Comments Add Comment

पौडेल पक्षलाई देउवाको प्रश्न- ओलीसँग लड्ने कि मसँग ?

महासमिति बैठकको माग गर्ने नेताको बोली बन्द

फाइल तस्वीर

२० साउन, काठमाडौं । भदौ पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक छठसम्म सार्ने तयारी संस्थापन पक्षबाट भइरहेको छ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।

पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान संशोधन मस्यौदा समितिसम्म गठन हुन सकेको छैन । बरु, पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकको माग गरिरहेका नेताहरुको ध्यान सरकारतिर मोड्न सफल भएका छन् ।

डा. गोविन्द केसी आमरण अनसन बसेकै बेला विरोध प्रदर्शन सुरु गरेको कांग्रेस नयाँ चरणको कार्यक्रम घोषणा गर्ने तयारीमा छ । सुरुको कार्यक्रम संसदकेन्दि्रत हुुनेछ । त्यसका लागि सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने व्यवस्था कार्यान्वयन माग बनाइनेछ ।

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गर्नुलाई पनि कांग्रेसले स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप भनेको छ ।

देउवाको रणनीतिः एक तीर, दुई शिकार

आम चुनावमा नराम्रो हार व्यहोरेपछि सभापति देउवा पार्टीभित्रैबाट आलोचनाको केन्द्रमा थिए । केन्द्रीय कार्यसमितिमा एक महिनासम्म छलफल गराउँदा पनि आक्रोश मत्थर नभएपछि जिल्ला सभापति भेला हुँदै महासमितिमा कस्ने तयारी थियो ।

त्योबेला देउवा इत्तरको समूहले आन्तरिक बहस र ध्रुवीकरण तीव्र बनाउन चाहेको थियो । तर, एकाएक सरकारविरुद्ध सडक आन्दोलन घोषणा भएपछि कांग्रेसका असन्तुष्ट नेताहरुलाई झड्का लागेको छ ।

किनकि आन्दोलनको सामान्य चरित्र नै हो कि संघर्षमा रहेका बेला नेतृत्वमाथि प्रायः प्रश्न उठाइँदैन ।

त्यसैले देउवाले आफ्नो विरोधमा रहेको पार्टीभित्रको स्वरलाई सरकारविरुद्ध सोझ्याउन चाहेका छन् । त्यसैले देउवा पार्टीका नेताहरुलाई समूहमा वा छुट्टाछुट्टै भेटेर ‘केपी ओलीसँग लड्ने कि मसँग ? भन्दै प्रश्न गर्न थालेका छन् । ‘मसँग त पछि लडे पनि भइहाल्छ नि’ भन्ने देउवाको अभिव्यक्ति रहेको कांग्रेस सूत्र बताउँछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्नेसँगै राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउँछन् । ‘एउटा ध्यान केन्दि्रत गर्दा अर्कोमा ध्यान कम पुगेको जस्तो देखिएको हो । तर, त्यो नजरअन्दाज गर्न खोजिएको होइन’ शर्माले भने, ‘सभापति र वरिष्ठ नेताहरुबीचमा छलफल हुँदा संसद र सडकमा प्रभावकारी भूमिका खेल्ने र पार्टीको अन्तरिक विषयमा समझदारीपूर्वक समाधान खोज्ने सहमति भएको छ ।’

अलमलमा देउवा विरोधी खेमा

पार्टी सभापति देउवाले आफ्नो विरोधहरुलाई सरकारविरोधी आन्दोलनतिर सोझ्याउन लागेपछि नेतृत्व परिर्वतनको माग गर्ने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु भने अलमलमा परेका छन् ।

हालै मात्र सिटौला समूहको भेलामा अब कसरी अघि बढ्ने भन्ने छलफलसमेत भएको थियो । तर, डेमोक्रेटिक लयर्स एसोसिएसनको चुनावले देउवाविरोधी समूहमा सानोतिनो ‘भूकम्प’ ल्याएको छ । किनकि पौडेल र सिटौला समूह नै आपसमा भिडे । सिटौला समूहले अघि सारेका योगेन्द्र अधिकारीले चुनाव जिते ।

डीएलएको चुनावपछि पौडेल र सिटौलाबीच सम्वाद समेत हुन नसकेको नेताहरु बताउँछन् । यद्यपि यो अस्थायी परिघटना मात्र भएको नेताहरुको दाबी छ । अब हेर्न बाँकी छ कि देउवाको विकल्प खोजिरहेका नेताहरुले सरकारविरोधी आन्दोलन र पार्टीमा देउवाविरुद्धको संघर्षलाई कसरी एकसाथ अघि बढाउलान् ?

देउवालाई निधिको साथ

सरकारविरुद्ध आन्दोलनमा देउवाभन्दा पनि उपसभापति विमलेन्द्र निधि सक्रिय देखिन्छन् । यसका दुई कारण छन् । पहिलो, पार्टीलाई जति सरकारविरोधी आन्दोलनमा लैजान सक्यो, त्यति नै शेरबहादुर देउवा प्रश्नभन्दा माथि हुन्छन् । किनभने आन्दोलनका बेला नेतृत्वमाथि प्रश्न उठाइँदैन ।

देउवाले साउने संक्रान्तिका दिन भातृ संगठनको बैठक राखेर सरकारविरुद्ध सडकमा उत्रने निर्देशन दिएका थिए । आन्दोलनकै लागि उनी युरोप भ्रमण छोट्याएर नेपाल फर्किर्ए ।

र, दोस्रो- पार्टीमा आफ्नो भूमिका बढाउन । विमलेन्द्र आफूलाई शेरबहादुर वा रामचन्द्र पौडेलका प्रतिस्पर्धी होइनन् भन्ने देखाउन चाहन्छन् । तर, देउवाको उत्तराधिकारीका रुपमा आउने उनको चाहना देखिन्छ ।

त्यसैले निधि महामन्त्री शशांक कोइराला भन्दा म धेरै राम्रो नेता हुँ भन्ने स्थापित गर्न चाहन्छन् । उपसभापति मनोनित भएसँगै पदीय जिम्मेवारीले पनि उनी शशांकभन्दा माथि भइसकेका छन् ।

अब आफू पदाधिकारी भएर आएपछि उपसभापति निधी कांग्रेसमा परिर्वतन आएको महसुस गराउन चाहन्छन् । ‘दुई/अढाई वर्ष शशांक महामन्त्री हुँदा मानिसहरुले जे अनुभव गरे, त्योभन्दा फरक र सकारात्मक अनुभूति गराउन सक्रिय छन्’ एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment