Comments Add Comment

राजपा अध्यक्ष मण्डलसँग भेट्न प्रधानमन्त्रीद्वारा इन्कार !

फाइल फोटो

२५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् ।

संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

‘विगतमा हामी (राजपा)सँग भएको संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका माग्न खोजिएको हो’, ठाकुरले अनलाइनखबरसँग भने, ‘हिजो बिहीबार भेट्ने हाम्रो निर्णय थियो तर, वालुटारबाट प्रधानमन्त्री व्यस्त रहेको भन्दै फोन आयो भेट हुन पाएन । आज कुनै खबर आएको छैन ।’

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए । तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नमिलेको हो । यसअघि राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले गत मंगलबार प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर छलफल गरेका थिए ।

‘मंगलबारको भेटमा पनि मैले विगतको सहमति कार्यान्वयन र समग्र मधेसको विकासको खाकाबारे प्रधानमन्त्रीसँग कुरा गरेको हुँ’, ठाकुरले भने, ‘जनकपुरमा मनिपाल अस्पताल निमार्णको काम रोकिएको छ । सडक विस्तार र गुणस्तरीय बनाउनुपर्ने छ । यसमा राज्यको ध्यान छैन । यस्ता विकास निमार्णका सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment