१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता रहेको स्मरण गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गरेको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उनी नेपालको शुभचिन्तक र वास्तविक मित्र भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण पनि गर्नुभएको छ ।
स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहानुभूति एवं समवेदना प्रकट गरेका छन् ।
असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाउनु भएको सन्देशमा उल्लेख छ ।
रासस
प्रतिक्रिया 4