Comments Add Comment

साधारण तारेखमा छुटे राज्यमन्त्री शर्मा

२८ साउन, बर्दिबास । ज्यान मुद्दाका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा छुटेका छन् ।

जिल्ला अदालत महोत्तरीमा सोमबार हाजिर भई बयान दिएका शर्मा थुनछेक बहसपछि साधारण तारेखमा छुटेका हुन् । थुनछेक बहसपछि न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्माको हत्याको अभियोग लागेका शर्मा सोमबार जिल्ला अदालत महोत्तरीमा हाजिर भएका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी हालै मात्र प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

उच्च अदालत जनकपुरले शर्मालाई पक्राउ गर्न आदेश दिएपछि उनी सोमबार आफैं अदालतमा हाजिर भएका हुन् । सोमबार अदालतमा राज्यमन्त्री शर्माको तर्फबाट अधिवक्ताहरु रमेशकुमार पाण्डेय, देवेन्द्र ठाकुर र ज्ञानेन्द्रलाल कर्णले बहस गरेका थिए ।

राज्यमन्त्री शर्माले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । साथै एम्बुलेन्स चालक, सागै रहेको सुरक्षाकर्मी र अस्पतालका कर्मचारी लगायतको बयानका आधारबाट शर्माको संलग्नता पुष्टि हुने आधार नभेटिएको आदेशमा उल्लेख छ ।

मोहन ठाकुरले शर्माको नाम पोलेका थिए तर, उनलाई नै उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएकाले शर्माको हकमा पनि विचारनीय भएको अदालतले बताएको छ । ‘केवल प्रतिवादको मोबाइल कल डिटेल र बारदातको लोकेसनमा रहेको भन्ने आधारमा मात्र बारदातमा संलग्न रहेको अनुमान गर्न मिल्ने अवस्था रहेन’ आदेशमा भनिएको छ ।

अदालतको आदेश लगतै शर्मा छुटेका छन् ।

थमन विक हत्याका २८ अभियुक्त मध्ये तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । उनीहरुमध्ये मोहन ठाकुर हाल तारेखमा छन् भने दुईजना पुर्पक्षको लागि थुनामा छन् ।

यो मुद्दामा अधियुक्त रहेका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका मेयर बनेका छन् भने कौशलकुमार राय प्रदेशसभा सदस्य छन् । उनीहरुसँगै अन्य अभियुक्त पनि पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment