Comments Add Comment

डाक्टरको प्रश्न- पेशा परिवर्तन गरौं कि देशै छाडेर हिँडौं ?

मुलुकी संहिताले डाक्टरलाई अपराधीको दर्जामा राखेको गुनासो

फाइल तस्वीर

२७ साउन, काठमाडौं । उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई दिएका छन् ।

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. लोचन कार्कीले अहिलेको व्यवस्था हेर्दा सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको भान हुने बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

डा. कार्कीले अनलाइनखबरसँग भने, ‘यसलाई परिमार्जन गर्नुस् भनेर हामी सरकारलाई अनुरोध गर्छौं । त्यसबाट पनि भएन भने त लाइसेन्स लगेर स्वास्थ्य मन्त्रालयमा बुझाएर घर बस्नेबाहेक अरु उपाय रहँदैन ।’

यो व्यवस्था संशोधन नभए विकृति झन् बढ्ने उनले आशंका गरे । कार्कीले भने, ‘अहिले डाक्टरलाई हात हाल्ने र स्वास्थ्य संस्था तोडफोड गर्दै मोटो रकम असुलेर कमिसन खाने गिरोहसँग लड्नुपरिरहेको छ । यो व्यवस्था लागू भयो भने यो विकृति झन् बढ्छ ।’

बिरामी जाँचेको सय/पचास रुपैयाँ लिएर जीवनभर जेल बस्ने जोखिम मोल्न कोही पनि चिकित्सकहरु तयार नभएको कार्कीले बताए ।

डा. लोचन कार्की

अब पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएकोप्रति डाक्टरहरु चिन्तित रहेको उनको भनाइ छ । उनले भने, ‘यसरी त हामी काम गर्नै सक्दैनौं भनेर डाक्टरहरुले भनिराख्नुभएको छ । अब पेशा नै परिवर्तन गर्ने हो कि, देशै छोडेर हिँड्ने हो कि भनेर डाक्टरहरु एकदमै चिन्तित छन् ।’

डा. कार्कीले अहिलेको कानुनी व्यवस्थाले स्वयम् बिरामीसमेत मर्कामा पर्ने बताए । डाक्टरहरु कारवाहीबाट जोगिन सामान्य समस्याको बिरामीको पनि धेरै प्रकारको परीक्षण गर्दा उपचार महंगो हुने र त्यसबाट बिरामी नै मर्कामा पर्ने उनको भनाइ छ ।

डा. कार्कीले भने, ‘बिरामीलाई सामान्य ज्वरो आयो भने पनि ज्वरो के-के कारणले आउन सक्छ भनेर अनेक प्रकारका अनुसन्धान गर्नुपर्ने हुन्छ । यसबाट स्वास्थ्य उपचार सेवा झन् महंगो हुन्छ, जुन नेपालको अहिलेको व्यवस्था र जनताको क्रयशक्तिले भ्याउँदैन ।’

डा. कार्कीको जस्तै धारणा छ नेपाल मेडिकल काउन्सिलका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलको पनि । चिकित्सा सेवा विशिष्ट प्राविधिक सेवा भएकाले कुनै पनि डाक्टरले जानाजान गल्ती नगर्ने पौडेल बताउँछन् । डाक्टरको उद्देश्य नै बिरामीको सेवा गर्नु हो भन्दै उनले अगाडि भने, ‘यसमा लापरवाही गर्ने र बदनियत राख्ने भने कुरै हुँदैन ।’

तर, कुनै कारणबस बिरामीको मृत्यु भएमा विज्ञ टोली बनाएर उचित राहत दिन भने सकिने उनले बताए । तर, विज्ञ नै नराखिकन र आफूहरुसँग परामर्शसमेत नगरिकन गरिएको कारवाहीको व्यवस्था खेदजनक भएको उनले बताए ।

डा. पौडेलले अनलाइनखबरसँग भने, ‘संसारमा कहिँ नभएको बदनियत, लापरवाही भन्ने शब्द प्रयोग गरी चिकित्सकहरुलाई अपराधीजस्तो संज्ञा दिइएकोमा हाम्रो घोर आपत्ति छ । यसविरुद्ध हामी कुनै पनि कदम चाल्न सक्छौं ।’

यसैवीच चिकित्सहरुले मुलुकी संहिताको प्रावधानको विरोधमा बैठकको आयोजना गर्न लागेको काउन्सिलका पदाधिकारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment