Comments Add Comment

पोखरेली बालबालिकालाई पारसले देखाए टेस्ट खेल्ने सपना


२८ साउन, पोखरा । ‘तिमीहरुको हातमा त ब्याट छ, मैले त काठलाई ब्याटजस्तो बनाएर खेल्न सिकेको हुँ’ पोखरा क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका बालबालिकासँग रमाउँदै गर्दा नेपाल क्रिकेट टिमका कप्तान पारस खड्का विगत सम्झिए ।

कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै प्रशिक्षक जगत टमाटा पोखरा पि्रमियर लिगका लागि भइरहेको मैदान मर्मतसम्भार हेर्न आइतबार पोखरा पुगेका थिए ।

त्यसक्रममा पारस टिममेटसमेत रहेका करण केसीले सञ्चालनमा ल्याएको एकेडेमीमा पुगेका हुन् । कप्तान पारसलाई भेट्न पाउँदा क्रिकेटमा भविष्य खोजिरहेका बालबालिका रमाए । उनीहरुले एक्लाएक्लै, सामूहिक तस्वीर खिचाए ।


अधिकांशले व्याट, बल र राष्ट्रिय झण्डामा अटोग्राफ लिए । त्यसक्रममा पारसले भने, ‘अहिले तिमीहरु भाग्यमानी छौ, ब्याट पाएका छौ, गुरु पाएका छौ, राम्रोसँग खेल्नु ।’

उनले क्रिकेटसँगै अध्ययनलाई पनि निरन्तरता दिन सुझाव दिए । ‘क्रिकेट खेल्नुपर्छ तर, अध्ययन भने छाड्नु हुँदैन’ पारसले भने, ‘शिक्षा बिना त संसार अँध्यारो हुन्छ, बरु दुबैलाई सँगैसँगै अगाडि बढाउनु, भोलि भविष्य सुन्दर हुन्छ ।’

क्रिकेटमा भविष्य रहेको भन्दै उनले अब टेस्ट खेल्ने पालो नयाँ पुस्ताको काँधमा आएको बताए । क्रिकेट सिकिरहेका बालबालिकाहरुप्रति इंगित गर्दै उनले भने, ‘टेस्ट खेल्ने पालो तिमीहरुको हो । अबको १० वर्ष भित्रमा त्यहाँ पुग्न सकिन्छ र त्यो तिमीहरुकै पालामा हुन्छ ।’

सन् २०१३ मा पोखरामा डिभिजन ३ को बन्द प्रशिक्षण पोखरामै गरेको स्मरण गर्दै उनले ५ वर्षमा नै एकदिवसीय मान्यता पाउन सफल भएको बताए ।

क्रिकेट खेल्दा आफूले गरेको संघर्ष सुनाउँदै पारसले भने, ‘मैले पनि अन्डर-१५, अन्डर-१७, अन्डर-१९ हुँदै सिनियर टिममा प्रवेश गरेको हुँ । राम्रो गर्दै जाँदा अहिले कप्तानी सम्हाल्न पाएको छु, भोलि यो जिम्मेवारी तिमीहरुको हो ।’

कुराकानीको अन्तिममा कप्तान पारसले बालबालिकालाई केहि प्रश्न भए गर्न आग्रह गरे । तर, बालबालिकाले प्रश्न नभएको बरु तपाईं जस्तै क्रिकेटर बन्न पाउँ भने । लगतै पारसले नेपालका लागि खेल्ने र जितेर देशको शान बढाउने हैन त ? भनेपछि बालबालिकाहरुले हो भन्दै हुटिङ गरेका थिए ।

पोखरा क्रिकेट एकेडेमीमा ३६ बालक र ४ बालिका छन् । उनीहरुलाई क्रिकेट प्रशिक्षक रिजन प्रजू र चन्द्रकुमार गुरुङले प्रशिक्षण गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment