Comments Add Comment

काठमाडौंमा राति अबेरसम्म पनि किन भयो जाम ?


५ भदौ, काठमाडौं । काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँमा सवारी जाम निकै भयो । धेरैलाई अच्चम लागेको छ कि ७ बजेसम्म पनि किन यति धेरै जाम ?

यसको खास कारण हो, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । यसअघि राति मात्र खाल्डाखुल्डी पुरिन्थ्यो । तर, भीआईपीहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको छ ।

ट्राफिक प्रहरीका अनुसार मंगलबार दिउँसैदेखि सडक विभागले मुख्य सडकको खाल्डा टालिरहेको छ । सबैतिर खाल्डाखुल्डी पुर्न थालिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । साँझ अबेरसम्म पनि ट्राफिक जाम छ ।

दिउँसोदेखि नै आवागमन सहज नभए पनि बेलुकाको समयमा भने जाम निकै फैलिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । ट्राफिक प्रहरीलाई सडकमा काम गराउँदै ट्राफिक पनि व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।

ट्राफिक प्रहरीका अनुसार ट्राफिक आवागमन सहज हुन राति अबेरसम्म लाग्ने अवस्था छ ।

विशेष गरी चोकहरुमा बढी समस्या देखिएको छ । भित्री सडकहरुमा पनि जाम भएकाले उपत्यकाका सवारी आवागमन अस्तव्यस्त भएको ट्राफिक प्रहरीले बताएको छ ।

आजभोलि सडक विभागका इन्जिनियर र प्राविधिकहरु सडकमा खटिएका छन् । बिमिस्टेक अगाडि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ ।

भदौ १४ र १५ गते हुने बिमिस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

मोदी हिँड्ने बाटोमा तारको लठारो व्यवस्थापन सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment