमा अतिथिहरु बोलाएर सुटिङ क्यान्सिल गरेको, रक्सीले मातेर साथीहरुलाई गालीगलौज गरेको, सम्पादकलाई फोन गरेर थर्काएको, डिप्रेसनमा परेको जस्ता समाचारहरु उनका बारेमा आएका छन् ।

तर, निर्देशक तिवारी भने कपिलका नकारात्मक पक्षहरुलाई ढाकछोप गर्ने दाउमा छन् ।

उनी स्पष्ट भन्छन्, ‘कपिल कसरी एक सर्वसाधारणबाट सुपरस्टार भए म देखाउन चाहन्छु । उनको जीवनबारे नकारात्मक चित्रण गर्नुपर्ने कुरा केही पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment