Comments Add Comment

११ खर्ब ६२ अर्बको व्यापार घाटाः आयात १२ खर्ब, निर्यात ८१ अर्ब


२१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २७ दशमलव ५३ प्रतिशले बढेर व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको पुगेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष ब्यापार घाटा २ खर्ब ५१ अर्बले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँ वस्तु आयत भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा आयात २६ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैया बराबरको सामाग्रीहरु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा पनि केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव १७ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७३ अर्ब ३ करोड ६२ लाख ४४ हजार रुपैयाँको सामाग्री विभिन्न मुलुकहरुमा निर्यात भएको थियो ।

भन्सार विभागकाअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । एक वर्षको अवधिमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको इन्धन आयात भएको विभागले जनाएको छ ।

यसैगरी आइरन एण्ड स्टीलजन्य सामाग्रीहरु १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँको, मेसिनरी सामान १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँको, सवारी साधन ८६ अर्ब ३० करोड रुपैयाँ बराबरको साथै विद्युतीय सामान ७८ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ ।

निर्याततर्फ भने सबैभन्दा धेरै कफी देखिएको छ । यस अवधिमा ८१ अर्ब १९ करोड निर्यात भएकोमा कफी मात्रै ९ अर्ब २० करोडको निर्यात भएको भिागले जनाएको छ ।

यसैगरी कच्चा धागो ८ अर्ब ४३ करोड रुपैयाँको, कार्पेट ७ अर्ब ३८ करोड रुपैयाँको, तयारी पोशाक ६ अर्ब २८ करोड रुपैयाँको आइरन एण्ड स्टील जन्य सामाग्री ५ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ ।

कुन देशसँग कति घाटा ? 

सबैभन्दा बढी व्यापारघाटा भारतसँग देखिएको छ । व्यापारका हिसाबले दोस्रो स्थानमा देखिएको चीनसँको व्यापारघाटा समेत पछिल्लो अवधिमा बढ्दै गएको छ ।

भारतबाट गत आर्थिक वर्षमा ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँको सामाग्रीहरु आयात भएको छ । सोही अवधिमा ४६ अर्ब ६० करोड ४८ लाख ५६ हजार रुपैयाँको सामाग्रहरु भारततर्फ निर्यात भएको छ ।

व्यापारका हिसाबले दोस्रो स्थानमा देखिएको चीनबाट यस अवधिमा १ खर्ब ५९ अर्ब ९८ करोड ३ लाख १६ हजार रुपैयाँको आयात भएको छ भने २ अर्ब ४३ करोड ७७ लाख ४४ हजार रुपैयाँको मात्रै चीनतर्फ निर्यात भएको छ ।

व्यापारका हिसाबले फ्रान्स यूएईलाई उछिन्दै तेस्रो स्थानमा आइपुगेको छ । यस अघि चौथो स्थानमा रहेको फ्रान्सबाट गत आर्थिक वर्षमा २० अर्ब ८३ करोड ६२ लाख ७० हजार रुपैयाँको सामाग्रीहरु आयात भएको छ ।

फ्रान्सतर्फ निर्यात भने यस अवधिमा १ अर्ब २२ करोड ५५ लाख २ हजार रुपैयाँ देखिएको छ ।

भियतनामतर्फको आयात भने हृवात्तै बढेको छ । व्यापारघाटाका हिसाबले अघिल्लो वर्ष १३ औं नम्बरमा देखिएको भियतनाम यस वर्ष चौथौ स्थानमा उक्लिएको छ ।

यस अवधिमा भियतनामबाट १३ अर्ब ५२ करोड ९५ लाख ४९ हजार रुपैयाँको सामाग्री आयात हुँदा ६१ करोड ५१ लाख ३२ हजार रुपैयाँ बराबरको मात्रै सामाग्रीय त्यसतर्फ निर्यात भएको छ ।


अघिल्लो वर्षको तुलनामा यूएईतर्फ भने निर्यात बढेर आयात घटेको छ । अघिल्लो वर्ष व्यापारघाटाका हिसाबले तेस्रो नम्बरमा रहेको यूएई नेपालबाट निर्यात बढेसँगै ५ औं नम्बरमा पुगेको छ ।

यस अवधिमा यूएईबाट १३ अर्ब २१ करोड १७ लाख १७ हजार रुपैयाँको आयात हुँदा १ अर्ब ७२ लाख ३६ हजार रुपैयाँको सामाग्री निर्यात भएको छ ।

अघिल्लो वर्ष १० करोड ४ लाख ५९ हजार रुपैयाँको मात्रै नेपालबाट यूएईतर्फ निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment