Comments Add Comment

दशैंअघि बैंकको ब्याजदर नघट्ने पक्का

उद्योगी भन्छन्- ब्याज नघटे भद्र सहमति तोड्नुपर्छ

२७ साउन, काठमाडौं । के तपाई दशैं तिहारअघि नै बैंकबाट ऋण लिएर कुनै उद्योग-व्यवसाय गर्ने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने एकपटक सोच्नुहोस्, बैंकहरुले तपाईलाई दिने कर्जाको ब्याजदर अझै केही महिनासम्म घट्नेवाला छैन ।

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने व्यवसायीले बारम्बार माग गर्दै आएका छन् । तर, बैंकर्सहरुले अहिलेसम्म ब्याज घटाउन मानिरहेका छैनन् ।

अहिले बैंकहरुले ११ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने गरेका छन् । तर, कर्जाको ब्याजदर भने उनीहरुले १६ प्रतिशतसम्म लिने गरेका छन् ।
बैंकरहरुले तत्काल ब्याजदर घटाउन नसकिने बताएसँगै दशैंअघि ब्याज नघट्ने पक्का भएको छ । तर, वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन नसक्ने बताएपछि उद्योगी व्यवसायीहरु रुष्ट बनेका छन् ।

अब भद्रसहमति तोडिनुपर्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब बैंकरहरुको भद्र सहमति तोडिनुपर्ने बताएका छन् । मौदि्रक नीति आएपछि पनि ब्याजदर घट्ने अपेक्षा गरिएकोमा अहिलेसम्म घट्ने छाँटकाँट नदेखिएका कारण गोल्छाले भद्र सहमति तोड्ने चेतावनी दिएका हुन् ।

ब्याज दरमा एकरुपता कायम गर्न भन्दै केही समयअघि बैंकर एशोसिएनको बैठकले मुद्दति निक्षेपमा बढीमा ११ प्रतिशतसम्म ब्याजदर कायम गर्ने भद्र सहमति गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले ल्याएको मौदि्रक नीतिमा गरिएका कतिपय व्यवस्थाप्रति उद्योगी व्यवसायी सुरुदेखि नै असन्तुष्ट रहँदै आएका छन् । तथापि मौद्रिक नीति आएसँगै बैंकको ब्याजदर घट्ने अपेक्षा उद्योगी व्यवसायीहरुले गरेका थिए ।

भद्र सहमतिसुन्दा सभ्य भए पनि यसले व्यवसायीहरुलाई नकारात्मक असर गरेको भन्दै अब यो सहमति तोडेर खुला बजार अर्थतन्त्र अनुसार ब्याजदर निर्धारण हुनुपर्ने उद्योगपति गोल्छाको भनाइ छ ।

ब्याजदर नघट्नु भनेको बैंकहरुको विकृति भएको उनको भनाइ छ । ‘ब्याजदर बढाउनु पर्दा बैंकहरुले हप्तैपिच्छे बढाउछन् र फोन गरेर र एसएमएसबाट जानकारी दिन्छन्’ गोल्छाले भने, ‘तर, घटाउनुपर्ने बेलामा बैंकहरु चुपचाप बस्नु भनेको एउटा विकृति हो ।’

अहिले तरलता राम्रै भए पनि पुरानो प्रतिवद्धताको कारण देखाउँदै ब्याजदर नघट्नु उद्योगी व्यवसायीहरुका लागि मात्रै नभएर समग्र अर्थतन्त्रकै लागि दुखद भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

तीन महिनापछि ब्याजदर घट्छः बैंकर शाह

तत्कालै व्याजदर घट्ने सम्भावना कम रहेको नेपाल बैंकर एशोसिएसनका निवर्तमान अध्यक्ष एवं नबिल बैंकका सीईओ अनिलकेशरी शाह बताउँछन् ।

निक्षेपको ब्याज दरले कर्जाको ब्याजदर निर्धारण हुने र पुरानो बचत भएका कारण ब्याजदर घट्न केही समय लाग्ने बैंकर शाहले बताए ।

‘ब्याजदर निर्धारण गर्ने भनेको निक्षेपको आधारले हो, गत वर्ष निक्षेप लिने क्रममा १२ प्रतिशतसम्म ब्याज तिरेर एक वर्षदेखि कति बैंकहरुले २/३ वर्ष सम्मका लागि पनि लिएका छन् ।’ शाहले भने, ‘कर्जाको ब्याजदर घट्न निक्षेपको पनि ब्याज कम हुनुपर्ने हुन्छ, कर्जाको ब्याजदर घट्न अझै एक क्वार्टर (३ महिना) पर्खनैपर्छ ।’

बैंकर शाहले चालु आर्थिक वर्षमा भने तरलताको समस्या देखिने सम्भावना नरहेको बताए । चालु आर्थिक वर्षका लागि ल्याएको बजेट सरकारले खर्च गर्न सक्ने गरी मात्रै ल्याएका कारण तरलताको समस्या विगतका वर्षहरुमा जस्तो नदेखिने उनको भनाइ छ ।

दशैंअघि ब्याजदर घट्ने सम्भावना कम छ : बैंकर सिटौला

बैंकर्स एशोसिएसनका कार्यसमति सदस्य एवं कृषि विकास बैंकका सीईओ लीलाप्रकाश सिटौला पनि दशैंअघि ब्याजदर घट्ने सम्भावना न्यून रहेको बताउँछन् ।

बैंकमा तरलताको मात्रा राम्रै देखिए पनि अहिले बैंकहरुबाट लगानी नभइरहेको र निक्षेप पनि नबढेका कारण तत्कालै ब्याजदर घट्न नसक्ने सिटौलाको भनाइ छ ।

‘अहिले लेण्डिङ गर्ने समय होइन, जसका कारण पनि तरलता देखिएको हो । यतिखेर बैंकहरु आ-आˆनो वासलातलाई अन्तिम रुप व्यस्त छन्’ बैंकर सिटौला भन्छन्, ‘यतिखेरको समय भनेको समीक्षा तथा भावी रणनीति तयार गर्ने समय हो, जसका कारण बैंकहरुले यतिबेला धेरै लगानी गरिरहेका छैनन् ।’

सिटौला अगाडि भन्छन्- ‘बजारले बुझ्नुपर्ने कुराचाहिँ के हो भने तरलता भएका कारणले नै ब्याजदर घट्ने होइन ।’

बैंकले थोरै ब्याजदरमा निक्षेप लिन सक्यो भने त्यो रकम कम मूल्यमा दिने भन्दै अहिले निक्षेप नआएका कारण तत्कालै ब्याजदर कम नहुने सिटौलाको तर्क छ ।

कर्जाको माग पनि अहिले त्यति बढी नभएको र भदौ-असोजदेखि मात्रै कर्जाको माग शुरु हुने सिटौलाले बताए । प्राविधिक कुराहरु नबुझेर कर्जाको ब्याजदर किन घटेन भनेर प्रश्न उठाउन थालिएको समेत उनले गुनासो पोखे ।

सरकारले धमाधम खर्च गर्न थाल्यो भने त्यो खर्च कतै न कतै सर्वसाधारणको आम्दानी बन्ने बताउँदै सिटौला भन्छन्, ‘त्यो रकम आम्दानीको रुपमा परिणत भएपछि बैंकमा बचत हुनुपर्‍यो । अनि निक्षेप वृद्धि भयो भने स्वाभाविकरुपमा कर्जाको ब्याज दर घट्छ ।’

यसअघि एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समेत तत्काल ब्याजदर घटाउन बैंकहरुले नसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment