Comments Add Comment

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई ‘व्यवस्थापन बोर्ड’ बनाइँदै


७ भदौ, काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम फेर्ने भएको छ । अब बोर्डको नाम ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।

संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा बोल्दै मन्त्री बिष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्नु नरहेको स्पष्ट पारे । उनले आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै देशभित्रै सम्मानजनक रुपमा श्रम गर्ने वातावरण तयार गर्न सरकार लागि परेको बताए ।

बाध्यता बनेको वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै मन्त्री बिष्टले त्यसलाई व्यवस्थापन गर्ने काम बोर्डमार्फत अघि बढाइने उनले प्रष्ट पारे ।

‘अब आन्तरिक रोजगारी वृद्धिमा हाम्रो जोड हुन्छ । युवाले सकेसम्म स्वदशेमै रोजगारी पाउनुपर्छ,’ उनले भने,’सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न काम सुरु गरेको छ । त्यसैले अब वैदेशिक रोजगारीको प्रवर्द्धन हैन, व्यवस्थापन मात्रै गर्ने हो । त्यसअनुसार बोर्डको नाम नै फेर्न प्रस्ताव गरेको छु ।’

मन्त्री बिष्टले बोर्डको नाम फेर्ने गरी संशोधन प्रस्ताव अघि बढेको बताए । उनले बोर्डको काम र भूमिकालाई प्रभावकारी बनाउन मन्त्रालय लागेको बताए ।

प्रवर्द्धन बोर्डले हाल वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका परिवार र अंगभंग भएकाहरुलाई क्षतिपूर्ति दिलाउने लगायतका काम गरिरहेको छ । उसले वैदेशिक रोजगार गन्तब्यहरुको प्रवर्द्धन र वैदेशिक रोजगारीबारे सचेतना फैलाउनेको पनि जिम्मा पाएको छ ।

तर, काम प्रभावकारी ढंगले नहुँदा वैदेशिक रोजगारीको क्षेत्र डामाडोल अवस्थामा छ । मन्त्री बिष्टले अब यसलाई विदेश जान प्रोत्साहन गर्ने भन्दा पनि जान बाब्य भएकाहरुको समस्या व्यवस्थापन गर्ने बोर्डका रुपमा रुपान्तरण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment