Comments Add Comment

युएईको अस्पतालमा ४ वर्षदेखि अचेत नेपालीको कथा

जङ्गबहादुर फर्किए, ५ नेपालीको कोमामा उपचार हुँदै

जङ्गबहादुर लुङ्गेलीको स्वास्थ्य अवस्था नियाल्दै युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल ।

२४ साउन, युएई । डेढ महिनादेखि युएईको अस्पतालमा कोमामा उपचारत इलामका जङ्गबहादुर लुङ्गेली साउन १६ गते नेपाल फर्किएका छन् । कोमामै रहेका अन्य ५ नेपाली भने कहिले फर्किएलान् भन्ने टुंगो छैन ।

नेपाल सरकारले विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने बताएको छ । तर, सरकारको निर्णय कार्यान्वयनको पर्खाइमा युएईमा छन्- पर्वतका कुमार फकामी पुन, धनुषाका इण्डल पासवान, काठमाडौँका आत्माराम बस्नेत, फूलमाया मगर र ओमनारायण अधिकारी ।

चार वर्षदेखि अस्पतालमा अचेत

पर्वतका कुमार फकामी पुन अबुधाबीको बदिना जायदस्थित अल गार्विया अस्पतालको उपचार कक्षमा ४ बर्षदेखि अचेत अवस्थामा छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

कुमार युएईस्थित एक कोरिएन कन्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहीँ काम गर्दैगर्दा उनी २ मिटरमाथिबाट झरेका थिए । टाउकोमा असर परेका कारण मस्तिष्कमा समस्या देखिएको उनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेका सुनसरीका एकराज थापाले अनलाइनखबरलाई बताए ।

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले २३ जना नेपाली कामदार विभिन्न देशमा कोमामा रहेको तथ्यांक देखाएको छ । बोर्डका अनुसार कतारमा ११ जना, साउदीमा ७ जना, कुवेतमा ४ जना र ओमनमा १ जना नेपाली अचेत अवस्थामा छन्  तर, बोर्डको यो तथ्यांकमा युएईमा उपचारत ५ कामदारको संख्या उल्लेख छैन

परिवारसँग समन्वय हुन नसकेका कारण पुनलाई नेपाल फर्काउन कठिनाई भएको छ । उनलाई नेपालमा सुविधासम्पन्न अस्पतालमा उपचार गराउने ग्यारेन्टी भएमात्रै हाल उपचाररत अस्पतालले नेपाल लैजान स्वीकृति दिने दुतावासका पीआरओ इरफान आलम बताउँछन् ।

कम्पनीले नेपाल लैजाँदा लाग्ने सबै खर्च व्यहोर्ने बताए पनि अहिलेकै अवस्थामा पुनलाई नेपाल लगे समस्या झनै जटिल बन्ने आलमको भनाइ छ ।

साउदीबाट फर्कंदा युएईमा बेहोस !

धनुषाका इण्डल पासवान साउदीबाट नेपाल फर्कंदै थिएँ । युएई उनको ट्रान्जिट थियो । तर, युएई ट्रान्जिटमै उनी अचानक बेहोस भएर ढले । अचेत अवस्थामा रहेका उनी मस्तिष्कमा पक्षघात भएपछि युएईमै अड्किए ।

करिब एक महिनादेखि उनी दुवईको रशिद अस्पतालको कोमामा उपचारत छन् । उनको उपचार युएईको सरकारी अस्पतालको निगरानीमा भइरहेको छ । उनलाई नेपाल लैजान एयर एम्बुलेन्सको व्यव्स्था भए यहाँको अस्पतालले स्वीकृति दिने नेपाली दुतावास अबुधावीका श्रम सहचारी मोतिराम भुसाल बताउँछन् ।

मस्तिष्काघातसँगै प्यारालाइसिस !

काठमाडौंका आत्माराम बस्नेत र फूलमाया मगर पनि दुबईको रसिद अस्पतालमा छन् । बस्नेतलाई पहिले मस्तिष्कघात भएको थियो । अहिले प्यारालाइसिस भएको छ । उनी अचेत अवस्थामा छन् ।

बस्नेतको नेपालमा रहेका परिवारजन सम्पर्कमा नआएका कारण नेपाल लैजान कानुनी प्रक्रियामा समस्या भएको दूताबास स्रोत बताउँछ ।

ओमनारायण अधिकारीको नेपालको ठेगाना खुलेको छैन । उनी तीन सातादेखि सारजहास्थित अलकुज अस्पतालमा अचेत अवस्थामा छन्

कुवेतबाट आएकी फूलमाया युएईमा ढलिन्

कुवेतमा घरेलु कामदारमा कार्यरत काठमाडौंकी फूलमाया स्वदेश र्फकदै गर्दा युएई ट्रान्जिटमा परेकी थिइन्, उनी यहीँ ढलिन् ।

कामको सिलसिलामा विभिन्न यातनाका कारण फूलमायाको शरीरमा गम्भीर समस्या देखिएको छ । उनी एक सातादेखि दुवईको रशिद अस्पतालमा अचेत अवस्थामा छिन् ।

अर्का हुन्-ओमनारायण अधिकारी । उनको नेपाल ठेगाना भने नखुलेको दुतावासले जनाएको छ । उनी तीन सातादेखि सारजहास्थित अलकुज अस्पतालमा रहेको दुतावासका सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जनाइन् ।

जंगबहादुर नेपाल फर्किए


मष्तिस्कमा रक्तसञ्चार बन्द भई डेढ महिनादेखि दुबईस्थित एनएमसी अस्पतालमा कोमामा उपचारत थिए इलामका जङ्गबहादुर लुङ्गेली । एनआरएनए युएईका पूर्वमहासचिव सन्तोष प्रसाई लगायतका केही व्यक्तिको सहयोगमा दुतावासले उनलाई नेपाल पठाएको छ । तर, उनी पहिलेको अवस्थामा र्फकन अझै बाँकी छ ।

दुबईको फार्म फ्रेस एलएलसी कम्पनीमा कार्यरत जंगबहादुरलाई जून १९ तारिखमा काममै रहँदा ह्रदयाघात भएको थियो । उनलाई दुवईस्थित एनएमसी अस्पतालमा उपचार गरिएको थियो ।

हाल परिवारको आग्रहमा लुङगेलीलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको प्रसाईंले जानकारी दिए । पारिवारिक वातावरणमा रहँदा उनमा सुधार देखिने चिकित्सकहरुको अनुमान छ ।

नेपाल सरकारबाट पहल जरुरी

नेपाल सरकारले विदेशका अस्पतालमा कोमामा उपचार गरिरहेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने बताए पनि विदेशमा यस्ता नेपाली कति छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन ।

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले २३ जना नेपाली कामदार विभिन्न देशमा कोमामा रहेको तथ्यांक देखाएको छ । बोर्डका अनुसार कतारमा ११ जना, साउदी अरबमा ७ जना, कुवेतमा ४ जना र ओमनमा १ जना विरामी अचेत अवस्थामा छन् ।

यस्ता बिमारीलाई स्वदेश लैजान नेपाल सरकारसँग एयर एम्बुलेन्स छैन । नेपाल एयरलाइन्समार्फत लैजान पनि समस्या छ । बिमारीका आफन्तले खर्च जुटाउन सक्दैनन्

तर, बोर्डको यो तथ्यांकमा युएईमा उपचारत कामदारको संख्या उल्लेख छैन । नेपाली दुतावास अबुधाबीको पछिल्लो जानकारी अनुसार ५ जना नेपाली कामदार यहाँ कोमामा छन् ।

यस्ता बिरामीहरुलाई नेपालमा फर्काएर उपचार गर्ने वातावरण सरकारले बनाउनुपर्ने एनआरएनए युएईका पूर्वमहासचिव सन्तोष प्रसाई बताउँछन् ।

वैधानिक बाटोबाट वैदेशिक रोजगारमा आएका नेपाली कामदार समस्यामा पर्दा हेर्ने दायित्व नेपाल सरकारको रहेको उनी बताउँछन् ।

दूतावासको पहल

मुख्यतः यस्ता बिमारीलाई स्वदेश लैजान नेपाल सरकारसँग एयर एम्बुलेन्स नभएका कारण समस्या आएको दूताबासका अधिकारीहरू बताउँछन् । नेपाल एयरलाइन्स मार्फत लैजान पनि बिमारीको अवस्थाअनुसार आवश्यक सुविधा नभएकाले समस्या देखिन्छ । एयर एम्बुलेन्समा लैजान बिमारीका आफन्तले खर्च जुटाउन सक्दैनन् ।

यहाँ अस्पतालहरुमा उपचाररत बिरामीको खर्च रोजगारदाता कम्पनीले नै व्यहोरिरहेका छन् ।

यी समस्याका बाबजुद पनि अब दूतावासले कोमामा उपचाररत कामदारलाई नेपाल फर्काउन पहल गर्ने जनाएको छ । पासवानको हकमा भने श्रम मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयमा जानकारी गराइसकेको श्रम सहचारी भुसालले बताए ।

बिमारीलाई नेपाल फर्काउन लाग्ने खर्चका बारेमा सरकारले स्पष्ट नीति बनाउन सकेको छैन । कतिपयको परिवारजन सम्पर्कमा नआउनाले समन्वयमा समस्या छ

तर, परिवारका नातेदारहरु सम्पर्कमा नआएका कारण उनलाई स्वदेश फर्काउन समस्या भएको बताइएको छ । तर, अब परिवारजन सम्पर्कमा नआए पनि वैदेशिक रोजगार प्रर्वद्धन वोर्डलाई पत्र पठाएर उनलाई नेपाल लैजान आवश्यक प्रक्रिया अघि बढाउने दुतावासको तयारी छ ।

अन्य बिरामीको विषयमा पनि बोर्डको सहयोगमा नेपाल फर्काउने तयारीमा दुतावास रहेको भुसाल बताउँछन् ।

तर, सरकारले भनेअनुसार यस्ता बिमारीलाई नेपाल फर्काउन आवश्यक नीतिको अभाव देखिन्छ । नेपालमा ल्याएपछि कुन अस्पतालमा राख्ने भन्नेबारे अस्पतालको स्वीकृति पत्र सम्बन्धित देशमा उपचाररत अस्पतालााई जानकारी गराउनुपर्छ । कतिपयको परिवार सम्पर्कमा नआउनाले समन्वयमा समस्या छ ।

अर्कोतर्फ उनीहरुलाई स्वदेश ल्याउन एयर एम्बुलेन्समा लाग्ने खर्चका बारेमा पनि सरकारले स्पष्ट नीति नबनाएका कारण खर्च कसरी जुटाउने भने समस्या सम्बन्धित देशका दुतावासहरुलाई छ ।

तस्वीर सौजन्य : नेपाली दूतावास, युएई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment