+
+

हे पहाडकी रानी, अभागी इलाम !

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ भदौ २ गते १४:१०
ईलामबाट देखिएकाे सूर्योदयको दृश्य

इलामलाई नेपालको सूर्योदय हुने जिल्ला भनेर चिनिन्छ । मेची–काली राजमार्गको चाराली भनिने चौबाटोबाट सडक मार्ग हुँदै उत्तर लाग्दा जब पहाडी भूभाग शुरु हुन्छ, इलाम जिल्ला प्रवेश गरिन्छ । नागबेली सडकमा उकालो चढ्दै जाँदा मौसम सफा छ भने झापाको समथर मैदानको दृश्य देखिन्छ ।

अझै उकालो चढेपछि कुटीडाँडा बजार आउँछ, जहाँ मोटरबाइक, जीप, कार र मानिसहरुको प्रायः चहल–पहल भैरहेको हुन्छ । त्यहाँबाट नजीकै थुम्कोमा पाथीभरादेवीको मन्दिर छ । मेची राजमार्गको मूल बाटोमा पर्ने र झापाको गर्मीबाट चिसो हावा खान आउनेहरुको लर्कोले यो ठाउँ आन्तरिक पर्यटकको लोकप्रिय गन्तब्य बनेको छ । त्यहाँबाट तेर्सो–तेर्सो सडक भएर अगाडि लागे पुगिन्छ– कन्यामको चियाबारी ।

चियाबारीको उकाली ओरालीमा

चियाबारी इलामको परिचयसँग गाँसिएको छ । चिया खेतीले पहाडी भू–बनौटलाई सुन्दर हरियालीमा सिँगार्छ । यसले वातावरणलाई सन्तुलन राख्न मद्दत गर्छ । कन्यामको चियाबारी देखेर जो कोही मुग्ध हुन्छ । अहिले हात हातमा मोबाइल आएपछि फोटो खिच्न सजिलो छ । सेल्फीको जमाना छ । मैलेचाँहि बाल्यअवस्थामा नै कन्याम चियाबारीको फोटो मनको क्यामराले खिँचेको थिएँ । अहिले पनि त्यो मनको फोटो र विगत ०४० सालदेखि यो बाटो ओहोर दोहोर गर्दा कन्यामको चियाबारी उस्तैउस्तै लाग्छ ।

वनस्पतिक रुपमा भन्नु पर्दा चिया एउटा रुखको प्रजाति हो । चियाको बोटलाई काँटछाँट नगरी स्वाभाविक ढंगले बढ्न दिने हो भने, चिलाउनेको रुख जत्रै हुन्छ । चियाको नालीबेली खोज्दै जाने हो भने चीनसम्म पुग्नुपर्छ । ईशापूर्व २७०० वर्ष अघि पहिलोपटक चीनका बादशाहले चियाको स्वाद चाखेको किंवदन्ती छ । चीनमा एक हजार वर्ष अघिदेखि चिया खाने चलन चली आएको छ ।

अहिले नेपालमा जे जति पर्यटक आइरहेका छन, तिनीहरु अधिकांश काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा घुमेर फर्किन्छन् । नेपालका पर्यटकीय सम्भावना भएका थ्रुपै क्षेत्रहरुमा विदेशी पर्यटकलाई पुर्‍याउन सकिएको छैन । दार्जीलिङ्ग र इलाम प्राकृतिकरुपमा उस्तै बान्की परेका ठाउँहरु हुन्

चिनियाँ भाषामा चियालाई चा भनिन्छ । धन कमाउन आएका ईष्टइण्डिया कम्पनीले भारतमा शासन सत्ता हत्याएपछि आसाममा चिया खेती शुरु गराएका हुन् । पछि दार्जिलिङ्गमा पनि चिया खेती हुन थाल्यो । त्यताको सिको गरेर राणाकालमा बडाहाकिम कर्णेल गजराजसिँह थापाले इलाममा सन १८६३ देखि चिया खेती शुरु गराएको इतिहास छ ।

पञ्चायतकालमा नेपाल चिया विकास निगम खडा गरिएपछि इलाम–झापामा चिया बगान लगाइयो । कन्यामको चियाबारी राजा वीरेन्द्रले चिया रोपेर शुरु गरिएको हो । राजा वीरेन्द्रले रोपेको भन्ने लेखेर चियाको बोटलाई सुरक्षित गरी राखिएको थियो । अहिले गणतन्त्रका चकचके बाँदरहरुले राजाको चिनो उखेलेर फालिदिए कि छँदैछ, कुन्नि ?

इलाम बजारसँगै टाँसिएको चियाबारीे बडाहाकिमको पालामा रोपिएको हो । जसले इलाम बजारलाई सुन्दरता प्रदान गरे पनि चियाको बोट धेरै बुढो भएकोले पत्ती उत्पादन चाँहि कम हुन्छ ।

चिया खेतीको आर्थिक पाटोलाई कोट्याउने हो भने नेपाल चिया विकास निगमको पनि कुरा गर्नुपर्ने हुन्छ । ०४६ सालमा बहुदलीय व्यवस्था आएपछि नेपालमा निजीकरणको हावाहुण्डरी आयो । वास्तवमा सन् १९९० को दशकमा संसारभरि आर्थिक उदारीकरणको लहर चल्यो । निजीकरणको त्यो हावाहुण्डरीले कतिपय सरकारी संस्थानको नामोनिशान मेटायो । नेपाल चिया विकास निगमचाँहि व्यापारीलाई लिजमा जिम्मा लगाइयो । निगमको इलाम र झापामा ७ वटा बगान र चिया प्रशोधन गर्ने फयाक्ट्री छ ।

इलामको चियाबारी

निजीकरणको हावाहुण्डरी चलेको अढाई दशक बितीसकेको छ । दलाल पूँजीवादलाई सत्तोसराप गर्नेहरु दुई तिहाई बहुमतसहित सत्तामा पुगेको छन् । देश र जनताको हित गर्ने पूँजीवाद नै राष्ट्रिय पूँजीवाद हो भन्ने मैले कलेज जीवनमा सुनेको/पढेको थिएँ । तसर्थ, अहिले समृद्धिको चर्को नारा घन्किएका बेला इलाम–झापाको उकाली ओराली यात्रामा मलाई केही प्रश्नहरुले घोच्छ ।

चिया विकास निगम व्यापारीलाई लिजमा दिएर राज्यलाई के कति फाइदा भयो ? त्यसले नेपालको अर्थतन्त्रमा के योगदान पुग्यो ? पर्यटकलाई चियाबारीको हरियाली देखाउनु बाहेक स्थानीय जनताले के पाए ? इलाम र झापामा रहेका निगमको विभिन्न चिया बगानहरुमा स्थानीयबासीहरु सँधै मजदूर मात्र भैरहने ?

राज्यको श्रोत साधनका रुपमा रहेको चिया विकास निगमबाट देश र जनता प्रत्यक्ष लाभान्वित हुनुपर्छ कि पर्दैन ? स्थानीयबासी र सम्पूर्ण नेपाली जनताका लागि शेयर खोलेर निगमको मालिक बनाउन सकिदैंन ? जल, जमिन र जंगलमा अधिकार खोज्नेहरु किन यता सोच्दैनन् ? हजारौं स्थानीयबासीले अलि अलि आर्थिक स्वामित्व बाँडेर लिँदा पो वास्तविक अधिकार आउने होइन र ? आदि इत्यादि ।

बजारमुखी कृषि अर्थतन्त्र

इलाम जिल्लाले ५ वटा कृषि उत्पादनमा निकै प्रगति गरेको छ । त्यो हो– अलैंची, अदुवा, अकबरे, अम्लिसो र ओलन (दूध) । यी पाँच “अ” हरुको साथै अन्य बजारमुखी कृषि उत्पादनतर्फ इलामे कृषकहरु अग्रसर भएको निकै समय भैसक्यो । यसबाट कृषकहरुले धेरथोर फाइदा पनि लिएका छन् । मेची राजमार्गमा कृषिउपज बोकेका मालगाडीहरु झापातिर झरिरहेका भेटिन्छन् । जसै कृषिउपज झापामा आईपुग्छ, त्यसले बजारमा व्यवस्थित वितरण प्रणाली पाउँदैन । काँकडभित्ता हुँदै भारततर्फ निकाशी गर्न खोज्दा झमेला व्यहोर्नु पर्छ । भारतबाट नेपालतिर भने कृषिउपज सजिलै आइरहेको हुन्छ ।

परिणामस्वरुप, कृषिउपजको अस्वाभाविक मूल्य उतारचढाव हुने गर्छ । बजारमा बीचको अरु त्तत्वहरु छँदैछन् । त्यसैले कृषकले जति फाइदा पाउनु पर्ने हो, त्यो पाउन सकिरहेका छैनन् । त्यसैले इलाम जिल्लाको हाटबजार घुम्दा कृषि अर्थतन्त्रको पेचिला प्रश्नहरुले मलाई पिरोल्छ । कृषक ईष्टमित्रहरुको घरआँगनमा भाउ नपाएर कुहिएका अदुवाको रास देख्दा म खिन्न हुन्छु । यसको समाधान के त ? सरकारले हेरिदिनु पर्‍याे – मैले कतिपय किसानको मुखबाट सुनेको छु ।

सरकारको तीन खम्बे आर्थिक नीति छ । एउटा खम्बा निजी क्षेत्र आयातमुखी व्यापारमा रमाएको छ । नेपालको निजी क्षेत्र उत्पादनमुखी क्षेत्रमा हिच्किचाउँछ । बरु शिक्षा, स्वास्थ्यजस्तो मानवीय संवेदनामा खेल्न पाइने व्यापारमा तम्सिन्छ । दोश्रो खम्बा सहकारी हो । धेरैजसो सहकारी पनि बचत र ऋणमा अल्झिएको छ । उत्पादनतर्फ सबैको चासो कम भए पछि उत्पादनचाँहि कसरी बढछ ? देशको डरलाग्दो व्यापार घाटा आज त्यसै देखा परेको होइन । विगत वर्षौं अघिदेखिका हाम्रा आर्थिक क्रियाकलापहरुको क्रमिक परिणाम हो ।

नेपालमा कहिले सिङ्गापुर त, कहिले स्वीट्जरल्याण्डको सपना देखाइन्छ । ती सपनामा भुल्नुभन्दा हामीले आफ्नो परिवेशसँग मिल्दोजुल्दो अन्य ठाउँहरुबाट विकास र समृद्धिको शिक्षा लिएर काम गरौं

केही महिना अगाडि समाचारमा पढेको थिएँ– एउटा विदेशी संस्थाले दिएको अनुदानबाट झापामा अदुवा प्रशोधन केन्द्र स्थापना भयो । अनि, मैले यूट्यूवमा खोजी हेरेँ– अदुवा प्रशोधन खासै ठूलो प्रविधि र मेशिनरी चाहिने कुरा त होइन रहेछ । नेपाली अदुवा लगेर भारतले प्रशोधन गरी यूरोप, अमेरिका निर्यात गर्दो रहेछ भन्ने पनि भेटाएँ । यसले हाम्रो उद्योगधन्दाको अवस्था कस्तो छ भन्ने अनुमान गर्न सक्छौं ।

यता इलाममा मेरा कृषक ईष्टमित्रहरुको आँगनमा अदुवा कुहिरहेका छन् । सरकारले हेरिदिनु पर्‍याे भनेको ठीकै कुरा रहेछ । अर्थतन्त्रको दुई खम्बाले काम नगरे, तेश्रो खम्बा सरकार आफैं अघि सर्नुपर्छ । त्यसैले कृषिउपज प्रशोधन, बजारीकरण र निर्यातको काम सरकारी संग्लनतामा थालिनुपर्छ । इलाम जिल्ला कै छेउछाउमा हुर्केका अर्थविज्ञ अहिले सरकारमा अर्थमन्त्री छन् । आशा गरौं– उनकै कार्यकालमा इलाम जिल्लाको बजारमुखी कृषि अर्थतन्त्रले फड्को मारोस् ।

इलामको घुमाई र सम्भावनाका झिल्काहरु

केही वर्ष पहिलेको कुरा हो, जेठ महिना थियो । कन्याम नपुग्दै मेची राजमार्गमा पर्ने हर्कटेमा चिसो हावा निकै बेर खाइयो । अनि, म सहित तीनजना साथीहरु ओरालै ओरालो सिद्धिखोलाको खोंचतिर पूर्व झर्‍याैं । सिद्धिखोलाबाट जलविद्युत निकाल्ने सर्भे भएको थियो । त्यसैको वातावरणीय अध्ययनको सिलसिलामा हामी स्थलगत भ्रमणमा गएका थियौं ।

रामभेंडे भन्ने ठाउँमा बास बसियो । स्थानीयबासीहरुसँगको कुराकानी अनुसार सिद्धिखोलामा तामाखानी छ । राणाकालमा तामा निकालिन्थ्यो । खानी गहिरिदैं जाँदा जमीनबाट पानी आएपछि बन्द भएको किस्सा सुनियो । स्थानीयबासीको भनाइको सत्यता जाँच्न पछि मैले खानी विभागको प्रकाशन खोजी गरी हेरेँ । सिद्धिखोलामा तामाखानी त रहेछ नै, त्यही हर्कटेको पश्चिम पानीढलोबाट निस्केको बिरिङ्ग खोलाको बालुवामा पनि सुन पाइन्छ भन्ने लेखिएको भेटेँ । अचम्म लाग्यो ।

दुईवर्षपछि फागुनतिर म एउटा टोलीमा मंगलबारे बजार हुँदै गजुरमुखी पुगेँ । देउमाई नदीको दाँया किनारमा सानो ग्रामिण बजार छ । बजार छेउैको चट्टानी भित्तोमा गजुरमुखी धाम छ । त्यहाँबाट नजिकै आधा घण्टाको पैदल दुरीमा शहिद रत्न बान्तवाको गाउँ छ । पंचायत विरुद्ध संघर्षको गाथामा आधारित “देउमाईको किनार” उपन्यास कामरेड प्रदिप नेपालले लेखेका छन् ।

त्यही देउमाई नदीमा जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन गर्न हामी गएका थियौं । हामीले देउमाईको किनारैकिनार अनगिन्ती ठाउँमा खोला तर्दै पदयात्रा गर्‍याैं । हाम्रो टोलीका सदस्य विराटनगरका प्राध्यापक डा. शिवकुमार राईले देउमाउ खोलाको लेउ टिप्दै कोसेली जस्तै जतनले थुप्रै डिब्बाहरुमा हाले । लेउ लगायत जलीय वनस्पतिका विज्ञ डा. राई फुरुङ्ग थिए ।

हामीलाई चाँहि लेउ लागेका चिप्ला ढुङ्गामा हिँड्न कठिन भएको थियो । देउमाई र माईखोलाको दोभानमा पुग्दा एउटा छाप्रोमा बास पाइयो । जेहोस, टुकीको उज्यालोमा भाले काटेर खाइयो । भोलिपल्ट पैदल यात्रा अघि बढाउँदै हामी बिर्तामोड निक्लियौं ।

विद्युत प्रशारण लाइनको कामको सिलसिलामा चुलाचुलीबाट हिँडेर चुरे डाँडा नाघ्दै महमाईमा म बास बस्न पुगेको छु । शितली बजारमा कमल खाकीको पाहुना भएर माई उपत्यकाको तल्लो सेरोफेरो चहारेको छु । यहाँको दानाबारी–महमाई क्षेत्र लुकेको पर्यटकीय सम्भावना भएको ठाउँ हो । इलामका अन्य ठाउँहरु पनि होलान् । खासगरी इलाम आउने विदेशी पर्यटकको लागि २/४ दिनका छोटा ट्रेकिङ्ग रुट खोज्नुपर्छ ।

दानाबारीबाट देखिएको तल्लो माई उपत्यकाको दृश्य

पञ्चायतकालमा शुरुआत गर्न खोजे पनि कन्काई जलाशययुक्त जलविद्युत आयोजना पछि सेलाएर गयो । तर, अझै सम्भावना चाँहि छँदैछ । यो आयोजनाले दानाबारी र महमाईमा कुलेखानी सरोवर जस्तै ताल बन्छ । जसले ठूलो पर्यटकीय संभावनाको ढोका खोल्छ । डुबानबाट विस्थापित परिवारलाई तालको किनारमा शहर बसाई राख्न सकिन्छ । तिनीहरुलाई पर्यटन र मत्स्यपालनबाट रोजगारी दिन सकिन्छ ।

इलाम जिल्लामा गत एक दशकयता धमाधम जलविद्युत आयोजनाहरु निर्माण भएका छन् । कृषिउपजको लागि शीतभण्डार र कृषिमा आधारित उद्योग सञ्चालन गर्न पर्याप्त विद्युत उपलब्ध छ । जिल्लाभरि नै कृषि सडकको संजाल छ । मनसूनले पर्याप्त वर्षा गराउने भएकाले पानीको खासै समस्या छैन । पानी व्यवस्थापन गरे मात्र पुग्छ । कृषिमा अथाह सम्भावना छ । इलामेली जनता मेहनती छन् । तर, केही तालमेल मिलिरहेको छैन । एनजिओको भँडुवा विकाशमा नअल्मलिऔं । पहिला सरकारले नै अघि सरेर ठोस कदम चालोस् । तब मात्र निजी क्षेत्र, लगानीकर्ता, विदेशीएका हाम्रा नेपालीहरु सबै आउलान् ।

इन्टरनेटमा इलाम

अहिले नेपालमा जे जति पर्यटक आइरहेका छन, तिनीहरु अधिकांश काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायत क्षेत्रमा घुमेर फर्किन्छन् । नेपालका पर्यटकीय सम्भावना भएका थ्रुपै क्षेत्रहरुमा विदेशी पर्यटकलाई पुर्‍याउन सकिएको छैन । दार्जीलिङ्ग र इलाम प्राकृतिकरुपमा उस्तै बान्की परेका ठाउँहरु हुन् । तर, दार्जीलिङ्गमा जति पर्यटक पुग्छन्, त्यसको एक छेउ पनि इलाममा पुग्दैनन् । यसका विभिन्न कारणहरु होलान् ।

त्यसमध्ये एउटा कारण चाँहि हो– इन्टरनेटमा इलामसम्बन्धी पर्याप्त जानकारी उपलब्ध नहुनु हो । अहिले इन्टरनेटको जमानामा पर्यटक बनेर घुम्न निस्कने मानिसले इन्टरनेटमा जानकारी खोज्छ । आन्तरिक पर्यटकलाई इलाम घुम्न जान ईन्टरनेटमा जानकारी खोज्न खासै आवश्यक नपर्ला । तर, एउटा विदेशी पर्यटकलाई इलाम जाऊ भनेर सल्लाह दियो भने उसले पक्कै खोज्छ ।

इलाम भनेर गुगलमा सर्च गर्दा मुस्किलले कनीकुथी जानकारी फेला पर्छ । इलाममा होटल बुकिङ्ग खोज्दा बरु दार्जिलिङ्गतिर देखाउँछ । त्यसैले इलामको टुरिज्म पोर्टल इन्टरनेटमा राख्नु एकदम आवश्यक छ । पर्यटकीय सम्भावना भएका अन्य ठाउँहरुले पनि पर्यटन विकाशको लागि इन्टरनेट सामग्री राख्नु जरुरी छ ।

इलाम सम्बन्धी जानकारी खोज्ने प्रसङ्गमा जिल्ला समन्वय समिति (साविक जिल्ला विकास समिति) को वेभसाइटमा इलामको बारे यस्तो भेटियो– ईरानबाट आएको काशीवंशका राजाले इलाममा राज्य खडा गरे । प्रामाणिक ऐतिहासिक तथ्य नभेटिनाले अनेकौं मिथकीय कथाहरु अर्थात जनश्रुति भेटिन्छ । झापाका विभिन्न स्थानहरुसँग महाभारतकालीन मिथक जोडिएको छ । तर, इलामबारे चाँहि यो कस्तो सुपर मिथक हो ?

इलाम बजारमा जन्मिएका हाल चन्द्रगढीबासी कवि श्यामकृष्ण श्रेष्ठले आफ्नो आत्मकथामा इलामको पुराना रोचक कुराहरु उल्लेख गरेका छन् । उनका अनुसार बडाहाकिम सन्तबीर लामाले इलाम दर्पण भनेर पुस्तक निकाल्न लगाएका थिए अरे । इलाम शिक्षामा अग्रणी जिल्ला हो । इलामबाट थुप्रै कवि, साहित्यकार र विद्धानहरु जन्मिएका छन् । तर, त्यही इलामका बारेमा विकिपिडियामा केही अधुरो मात्रै जानकारी छ ।

संसारमै जानकारीको श्रोतका रुपमा विकिपिडिया लोकप्रिय छ । कुनै स्थानविशेषको विकिपिपियामा उपलब्ध जानकारीको स्तरले त्यस स्थानको बौद्धिक सक्रियतालाई दर्शाउँछ ।

सन् २०१३ को अगस्टमा म पर्यटकका रुपमा मलेसियाको क्यामरन हाइल्याण्ड पुगेको थिएँ । इलाम जस्तै भौगोलिक बनावट र हावापानी भएको त्यस ठाउँमा चिया बगानले ढाकेको डाँडाकाँडा छ । कृषि र पर्यटनबाट लोभलाग्दो समृद्धि हासिल गरेको छ । क्यामरन हाइल्याण्ड घुम्दा मलाई इलामको साह्रै सम्झना आयो । यी दुई ठाउँको मलाई मीत लाईदिउँ जस्तो लाग्यो ।

नेपालमा कहिले सिङ्गापुर त, कहिले स्वीटजरल्याण्डको सपना देखाइन्छ । ती सपनामा भुल्नुभन्दा हामीले आफ्नो परिवेशसँग मिल्दोजुल्दो अन्य ठाउँहरुबाट विकास र समृद्धिको शिक्षा लिएर काम गरौं । त्यसैले, मलाई लाग्छ, क्यामरन हाइल्याण्डका बारेमा गुग्लेश्वर महादेवलाई सोध्दा (इन्टरनेटमा सर्च गर्दा) राम्रै होला ।

पर्यटनका अन्य तीतामिठा कुराहरु

पर्यटन विकासका लागि होटल र बेड क्षमता एउटा मुख्य पूर्वाधार हो । पर्यटकीय होटल खोल्न निकै लगानी चाहिन्छ । नेपालमा लगानीको खाँचो छ । विदेशमा बस्ने नेपाली बन्धुहरु नेपालमा यो भएन, त्यो भएन भनेर गुनासो गर्छन् । गाली पनि गर्छन् । त्यसो गर्नु भनेको टेलिभिजन सेट अगाडि बसेर फूटबल मैदानमा खेलाडीले गोल हानेन भनेर चिच्याउनु जस्तै हो । देश विकासमा सहयोग गर्न चाहनेले प्रत्यक्ष संग्लनता देखाउनु पर्छ । पैसा हुनेले लगानी गरौं । सीप हुनेले सीप पोखौं । पैसा र सीप दुबै हुनेले दुबै लगाऔं । यो कुरा इलाममा मात्र होइन, देशभरि नै लागू हुनसक्छ ।

इलाम घुम्ने, खासगरी विदेशी पर्यटक ठूल्ठूला घर हेर्न आउने होइनन् । त्यस्ता घर उनीहरु कै देशमा छ । हाम्रा मौलिक शैलीका घरलाई सफा र चिटिक्क पारेर पर्यटकलाई बास दिन सकिन्छ । सञ्चालनमा रहेका सामान्य होटल पनि स्तरोन्नति गरेर पर्यटकीय स्तरको बनाउन सकिन्छ ।

हे इलाम तिमीलाई– प्रकृतिले त दियो, तर हामीले सिँगार्न सकेनौं, त्यसैले तिमी पहाडकी अभागी रानी हौ !

भारतको ओयो भन्ने होटल ब्रान्ड निकै लोकप्रिय भैरहेको छ । ओयो कम्पनीले नेपालका होटलहरुसँग सहकार्य गर्ने व्यवसाय शुरु गरिसकेको छ । त्यस्ता कम्पनीको ब्रान्ड र सहकार्यमा केही लगानी थपेर इलामका होटलले स्तरीय सेवा दिन सक्छ । व्यवसायीले आफ्नो सेवामा गुणस्तर थपेर (भ्यालू एडिसन गरेर) ग्राहकलाई सन्तुष्टि दिनुपर्छ । अनि ग्राहकले पनि खुशी साथ बढी पैसा तिर्छन् ।

काठमाडौंबासी मेरा दुई जना मित्र इलाम घुम्न जाँदा होटलले एकरात कोठाको ४५ सय रुपैयाँ लिएछ । त्यो रकम उनीहरुका लागि ठूलो कुरा होइन । तर, पैसा अनुसारको गुणस्तरीय सेवा नपाउँदा उनीहरुले ठगिएको महसुस गरे ।

पर्यटन व्यवसायमा भौतिक वस्तु मात्र भएर पुग्दैन, आतिथ्य कलामा पनि चाहिन्छ । बरु होटल व्ववसायीले घुमेको नहोला, ग्राहक बनेर आउने पर्यटकले धेरै ठाउँ घुमेको हुन्छ । उसले अरु ठाउँसँग इलामलाई तुलना गर्छ । पाहुनाले होटल व्यवसायीको आतिथ्य सत्कारलाई मूल्यांकन गरिरहेको हुन्छ ।

माईपोखरी रामसारमा सूचीकृत भएकाले अन्तराष्ट्रिय महत्वको सिमसार क्षेत्र हो । यूनेस्को अन्तर्गत सिमसार संरक्षणका लागि सन १९७१ मा रामसार अन्तर्राष्ट्रिय महासन्धि भएको थियो । त्यसै पनि आफैंमा माईपोखरी साँच्चै सुन्दर छ । तर, त्यहाँ पुग्ने सडकको अवस्था खराब छ ।

इलाम बजारको सिधा पश्चिमपट्टिको डाँडोलाई सिद्धिथुम्का भनिन्छ । त्यहाँबाट पनि सूर्योदय र सूर्यास्तको दृश्य साह्रै राम्रो देखिन्छ भन्ने मलाई कसैले सुनायो । इलाम बजारबाट सिद्धिथुम्का जान गाडीमा चढेँ । पहिला त गाडी खकुलो नै थियो, पछि धेरैबेर कुरेर सिन्की कोचेजसरी यात्रु खाँद्यो । गाडी रिजर्ब गरेर जाउँ, हजारौं हजार रुपैयाँ भाडाको कुरा आउँछ । सार्वजनिक यातायातमा यो ताल छ । अनि, जति नै राम्रो ठाउँ भए पनि को जान्छ ?

इलामको पशुपतिनगर हुँदै दार्जीलिङ्ग जान आउन सकिन्छ । तर, पशुपतिनगर नाकामा अध्यागमन कार्यालय नभएकाले दार्जीलिङ्गबाट विदेशी पर्यटकचाँहि इलाम भित्रिन पाउँदैनन् । यस सम्बन्धमा नेपाल–भारतसँग द्वीपक्षीय कुरा भएको समाचार आएको थियो । फेरि पनि यस विषयमा पहल गरिनुपर्छ ।

काठमाडौंबाट इलाम बजार ७ सय किलोमिटर सडक दुरीमा छ । काठमाडौंबाट चन्द्रगढी एयरपोर्टसम्म ४५ प्लेनमा उडेर र त्यहाँ करिब ८० किलोमिटर गुडेर इलाम पुग्न सकिन्छ । तर घुम्ने मनुवाले कहीँ पनि टाढा भन्दैन । सगरमाथाको बेसक्याम्पमा पनि पर्यटकको हुल पुगेकै छ । इलामको कुरा धेरै छन् । मलाई संस्मरणहरु बटुल्दै यो शाब्दिक यात्रामा कञ्चनजंघाको फेदीसम्म पुग्नु छ ।

जाँदाजाँदै अन्तमा भनुँ हे इलाम तिमीलाई– प्रकृतिले त दियो, तर हामीले सिँगार्न सकेनौं, त्यसैले तिमी पहाडकी अभागी रानी हौ !

यो पनि पढ्नुस्

झरझराउँदो झापाः केचना र कन्काईदेखि किचकबधसम्म

लेखकको बारेमा
मिलन मनुवा दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?