+
+

झरझराउँदो झापाः केचना र कन्काईदेखि किचकबधसम्म

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ साउन २६ गते १८:१३


मानिसले दूरदराजको यात्रा गरे पनि आफ्नै गाउँठाउँको परिवेशलाई भुल्न सक्दैन । परिचय गर्दा आफ्नो नाम बताए पछि आउने दोश्रो प्रश्न हो- घर कहाँ हो ? विदेश घुम्दा मेरो घर नेपाल हो भन्छु । कोही नेपालीले सोधे झापा भन्नुपर्‍यो । कोही झापाली नै परेछ भने मेरो उत्तर हुन्छ- चन्द्रगढी हाल भद्रपुर नगरपालिका वार्ड नं. १० । झापाको सदरमुकाम चन्द्रगढी बजारदेखि केचना २६ किलोमिटर सडक दुरीमा केचना अवस्थित छ । असोज-कार्तिकको शरद ऋतुमा आकाश खुलेर कञ्चन नीलो भएको बेला चन्द्रगढीबाट उत्तरतर्फ हेर्दा कंचनजंघा हिमाल देखिन्छ ।

झापादेखि ताप्लेजुङ्गसम्म कतिपटक ओहोरदोहोर गरेँ- मलाई हेक्का छैन । पिताको जागिरे जीवनसँगै ताप्लेजुङ्ग बजारको गणेश प्रा.वि. मा ४ र ५ कक्षा पनि पढेँ । पछि आफ्नै जागिरको सिलसिलामा पनि मेची अञ्चलको तराई, पहाड, हिमाल उकाली ओराली गरियो । ती बाल्यकालदेखि अधवैंशे उमेरसम्मका अनेकौं यात्राहरुको सँस्मरण छरपस्ट छन् । त्यसबाट केहीलाई टिपेर यो संस्मरणात्मक लेख तयार पारेको छु । यस लेखमा जनश्रुति अर्थात मिथकहरु पनि जोडेको छु । साहित्यिक मनोरञ्जनका लागि लेखिएकाले पढेर कसैले अन्यथा नलिई दिनुहोला ।

नेपालको सबभन्दा होचो ठाउँ

नेपालको सबभन्दा होचो ठाउँ झापा जिल्लाको केचना हो भन्ने सामान्य ज्ञानको किताबमा भेटिन्छ । जिल्ला विकास समिति, झापाले निकालेको जिल्ला दर्पण (डिस्ट्रक्ट  प्रोफाइल), २०७१ मा नेपालको सबैभन्दा होचो ठाउँ केचना, समुन्द्री सतहबाट उचाई ५८ मिटर भन्ने उल्लेख छ । कतैकतै केचनाको उचाई अरु नै लेखिएको पाइन्छ ।
नेपालको हालसम्मको भौगोलिक अध्ययनमा धनुषा जिल्लाको मुसरनिया भन्ने ठाउँमा समुन्द्र सतहदेखि ५९ मिटर उचाई मापन भएको छ । तर, त्यही स्थान नै नेपालको सबैभन्दा होचो ठाउँ भनेर ठोकुवा गरिएको छैन । भ-ूसतह मापन गर्ने नेपालको आधिकारिक निकाय नापी विभाग हो । त्यहाँ मेरा केही चिनारु नापी प्राविधिक थिए, अहिले पनि होलान् ।

यस विषयमा एकपटक जमघटमा भेट हुँदा मैले उनीहरुलाई नेपालको सबैभन्दा होचो ठाउँको बारे जिज्ञाशा राखेको थिएँ । उनीहरुको भनाइ थियो- तराई मधेसको ठूलो भूभागमा वृहत सर्भे गरे मात्र नेपालको सबैभन्दा होचो ठाउँ पत्ता लगाउन सकिन्छ । जुन अहिलेसम्म भएकै छैन ।

स्कूले जीवनममा फूटबल म्याच, सांस्कृतिक कार्यक्रम हेर्न पृथ्वीनगर, बनियानीसम्म पुगिन्थ्यो, तर केचना पुगिएन । गत ०७५ साल मंसिरको निर्वाचनमा मताधिकार प्रयोग गर्न एक हप्ता अगाडि काठमाडौंबाट चन्द्रगढी गएँ । झापाको धेरै स्थान, खासगरी दक्षिण क्षेत्र घुम्ने मौका मिलेको थिएन । भाइको मोटरसाइकल मागेर बेस्सरी घुमेँ । तर, मलाई केचना जाने जाँगर चलेन । त्यहाँ खेतको बीचमा क्रँकिटको पिल्लर बनाएको फोटो देखेको थिएँ । कताकता मलाई त्यो फेक अर्थात नक्कली जस्तो लाग्यो ।
नापी विभागले भविष्यमा तराई मधेशको भौगोलिक सर्भे गरेछ भने केचना नेपालको सबैभन्दा होचो ठाउँ प्रमाणित हुन पनि सक्छ । एउटा झापालीको नाताले त्यो भैदिओस् भन्ने मेरो शुभकामना छ ।

तर अहिले चाँहि केचना सम्बन्धी यस्तो मिथ कसरी बन्यो कुरा घोत्लिँदा मलाई लाग्छ- नेपालको सबै पानी बगेर बंगालको खाडीमा जाने हो । नेपालको नक्शामा केचना दक्षिणपूर्व कुनामा र बंगालको खाडीबाट सबैभन्दा नजिक छ । होचो सतहतर्फ बगेर जाने पानीको गुण हो । पञ्चायतकालमा झापाको जंगल क्षेत्र व्यापक विनाश भएर घना बस्ती र धान खेतमा परिणत भयो । पहाडेहरु धानको भात खान मधेश झरे भने आसाम, मणिपुर, बर्माबाट खेदिएका नेपालीहरु पनि झापामा ओइरो लागे । म स्कूले विद्यार्थी हुँदा यही सामाजिक परिवेशमा पंचायती जगजगी चल्दै रहेछ । कुनै ब्यक्तिलाई झापादेखि बंगालको खाडी नक्शामा हेर्दा केचना नेपालको सबैभन्दा होचो ठाउँ भन्ने फुर्‍यो होला । त्यो कुरा तत्कालिन पञ्चायतका ठूलाबडासम्म पुग्यो होला । तिनीहरुले पनि हो मा हो मिलाई दिएपछि केचना नेपालको सबभन्दा होचो ठाउँ भनेर चर्चामा आएको हुनसक्छ । अनि, विस्तारै यो मिथ अर्थात जनश्रुति बनेको हुनुपर्छ ।

किचकवधको कहानी

केचनाभन्दा अलिक माथि आएपछि मेची राजमार्गबाट पूर्व मोडिँदा किचकवध आउँछ । मेची नदी किनारको रमणीय स्थानमा किचकवध अवस्थित छ । वर्षमा एकपटक किचकवध मेला लाग्छ । त्यो मेला जाने किशोरअवस्थामा रहर हुन्थ्यो, तर पूरा भएन । एसएलसीपछि मेरो युवाअवस्था झापा बाहिर बित्यो ।

अस्तिको चुनावमा झापा तातेको बेला म सुटुक्क किचकवध पुगेँ । पर्यटन विकासको लागि प्रयासहरु थालिएको त्यहाँ देखेँ । विकास भन्ने बित्तिकै भौतिक संरचना निर्माण गरिहाल्ने हाम्रो परिपाटी छ । किचकवधलाई अग्लो क्रँकिट पर्खालले घेरिदैँ रहेछ । त्यस्तो पुरातात्विक, धार्मिक र रमणीय ठाउँमा जथाभावी संरचनाहरु निर्मााण गर्नु नै हुँदैन । त्यसमाथि पर्खालले घेरेर कस्तो पर्यटन विकास गर्न खोजेको मैले बुझ्न सकिनँ ।

नदी किनारमा अलि उठेको ढिस्को, त्यो ढिस्कोमा रहेको भग्नावशेष, वरिपरि नहरको घेराबन्दीलाई अवलोकन गर्दा किचकवध कुनै सैनिक किल्ला थियो भन्ने अनुमान गर्न सकिन्छ । तर त्यो सैनिक किल्ला कसको थियो ? म आफैं यो प्रश्नले हैरान हुन्छु ।

मेची किनारको यो प्राचीन सैनिक किल्ला महाभारतको कहानीसँग जोडिएर जनश्रुति बनेको छ । महाभारतकालिन भनिने झापा जिल्लामा पोखरीहरु र अन्य ठाउँ पनि छन् । त्यस्तै विराटनगरको रानी बजारभन्दा पूर्वपट्टकिो गाउँमा रहेको एउटा मध्यकालिन भग्नावशेष छ । जसलाई स्थानीयवासीहरु विराट राजाको दरवार भन्छन् । तर नझुक्किनु होला, बिराटनगरको पुरानो नामचाँहि ग्रोगाहा बजार हो । जननायक बीपी कोइरालाका पिताजी खरिदार कृष्णप्रसाद कोइरालाले विराटनगर नाम जुराएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत इतिहासका प्राध्यापक डा. सुरेन्द्र के.सी.लाई एकपटक फुर्सदिलो गफगाफको मौका पाउँदा मैले किचकवध लगायत पूर्वी तराईमा महाभारतकालीन भनिने ठाउँहरुको ऐतिहासिकताबारे सोधेँ । के.सी. सरको जवाफ थियो- पौराणिक कुराहरु अर्थात मिथहरुबाट नै इतिहासको शुरुआत हुन्छ । मैले अझ खोत्लन खोजेँ, तर राजदूत बन्ने चक्करमा लाग्नु भएका के.सी.को कुटनैतिक जवाफबाट म सन्तुष्ट हुन सकिन ।

२०५३ सालतिरको कुरा हो- पूर्वी तराईको महाभारतकालीन भनिने स्थलहरुको अध्ययन उत्खनन् गर्न आएको पुरातत्विक विभागका टोलीका एकजना सदस्यसँग मेरो भेट भएको थियो । मैले ती स्थलहरुको ऐतिहासिकताबारे इतिहासविद डा. के.सी.लाई जस्तै प्रश्न राखेको थिएँ । पुरातत्विदको जवाफ थियो- हामीले यथार्थ कुरा जनमानसमा ल्याउँदा आम मानिसको भावनामा ठेस पुग्न सक्छ ।

लेखक दाहाल

जेहोस्, किचकवध झापा जिल्लामा आउने बाहय पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न सक्छ । तर, त्यस ठाउँलाई सूझबूझपूर्ण तरिकाले प्रवर्द्धन गरिनु पर्छ । पर्यटन विकास गर्नु भनेको बोलबम गए जस्तो हल्का कुरा होइन । अहिलेलाई किचकवधको बारेमा धेरै किचकिच नगरौं होला ।

किचकवध, महाभारत र इतिहास

किचकवधका बारेमा जोसुकैले बताउँछ- यहाँ बिराट राजाको सालो किचक बस्थ्यो । गुप्तबासमा बसेका पाँच पाण्डवका पत्नी द्रौपदीमाथि कृदृष्टि राखेकोले किचकलाई भीमसेनले मार्‍यो । किनकि जनश्रुति हो, त्यसैले सबैलाई थाहा छ । कतिपयले त यसरी बताउँछन् कि साँच्चै उसले आफ्नै आँखाले देखेको थियो । झापाकै बरिष्ठ साहित्यकार कृष्ण धारावासीले किचकवधको सेरोफेरोमा राधा उपन्यास लेखेका छन् । यो उपन्यास नेपाली साहित्यको एउटा उत्कृष्ट कृतिमध्येको एक हो ।

कणर्ाटवंशीले सन १०९७ मा स्थापना गरेको तिरहुत राज्यको केन्द्र सिम्रौनगढ थियो । त्यो समयमा अहिले जस्तो मुलुकको स्पष्ट सीमा कोरिएको हुँदैन थियो । प्राकृतिक सीमाना खासगरी नदीले राज्यलाई छुटयाउँथ्यो । तिरहुत राज्यको प्रभाव पूर्वमा मेची नदीसम्म आइपुगेको हुनसक्छ । सवा दुई सय वर्षपछि सिम्रौनगढ मुसलमान आक्रमणबाट ध्वस्त भएको थियो । हाल बारा जिल्ला पर्ने सिम्रौनगढको भग्नावशेष र किचकवधको ईंटाहरुलाई तुलना गर्दा मैले निकै समानता पाएँ ।

म इतिहासको जानकार त होइन । तर यसै आधारमा किचकवध सम्भवत सिम्रौनगढ राज्यको सैनिक किल्ला हुनुपर्छ भनेर कलेज पढाउने एकजना झापाली भाइलाई मैले सुनाए । ती भाई उदियमान साहित्यकार हुन । निकै उम्दा कथाहरुको संग्रह छापिसकेका छन् । कहिल्यैकाँही भेट हुँदा जिस्केर आन्तोन चेखव भनी बोलाउँछु । ती मेरा चेखव भाइ राधा उपन्यास पढेर यति प्रभावित भएका रहेछन् कि किचकवधलाई साँच्चै महाभारतकालीन भन्ने उनको बुझाई रहेछ ।

महाभारत आफैंमा एउटा मिथकीय ग्रन्थ हो । यद्यपि महाभारतलाई धेरै विद्धानहरुले ईशापूर्व दशौं शताब्दी अर्थात करिब ३ हजार वर्ष अगाडि आसपासको घटना मानेका छन् । यदि झापाका महाभारतकालीन भनिएका स्थलहरुमा शिलालेख, तामपत्र वा ऐतिहासिक तथ्य सावित हुने कुनै त्यस्तो वस्तु भेटिएमा भारतसहित दक्षिण एशियाको इतिहास नै पुनःलेखन गर्नुपर्ने हुन्छ ।

पर्यटनबारे दुईचार तीतामीठा

किचकवधबाट मेची राजमार्ग हुँदै मास्तिर आउँदा चन्द्रगढीमा दुईटा बाटो छुटिन्छ । एउटा चाराली भएर सिधै उत्तर ईलाम लाग्ने, अर्को देउनिया खोला तरेर बिर्तामोड निक्लने । दुबै बाटोको अवस्था बेहाल छ । एशियाली विकास बैंकको ऋण सहयोगमा बिर्तामोड-भद्रपुर सडकलाई बिस्तार र स्तरोन्नति गर्न ठेक्कापट्टा भयो । त्यस्तै भारतीय सहयोगमा चाराली-चन्द्रगढी सडक बनाउन आएको ठेकेदारले मेरै घर अगाडि साइट अफिस खोलेको थियो । ती दुबै ठेकेदार बेपत्ता भए । सडक बनाउनुभन्दा बिगारेर लथालिङ्ग छोडिदिए ।

बजेट श्रोत भएर पनि ठेक्का व्यवस्थापनको कमजोरीले विकास निर्माणमा यस्तो हुनेगरेको छ । सडकको दुरावस्थाले सर्वसाधारणले दुख पाए पछि कन्पारो तात्ने नै भयो । अनि, राजनीतिक दलका नेताहरुले बेस्सरी गाली खाए । घर अगाडिको बेहाल बाटो देखाएर गत चुनावमा काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई मतदाताले हायलकायल पारे ।

अब गाली खाने पालो वामपन्थीहरुको आएको छ । मैले काठमाडौंबाट गएर भोट हालेको उमेम्दवार राम कार्कीले जिते पनि । आसामको हात्ती पनि रोक्ने र मोटर पनि दौडिने मेचीको किनारैकिनार सडक समेत बनाउँछु भनेर चुनावी भाषण गरेका थिए । हाल माननीयज्यू के गर्दैछन् कुन्नी ? नागरिक समाजले सचेत खबरदारी गर्नु जरुरी छ । यसमा पराजित उमेम्दवार विश्वप्रकाशजीको पनि उत्तिकै दायित्व छ । उनले प्रतिपक्षी भूमिका पक्कै निभाउनेछन् ।

पर्यटन विकासका लागि राम्रा सडक र सहज सार्वजनिक यातायात अपरिहार्य कुरा हो । अन्य पूर्वाधारहरु र पर्यटनमैत्री वातावरण पनि चाहिन्छ । अहिलेकै अवस्थामा जरुरी काम नपरी बिर्तामोडबाट दक्षिणतिर कोही पनि जाँदैन । पर्यटक आउनु त टाडा कुरा हो ।

चन्द्रगढी विमानस्थल पर्यटन आगमनका लागि महत्वपूर्ण पूर्वाधार हो । चन्द्रगढी विमानस्थलबाट कोलकात्ता, बंग्लादेश, पूर्वोत्तर भारत, भूटान मध्यम साइजका हवाईजहाजलाई उपयुक्त दुरी हो । ईलाम, पाँचथरमा विमानस्थल बनाउन होडबाजी गर्नु भन्दा झापाको विमानस्थललाई स्तरोन्तति गर्नु बुद्धिमानी हुन्छ । एउटा चालू विमानस्थलको नजीकै मोटरबाटो पुगेको अर्को जिल्लामा विमानस्थल भए पनि व्यवसायिक उडान सफल नहुने रहेछ भन्ने बागलुङ्गको बलेवा एयरपोर्टले देखाइसकेको छ ।

काँकडभित्ता विदेशी पर्यटक आगमनको प्रवेशद्वार हो । पहाडको रानी भनेर विश्वप्रख्यात दार्जीलिङ्गमा लामो समयदेखि गण्डागोल चलिरहेकाले त्यताबाट विदेशी पर्यटकको आगमन अहिले कम छ । तर, यो अवस्था पछि सुधार हुन सक्छ ।

झापामा पर्यटकिय सम्भावना बारे चिन्तनमनन गर्दा मेरो विचारमा झापाको बाँकी बचेखुचेका जंगल केन्दि्रत इकोटुरिज्म चलाउन सकिन्छ । अझै ६ हजार हेक्टर क्षेत्रफल बाँकी रहेको विविध प्राकृतिक विशेषताले युक्त जलथलको जंगल आरक्ष बनाउन अति उपयुक्त छ । जसबाट प्रकृति संरक्षण तथा पर्यटन प्रवर्द्धन दुबै हुन्छ । झापामा वन्यजन्तु आरक्ष बनाउने हो भने हात्तीको उत्पात पनि निकै हदसम्म व्ववस्थापन गर्न सकिन्छ ।

त्यस्तै झापाका आदिवासीहरुको सँस्कृतिलाई पर्यटनसँग जोडन सकिन्छ । सँधै देखिरहेको झापा कै मानिसलाई आदिवासी सँस्कृतिको वास्ता नहोला । हुन त हाम्रा आदिवासी ईष्टमित्रहरु नै आफ्नो संस्कृति छोड्दै गैरहेको छन् । तर, बाहय पर्यटकका लागि नौलो र आकर्षणको विषय हुन्छ । स्थानीय कला सँस्कृति देखाएर पर्यटनबाट आजआर्जन गर्न सकिन्छ । न्यू ईज भ्यू अर्थात नयाँ कुरा हेर्न खोज्ने मानवीय स्वभाव हो । पर्यटन व्यवसाय भनेको नै यही मानवीय स्वभावको आर्थिक पाटो हो ।

बाहय पर्यटक, खासगरी विदेशी पर्यटकले नयाँ कुरा नै हेर्न खोज्छन् । अलिकति अनौठो प्राकृतिक बनावटलाई धार्मिक भावनासँग मिसाएर मिथ जोडिदिए लोकल पर्यटकलाई पुग्छ । अझ सेल्फी हान्ने ठाउँ पाए धेरै चाँहिदैन । तर, नेपालीहरुको आर्थिक-सामाजिक अवस्थासँगै चेतनास्तर उठदै जाँदा रुचि फेरिन सक्छ ।

कन्काई र अन्य ठाउँहरु

चन्द्रगढीबाट पूर्व-पश्चिम राजमार्गमा निस्किए पछि सतासीधाम, कन्काई, अर्जुनधारा जान सकिन्छ । त्यसमध्ये कन्काई नदी चुरे पहाडबाट तराईको समतल मैदान ओर्लिएको ठाउँ दोमुखा र दाँयाबाँया नदी किनारा प्राकृतिक रुपमा निकै सुन्दर छ । नेपालको पूर्वी क्षेत्रमा यस ठाउँले धार्मिक-साँस्कृतिक महत्व राख्छ । तर गुरुयोजना बेगर जथाभावी बनेका संरचनाले यो ठाउँ प्राकृतिक सुन्दरता गुमाउँदैछ ।

कन्काई नदीको पश्चिम किनारमा सुकुम्बासी बस्तीले त नदी नै प्रदूषित भैसकेको छ । गत चुनाव ताका झापामा फनफन्ती घुम्दा कन्काई नदीमा नुहाउन ओर्लिएँ  । कन्काईको पानी पहिला जस्तो सफा रहेनछ । मैले नुहाउन सकिनँ । नदी एकपटक प्रदूषित भैसकेपछि नदीलाई सफा गरेर पहिलाको अवस्थामा ल्याउन निकै खर्चिलो र मेहनत लाग्छ । जसको उदाहरण बागमती हो । झापाली जनताले पनि कन्काई नदीको बारेमा बेलैमा सोच्नुपर्छ ।

जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले सिमसारसहितको वन क्षेत्रलाई घुम्नलायक ठाउँ बनाएको छ । त्यसले आन्तरिक पर्यटक निकै तानिरहेको छ । तर वैज्ञानिक दृष्टिकोणबाट सिमसार संरक्षणको त्यहाँ खासै काम चाँहि भएको छैन । झापा आन्दोलनमा जेल सार्ने निहुँमा सुखानीमा मारिएका शहिदहरुको स्मृतिमा पार्क बनाइएको छ । जंगल क्षेत्रभित्र त्यो पार्कले इकोटुरिज्म अवधारणालाई अँगाल्न खोजेकोले चर्चा पाउन थालेको छ ।

झापा जिल्लाभित्र पर्यटकको रुपमा घुमघाम गर्न लायक अन्य खासै कुराहरु छैनन् । भविश्यमा पर्यटकीय स्थलहरु विकास हुनसक्ने सम्भावनाहरु चाँहि छन् । त्यसका लागि लगानी, योजना र समुदायको तत्परता चाहिन्छ । योजना बनाउँदा कल्पनशील दिमाग लगाउनुपर्छ । जेहोस्, झापा झरझराउँदो छ, अनि मलाई झनै प्यारो ।
अहिलेलाई झापाको बारेमा यत्ति नै ।

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?