+
+

कांग्रेसको बैठक बस्न सकेन : विधान मस्यौदा समितिमै अल्झिए नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते ०:३०
फाइल तस्वीर

८ भदौ, काठमाडौं । विधान मस्यौदा समितिको सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन । विहान ११ बजे बोलाइएको बैठकका लागि पार्टी कार्यालय पुगेका नेताहरु दिनभर गफ गरेर अपराहृन चार बजे फर्किए ।

पदाधिकारी र केही प्रभावशाली नेताहरु भने दिनभर जस्तै अनौपचारिक कुराकानीमा थिए । स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समितिमा एकलौटी गरेको आरोप लगाए । ९ सदस्यीय समिति बनाउने भनिएपनि सभापति शेरबहादुर देउवाले ११ सदस्यीय बनाएकोमा उनको आपत्ति थियो ।

देउवा समूहका नेताहरु भने पौडेल समूहको भागमा परेको चार सदस्यमा खसआर्य पुरुष मात्र सिफारिस भएकाले सभापतिले भनेर नै दुई जना थपेर समावेशी बनाएको दाबी गर्छन् ।

केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन कांग्रेसले ११ सदस्यीय विधान मस्यौदा समिति बनाएको छ, जहाँ देउवा समूहका ७ र पौडेल समूहका ४ जना छन् ।

पौडेलको अर्को माग थियो, जिल्ला सभापतिहरुलाई पनि मस्यौदा समितिमा राख्नुपर्‍यो ।

अहिले जिल्ला सभापतिहरुलाई आमन्त्रित सदस्यका रुपमा मात्र राखिएको छ । तर, बैठकमा पौडेलले दुई जिल्ला सभापतिलाई समितिमा राख्नुपर्ने माग गरेका छन् । पौडेलले जिल्ला सभापतिहरुको सेन्टिमेन्ट बटुल्न खोजेपछि देउवाले पनि जिल्ला सभापतिहरुलाई राखौं भनेका थिए । तर, अरु नेताले भ्रातृ संगठनहरुले पनि भाग खोजे अप्ठ्यारो अवस्था आउनेतर्फ सचेत गराएका छन् ।

एक नेताका अनुसार छलफलमा महासमिति बैठकको मितिबारे पनि छलफल भएको थियो । पार्टी सभापति देउवा जसरी भए पनि भदौ मसान्तमै महासमिति बैठक बोलाउने पक्षमा छन् । तर, पूर्वमहामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले भने समय नपुग्ने भन्दै छठपछि गर्नु उपयुक्त हुने धारणा राखेका छन् ।

शीर्ष नेताहरुको छलफलपछि अपराहृन ४ बजेतिर केन्दीय समिति वैठक स्थागित भएको सूचना दिइयो ।

‘विधान मस्यौदा समितिसँगै राजनीतिक प्रस्ताव, संगाठनिक प्रस्ताव, पार्टीको अर्थ नीति, अनुशासन समिति, कार्यसम्पादन समितिका सन्र्दभमा समेत अनापचारिक छलफल गरेर औपचारिक वैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार पदाधिकारीको छलफल चल्यो’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘सभापति देउवा र वरिष्ठ नेताको पूर्वनिर्धारित कार्यक्रमहरु भएकाले केन्दीय कार्यसमिति वैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।’

केसी भन्छन् : क्रियाशील सदस्यतामा पनि विवाद भो

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीमा क्रियाशील सदस्यतामा पनि विवाद रहेको बताएका छन् । अहिले जिल्ला जिल्लामा क्रियाशील सदस्यता नवीकरण चलिरहेको छ । तर, सभापति देउवाकै हस्ताक्षर राखेर नयाँ क्रियाशील सदस्यता वितरण भइरहेको खबरहरु आएको पौडेल समूहको दाबी छ ।

आगामी महाधिवेशनमा आफ्नो जित निश्चित गराउन नेतृत्व क्रियाशिल सदस्यता वितरणमा केन्दि्रत भएको नेता केसीले बताए । ‘पार्टीभित्र कसैको आग्रह पुर्वाग्रहले कसैलाई पनि क्रियाशील सदस्य हुनबाट रोक्न पाइँदैन भन्ने हाम्रो दृष्टिकोण हो’ केसी भन्छन्, तर कतिपय ठाउँमा चुनावमा सहयोग नगरेकोले सकृय सदस्यता दिन सकिँदैन भनेर पक्षपातपूर्ण ढङ्गले रोक्ने कार्य भएका सुन्नमा आएका छन् । त्यो कुरा हामी स्वीकार गर्न सक्दैनौं ।’

बागी उम्मेदवार, उसका प्रस्तावक/सर्मथक, पार्टी छाडेकाहरु बाहेक अरुको क्रियाशील सदस्यता नविकरण हुनुपर्ने उनले बताए । नेता केसीले अघि भने, ‘१३ औँ महाअधिवेशको बेला क्रियाशील सदस्यता वितरणको विषयमा विवाद हुँदा १४ औँ अधिवेशनमा सबैलाई सक्रियता सदस्यता दिने भनिएको थियो ।’

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानका लागि समिति नै बन्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?