Comments Add Comment

पारस भन्छन् – जित्ने अवस्थाबाट खेल गुमायौं

नेदरल्यान्ड्सँगको पहिलो एक दिवसीय खेलमा जितको नजिक पुगेर पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

एक सय ८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल एक समय १८ ओभरमा १ विकेट गुमाएर ८५ रनको अवस्थामा थियो । तर, मध्य क्रममा खेल निकै धरमराउन पुग्यो । एकपछि अर्का ब्याट्सम्यान रन जोड्न नसकी आउट हुँदा नेपाली पारी धराशायी हुँदै गयो ।

कप्तान पारस खड्का पनि नेपालले जित्ने अवस्थाबाट खेल गुमाएको बताउँछन् । उनले क्रिकइन्फोसँग भनेका छन्, ‘खेलमा यसो भएको भए भन्ने त हुँदैन । तर, हामी निकै राम्रो अवस्थामा थियौं । म र ज्ञानु क्रिजमा हुँदा खेल हाम्रो नियन्त्रणमा थियो । आजको खेल हामीले जित्न सक्थ्यौं ।’

पारसले ब्याटिङमा गतिलो योगदान दिन नसके पनि बलिङ उत्कृष्ट गरेका थिए । उनले १० ओभरमा केवल २६ रन दिएर ४ विकेट लिएका थिए । करण केसीको केही ओभर छाड्ने हो भने अन्य बलरहरुले पनि किफायति बलिङ गरे ।

पिचमा एक्स्ट्रा बाउन्स भएकाले आफ्नो बलिङलाई सहयोग पुगेको पारस बताउँछन् ।

‘मैले निरन्तर रुपमा सही स्थानमा बल फ्याक्न सफल भएँ र त्यसको फल पनि प्राप्त गरेँ,’ पारसले भने, ‘तर यो त्यति खराब विकेट थिएन । हामीले योभन्दा राम्रो ब्याटिङ गर्नुपर्थ्यो ।’

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो ब्याटबाट नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । अनिल शाहसँग ओपनिङमा आएका उनले ऐतिहासिक अर्द्धशतक प्रहार गरे । ६१ बलमा ५१ रन बनाएर उनी आउट भए ।

यसअघि नेपालले खेलेका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा ज्ञानेन्द्र दयनीय र्फममा थिए । उनी र्फममा फर्किनु नेपालका लागि सुखद समाचार भए पनि मध्यक्रममा ब्याटिङमै कमजोरी देखिनुले चिन्ता उही नै छ ।

ज्ञानेन्द्रले आफ्नो ब्याटिङको शैलीमा केही परिवर्तन गरेको बताएका छन् ।

‘यसअघि नेपालका ब्याटिङ कोच उमेश पट्वालले सिकाएअनुसार मैले ब्याट होल्ड गर्ने तरिका अलिकति परिवर्तन गरेको छु । आजको खेलबाट मेरो आत्मविश्वास फर्किएको छ,’ उनले भने ।

पारस र ज्ञानेन्द्र दुवैले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेर जित हासिल गर्ने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment