
गाईजात्राको मौसम शुरु भइसक्यो । तर, काठमाडौंमा अघिल्ला वर्षजस्तो व्यावसायिक गाईजात्राको रौनक छैन । राणा, पञ्चायतजस्तो कठोर शासनका बेलासमेत वर्षमा एकदिन जसलाई पनि व्यङ्य गर्न पाइने नेपाली परम्पराको विशिष्ट पर्वका रुपमा रहेको गाईजात्रा यसपालि किन सेलायो ? यो प्रश्न भने निकै नै गम्भीर छ ।
यसवर्षको गाईजात्रा सामाजिक, राजनीतिक र कानुनी परिवेशको शिकार भएर रौनकहीन बन्न पुगेको कलाकारहरुको गुनासो छ । त्यसमाथि सरकारले पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै भदौ १ बाट लागु गरेको मुलुकी संहिताले कतिपय व्यैयक्तिक हक सुरक्षित गरेपछि व्यङ्यात्मक विधाका कलाकारहरु त्रसित छन् ।
यसपालि काठमाडौंमा गाइजात्राको रौनक नहुनुको मुख्य कारण हो, कार्यक्रमस्थलको अभाव । नत्र, यतिबेलासम्म हास्यविधाका कलाकारलाई गाईजात्राको निक्कै चटारो भइसक्थ्यो । उनीहरु अन्तिम रिहर्सल, पोशाक, श्रृंगार र संगीतको चाँजोपाँजो मिलाउँदै हल, साउण्ड सिस्टम र टिकट विक्रिजस्ता काममा सरिक भइसकेका हुन्थे । तर, काठमाडौंमा यसपालि त्यस्तो कुनै चहलपहल देखिँदैन ।
मुलुकी संहिताको व्यवस्थापछि व्यङ्यात्मक क्षेत्रका कलाकारले कुन विषयमा कति प्रस्तुति दिन सक्ने भन्ने अन्योल छाएको दीपकराज गिरी बताउँछन् । मनोज गजुरेल भन्छन्– होलसेलमा विकृति नियन्त्रण गर्ने नाममा, हास्य व्यङ्यकर्मीलाई नियन्त्रण गर्ने खतरा देखिन्छ
जमलस्थित राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) मात्र हो, जहाँ यस वर्षको गाईजात्राको कार्यक्रम हुँदैछ । त्यहीँ कार्यरत कलाकार प्रभाकर शर्मासहितको समूहले आ–आफ्नो प्रस्तुतिसहित भदौभरि दर्शकलाई मनोरञ्जन दिँदैछन् । तर, नेपाली हास्यविधाको कलाकारितामा पब्लिक क्रेज बनाएका महजोडी, किरण केसी, शिवहरि पौडेल–मनोज आचार्य, मनोज गजुरेल, दीपकराज–दिपाश्री, दमन–जितु, धुर्मुस–सुन्तलीहरु यसवर्षको गाईजात्रा मञ्चमा देखिँदै छैनन् ।
गत वर्षसम्म उनीहरु ‘तिते–जिरे गाईजात्रा’का नाममा प्रज्ञा भवनको मञ्चमा देखिएका थिए भने अर्को समूह भृकुटीमण्डपस्थित राष्ट्रियसभागृहको मञ्चमा प्रस्तुत हुन्थ्यो । यसपालि भने ती प्रमुख हल उपलब्ध छैनन् ।
प्रज्ञा भवनको हल पुनःनिर्माणका क्रममा भताभुङ छ । राष्ट्रिय सभागृहको हल भाडा नै प्रति शो १ लाख ५० हजार तिर्नुपर्दा घाटाको डरले कलाकाहरु तितरबितर भए ।
त्यसमाथि महजोडी नयाँ चलचित्र ‘दाल, भात, तरकारी’ प्रारम्भिक तयारीमा छन् । उनीसँगै किरण केसी, शिवहरि पौडेलहरु त्यतै व्यस्त छन् । दीपकराज गिरीहरु दशैंमा प्रदर्शनको तयारी भइरहेको चलचित्र ‘छक्कापञ्जा– ३’ को अन्तिम तयारीमा छन् ।

दीपकराज गिरीलाई सांस्कृतिक संस्थानले गाईजात्राका लागि राष्ट्रिय नाचघरको समूहसँग आबद्ध हुन अनुरोध गरेको थियो । तर, आफ्ना दर्शकलाई पुग्दो पार्किङ र सहभागी संख्या उक्त हलले नधान्ने कारण ‘अधकल्चो’ प्रस्तुतिमा रुची देखाएनन् । गिरीले भने, ‘हामीलाई हेर्न चाहने दर्शकको भिडलाई प्रज्ञा भवन र अन्तर्राष्ट्रिय सम्मेलनको हलले मात्रै धान्छ, तर यसपालि ती दुबै हल नपाएपछि कार्यक्रम नै नगर्नेमा पुगेका हौँ ।’
राष्ट्रिय सभागृहले भाडा महंगो लिने, त्यसमाथि सार्वजनिक प्रदर्शनका कार्यक्रमलाई हत्तपत्त हल नदिने कारण यसपालि थकाई मारेको बताउँछन्, कलाकार किरण केसी । उनी अहिले महसञ्चारबाट निर्माण हुन लागेको चलचित्र ‘दाल, भात, तरकारी’ प्रमुख लगानीकर्ता हुन्
त्यसो त गाईजात्रा हेर्ने दर्शकको कमी पनि छ । गिरी भन्छन्, ‘दर्शक नै नभएर गाईजात्रा नगर्ने कुरा भएको त होइन, तर दर्शकका लागि दिने विषयहरु वर्षैभरि सिरियल र फिल्मबाट हामीले दिने गरेका छौँ । त्यसले गाईजात्राको दर्शक संख्या केही न केही घटाएको छ ।’ गिरीले आफ्नो समूहबाट गाईजात्रामा प्रस्तुत हुने अधिकांश कलाकारलाई राष्ट्रिय नाचघरको समूहमा पठाएको बताए ।
हलका कारण गाईजात्राको टुंगो नभएपछि मनोज गजुरेलले त्यही समयमा अन्य स्टेज कार्यक्रमका लागि समय दिइसकेका छन् । अन्यत्र समय दिएपछि नाचघरको टोलीले उनलाई त्यहाँ प्रस्तुतिका लागि अनुरोध गर्यो । तर, त्यसबेलासम्म उनले अरुलाई नै समय दिइसकेका थिए । ‘यसपालि एकदमै आलटाल भयो । अहिलेसम्म गाइजात्राको टुंगो नलाग्नु भनेको अब यसपालि गाइजात्राकै नाममा कतै व्यस्त नहुने नै कुरा हो’, उनले बताए ।
मञ्च प्रस्तुतिको तयारी र त्यसको खर्च व्यवस्थापनलाई टिकट विक्री र प्रयोजकबाट हुने आम्दानीले थेग्ने हो । तर, राष्ट्रिय सभागृहले भाडा नै महंगो लिने, त्यसमाथि सार्वजनिक प्रदर्शनका कार्यक्रमलाई हत्तपत्त हल नदिने कारण यसपालि थकाई मारेको बताउँछन्, कलाकार किरण केसी । उनी अहिले महसञ्चारबाट निर्माण हुन लागेको चलचित्र ‘दाल, भात, तरकारी’ प्रमुख लगानीकर्ता पनि हुन् । ‘फिल्म बनाउने कुराले नै त अड्किएको होइन, तर हल नपाइने, पाइएको हलको खर्च नै बढी भएपछि कलाकारकै पारिश्रमिक सुरक्षित नहुने भएपछि हामी कार्यक्रम नगर्ने निर्णयमा पुग्यौँ ।’

मुख्य कलाकारहरूको व्यस्तताले यीभन्दा पछिल्लो पुस्ताका हास्यविधाका कलाकार, नृत्यांगनासहित प्राविधिकले यसवर्ष क्षति व्यहोर्ने भएका छन् । नत्र, गाईजात्रामा नाचेकै पैसाले कविता गेलालले १८ वर्षदेखि दशैं मनाउँदै आएकी थिइन् । यसपालि त्यो आम्दानी टुटेको छ ।
कलाकारमा ‘सेल्फ सेन्सर ?’
मुलुकी संहिताले पीडित पुरुषको हक सुरक्षित गरेकोमा दीपकराज गिरी उत्साहित देखिए । उनले भने, ‘नत्र, पुरुषले आफूलाई परेको पीडा राख्ने कानुनै थिएन ।’
सरकारले जारी गरेको मुलुकी संहिताको व्यवस्थापछि व्यङ्यात्मक क्षेत्रका कलाकारले कुन विषयमा कति प्रस्तुति दिन सक्ने भन्ने अन्यौलता छाएको दीपकराज गिरी बताउँछन् । ‘विकसित देशको अभ्यासअनुसार यो उचित छ । तर, हामीकहाँ यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्न केही समय लाग्छ’, उनले भने, ‘हामी व्यक्तिको मानमदर्न हुने विषय हत्तपत्त प्रस्तुत गर्दैनौँ, हामी प्रबृत्तिको व्यङ्य गर्दछौँ । त्यसैले हाम्रालाई त्यति अप्ठेरो छैन ।’
मनोरञ्जनकर्मीहरुले मनोरञ्जनका नाममा ऐन, कानुन पालना नगर्नुपर्ने कारण नभएको उनी बताउँछन् । ‘हामी हिजो पनि कानुनी शासनकै पलना गरेर कलाकारिता प्रदर्शन गथ्र्यौं, अहिले पनि गर्नैपर्छ’, उनले बताए । मुलुकी संहिताले पीडित पुरुषको हक सुरक्षित गरेकोमा दीपकराज गिरी उत्साहित देखिए । उनले भने, ‘नत्र, पुरुषले आफूलाई परेको पीडा राख्ने कानुनै थिएन ।’

कलाकार मनोज गजुरेल भन्छन्, ‘होलसेलमा विकृति नियन्त्रण गर्ने नाममा, स्वीकृतिलाई अर्थात् हास्य व्यङ्यकर्मी कलाकारलाई नियन्त्रण गर्ने खतरा देखिन्छ ।’
उनले भने, ‘कानुनको व्याख्या भएको छैन । कार्टुन बनाउन नपाइने, फोटो जोड्न नपाइने, व्यक्तिगत आक्षेप लगाउन नपाइने भन्नेखालको सतही कुरा आएका छन् । सतहमा हेर्दा यो कुरा ठीक हो ।’ तर, यही नाममा व्यङ्य कलाकारिताको दायर संकुचनमा पर्ने खतरा उनले औँल्याए ।
गजुरेल भन्छन्, ‘यो कानुनले हास्य व्यङ्यको धर्म र मर्मलाई प्रहार गर्नेखालको संकेत देखाएको छ । सामाजिक सञ्जालमा छाएका अराजकता, विकृति र विसंगति नियन्त्रण गर्ने नाममा समाजलाई सकारात्मक बाटोतिर लान र विसंगतिलाई संगतितिर लैजान क्रियाशील हास्य व्यङ्यकर्मी पनि यसको शिकार हुने खतरा छ ।’
हास्य कलाकार गजुरेलले कानुनको व्याख्या र कार्यान्वयनको स्थितिप्रति सचेत हुनुपर्ने औँल्याए, ‘कानुन कस्ता मान्छेको हातमा पर्छ भन्ने कुराले यी कुरालाई निर्धारण गर्ने अवस्था छ । सत्तामा बसेका मान्छेहरु स्वाभावतः व्यक्तिगत कुरामा केही समस्या पर्याे भने त्यही कानुनलाई आधार बनाएर व्यङ्यकर्मीमाथि खनिने खतरा छ । त्यसैले यसको शिष्ट र संयमित व्याख्या हुनु जरुरी छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4