Comments Add Comment

जति प्रयास गरेपनि किन तौल घटेन ? यी हुन् १० कारण

तपाईंसँग केही प्रश्न गरौं, ‘तपाईंको उचाई कति हो ?’

मानौं जवाफ यस्तो हुनसक्छ, ‘५ फिट ५ इन्च ।’

अर्को प्रश्न, ‘उचाई अनुसार तपाईंको तौल कति हुनुपर्ने हो ?’

जवाफ, ‘सामान्यत ६० वा ६५ केजी ।’

तर, तपाईं विस्मयसाथ भन्नुहुनेछ, ‘७० केजी भन्दा बढी तौल छ, भुँडी पनि लागेको छ । सुगरले च्याप्छ भन्ने डर भइसक्यो । प्रेसर त अलि-अलि बढी नै छ । दौडदा, उप|mदाँ पनि स्वाँ-स्वाँ हुन्छ ।’

अब केही प्रश्नोत्तर गरौं ।

प्रश्न, ‘तौल नियन्त्रणका लागि केही प्रयास गर्नुभएको छ, खानपान नियन्त्रण, व्यायाम ?’

उत्तर, ‘कति गरियो, कति । पेट घटाउनका लागि कति छाक भोकै बसियो । कति पाथी पसिना चुहाइयो । विहान दौडिएँ । जिम धाएँ । तर, मरिगए ज्यान घटेन । जस्ताको तस्तै रह्यो ।’

संभवत तपाईं हार खाइसक्नुभएको छ, तौल नघटेका कारण । जति प्रयास गरेपनि तौल उस्तै रहन्छ । यो तपाईंको टाउको दुखाईको विषय हुनसक्छ । किनभने, मोटोपन अर्थात आवश्यकताभन्दा बढी मोटो हुनु र तौल बढी हुनु भनेको शारीरिक स्वास्थ्यका लागि राम्रो होइन । जब शरीरमा अतिरित्त बोसो पदार्थ जम्मा हुन्छ, तब शरीर मोटाउन थाल्छ । कलेजो लगायतका भित्री अंगमा बोसो जम्न सक्छ । नसामा बोसो जम्न सक्छ । यसले रक्त प्रवाहमा अवरोध ल्याउँछ । मोटोपन बढेपछि नसाहरु साँघुरिन्छ । त्यही कारण रक्तचाप बढ्छ । मोटो भएपछि शारीरिक सक्रियता घट्छ । यसले शरीरलाई रोगको भण्डार बनाइदिन्छ ।

किन घटेन तौल ?

अँ त, तपाईं कहिल्यै घोत्लिनुभएको छ, के कारणले मेरो तौल नियन्त्रण भएन ?

जवाफ, ‘त्यसरी सोचेको छैन । सोच्ने फुर्सद नै कहाँ छ र ? खाना घटाएकै छु, जिम गएकै छु ।’

अब तपाईको तौल नियन्त्रण नहुनुको संभावित कारणहरु खोजौं ।

यस्तो पनि त हुनसक्छ, तपाईं सही ढंगले खाना खानै हुन्न । अर्थात हतारमा छिटो-छिटो गाँस टिप्नुहुन्छ । मुखमा खेलाएर निल्नुहुन्छ । राम्ररी चपाउनुहुन्न ।

जब राम्ररी चपाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठोस खानेकुरालाई मुखमै तरल बनाएर निल्छौं, तब मोटोपन बढ्ने संभावना कम हुन्छ ।

तपाईं गुलियो खानेकुराको सौखिन हुनुहुन्छ भने पनि मोटोपन नियन्त्रणमा समस्या हुन्छ ।

मोटोपन घटाउन धेरैले खानामा कटौती गर्छन् । भोकै बस्छन् । तर, यसले मोटोपन घटाउने होइन, बरु बढाउँछ । अर्को कुरा, खानेकुरा घटाउने चक्करमा हामी खानाको मात्रा भन्दा पनि छाकमा कटौती गर्छौं । तीन वा चार छाकको रुटिन घटाएर दुई वा एक छाक खान्छौं । खाएको बेला पेट चर्कनेगरी खान्छौं । अब एकसाथ भारी खाना पचाउन पाचन यन्त्र सक्षम हुँदैन । अतिरिक्त खाना बोसोमा परिणत हुन्छ । मोटोपन बढ्छ ।

मोटोपन घटाउने काइदा छाकमा कटौती गरेर होइन । खानपानमा कटौती गर्ने होइन । पोषक तत्व आपूर्तिका लागि दिनभरमा हामीलाई पटक-पटक खानेकुराको आवश्यक हुन्छ । त्यसैले खानेकुरा खाइरहनुपर्छ ।

तर, खानेकुराको नाममा जंकफूड, फास्टफूड वा प्रशोधित र बजारमा उपलब्ध तयारी खानेकुरा सेवन गरिन्छ भने, त्यसले पक्कै मोटोपन बढाउँछ । किनभने ति खानेकुरामा पोषक तत्व त हुँदैनन् नै, त्यसले पेटमा अतिरिक्त बोझ थपिदिन्छ ।

तपाईंले यी खानेकुराका लागि चाहि मुखमा ताल्चा लगाउनैपर्छ । मदिरा र मासुजन्य परिकारले मोटोपन बढाउँछ । यो कुरा पनि ख्याल राख्नुपर्छ ।

फलफूल, पानी र सात्विक एवं सुपाच्य खानाले मोटोपन पटक्कै बढाउँदैन ।

तौल नियन्त्रणका लागि प्रोटिनको अहंम भूमिका हुन्छ । प्रोटिन सेवन नगर्दा मेटाबोलिज्म बढ्छ । त्यतीमात्र होइन, प्रोटिनको सेवन गर्दा शरीरमा भोक जगाउने हर्मोन ग्लेरिनको स्राव कम हुन्छ । त्यही कारण हामीलाई कम भोक जाग्छ र अनावश्यक खानेकुरा खाइँदैन ।

कतिपय मानिसमा तौल नियन्त्रण गर्नु यसकारण गाह्रो हुन्छ, उनीहरु जानेर वा नजानेर धेरै क्यालोरी ग्रहण गर्छन । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि त्यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ कि ? सर्तक हुनुपर्छ ।

मोटोपन नियन्त्रण नहुनुमा फाइबरयुक्त खानेकुरा सेवन नगर्नु पनि एउटा कारण हुनसक्छ ।

तपाईंले भन्नुभयो, ‘म मज्जाले एक्सरसाइज गर्छु ।’ तर, कसरी गर्नुहुन्छ ? कुरा त्यो हो । सही ढंगले व्यायाम नगर्दा पनि मोटोपन नियन्त्रण हुँदैन । वा व्यायामको प्रभाव पर्दैन । तौल नियन्त्रणका लागि तपाईले आफ्नो वर्कआउट प्लानमा सबै किसिमको व्यायाम, जस्तो कि योग, कार्डियो, वेट ट्रेनिक सम्मिलित गर्नुपर्छ । शरीरको मेटाबोलिज्म बढाउनका लागि वेट ट्रेनिङ एकदमै फाइदाजनक हुन्छ ।

तपाईं कति घण्टा सुत्नुहुन्छ ? यो प्रश्न तपाईंलाई असान्दर्भिक लाग्न सक्छ । र, भन्नुहोला, ‘मोटोपन घटाउने कुरामा निन्द्राको के नाता ?’

नाता छ नि, पर्याप्त मात्रामा निद्रा नलिदा पनि मोटोपन बढ्ने संभावना रहन्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

पर्याप्त पानी सेवन नगर्दा पनि मोटोपन नियन्त्रण नहुन सक्छ ।

त्यस्तै कतिपय शारीरिक समस्या जस्तो कि, हाइपोथाइराइड, पलिस्टिक आभेरियन सिन्ड्रोम आदिको कारण तौल बढ्छ । यसका साथै केही औषधीको सेवन मोटोपन बढ्छ ।

तौल नियन्त्रण गर्नु एक सुस्त प्रक्रिया हो । तपाईं आजको भोलि नै त्यसको नतिजा खोजेर हार्डवर्क वा कडा श्रम गर्नुहुन्छ, खानामा कटौती गर्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । यो क्रमिक रुपमा हुने लामो प्रक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment