Comments Add Comment

क्षमता बिस्तार गर्दै मनकामना केबुलकार

२८ साउन, चितवन । दर्शन प्रालिले चितवन कुरिनटारमा सञ्चालन गरेको मनकामना केबुलकारको क्षमता बिस्तारको तयारी थालेको छ ।

नेपालको पहिलो केबुलकारका रुपमा स्थापित मनकामना केवलकारले तीन वटा गोण्डोला अर्थात् ‘कार’ थप्ने तयारी गरेको हो । तारको लठ्ठा (केबुल) मा झुण्डिने कारजस्तो डब्बालाई अंग्रेजीमा गोण्डोला भनिन्छ ।

यसअघि ३१ वटा गोण्डोला रहेको अब ३४ वटा हुनेछन् । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले आउँदो घटस्थापनादेखि मनकामना केबुलकारले ३४ वटा गोण्डोलाबाट सेवा दिने जानकारी दिए । ‘अष्ट्रेलियाबाट तीन वटा गोण्डोला कुरिनटार आइपुगेका छन्,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अब गोण्डोलालाई एसेम्बल (फिटिङ) गरेर परीक्षण पश्चात सञ्चालनमा ल्याउँछौं ।’

मनकामना केवलकार भएर औसत दैनिक तीनहजार यात्रुले मनकामनाको दर्शन गर्दछन् ।

दसैं र अन्य चाडपर्वका दिन अत्याधिक भीड हुँदा दैनिक नौ हजार जनाले एक दिनमा यात्रा गर्दै आएकोमा अब तीन वटा गोण्डोला थपिएपछि भीडभाड भएको दिन एक हजार जनासम्मले थप सेवा प्राप्त गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ ।

भीडभाडको दिन यात्रुले धेरैबेर कुर्न नपर्ने सञ्चालकको दावी छ । चितवनको कुरिनटारबाट दश मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो ।

गतवर्षदेखि काठमाडौंको चन्द्रागिरिमा अर्को केबुलकार सञ्चालनमा आएको छ । कास्कीको सराङकोटमा पनि केबुलकार निर्माणाधीन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment