Comments Add Comment

नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्नुपर्छ : सभामुख महरा

२९ साउन, काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल र भारतबीचको सम्बन्ध समय अनुसार पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसका अवसरमा मंगलबार नेपाल-भारत मैत्री संघले काठमाडौंमा गरेको कार्यक्रममा सभामुख महराले पछिल्लो राजनीतिक परिवेशका आधारमा सम्बन्ध पुनरावलोकन गरेमा जनस्तरको सम्बन्धसमेत बलियो हुने बताए ।

उनले भारत र नेपाल दुबै देशमा केही मात्रामा अझै पनि केही मात्रामा सामन्तवादी सोच रहेको जिकिर गरे । ‘भारत बि्रटिस साम्राज्यबाट स्वतन्त्र भएको ७२ वर्ष भयो, तर त्यहाँ अझै केही व्यक्तिमा अंग्रेज मानसिकता कायमै छ’, महराले भने, ‘हाम्रो देश पनि सामन्तवादबाट मुक्त भइसकेको छ । तथापी, हामीभित्र समेत केहीमा सामन्ती मानसिकताहरु छन् ।’

सभामुख महराले विकासको गतिमा अगाडि बढिरहेका दुबै छिमेकी मुलुक भारत र चीनबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए । उनले तत्कालीन अवस्थामा नेपालमा शान्ति स्थापनार्थ भएको १२ बुँदे सहमतीमा भारतले सहयोग गरेको पनि स्मरण गरे ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि सभामुख महराले जस्तै परिवर्तित राजनीतिक अबस्थामा नेपाल-भारतबीचको सम्बन्ध पुनर्ताजगी गर्नुपर्नेमा जोड दिए । ‘नेपाल भुगोलका दृष्टिले, जनसंख्याको दृष्टिले सानो छ । तर सार्वभौम छ’, सिटौलाले भने, अहिलेको राजनीतिक परिवेशमा दुई देशको राजनीतिक सम्बन्धलाई नयाँ ढङ्गले विकास गर्नुपर्छ ।’

आर्थिक विकास र समृद्धिका लागि सहयोग आदानप्रदान र साझेदारी नै नयाँ राजनीतिक सम्बन्धको आधार हुने उनले बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले पछिल्लो समय नेपालले राजनीतिक रुपमा फड्को मारेको देखेर विश्व चकित भएको बताए । ‘नेपालले तीन तहको चुनाव प्रजातान्त्रिक तरिकाले सम्पन्न गरेको छ’, पुरीले भने, ‘यसले दुनियाँ चकित परेको छ । नेपालले राजनीति फड्को मारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment