Comments Add Comment

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भने : जनतालाई करको मारमा पार्दैनौं

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् ।

नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनतालाई मारमा पार्ने गरी कर नलिएको बताए । घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भए पनि सरकारले गत वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो पनि गरे । उनले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको बताइन् । उनले जनतालाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रित रहेको पनि दावी गरिन् ।

वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले जनतालाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गरिन् । उनले जनतालाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पनि पार्टी नेतृत्वलाई जानकारी गराइन् ।

रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार सञ्चालन ऐनअनुसार कर लिएको दावी गरे । उनले जनताले दिएको सुझावको आधारमा करसम्बन्धी कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

सोमबार कांग्रेस पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment