Comments Add Comment

ओलीको स्वीकारोक्ति : सार्कलाई सक्रिय बनाउन सकिएन, बिमस्टेक पनि प्रभावकारी भएन

११ भदौ, काठमाडौं । विमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कलाई सक्रिया गराउन नसकेकाले यो क्षेत्रीय फोरमलाई नेपालको हितमा प्रयोग गर्नुपरेको बताएका छन् ।

तर, विगत २० वर्षको जस्तो तरिकाले बिमस्टेक अघि बढ्न नसक्ने भएकाले यसलाई गति दिनुपर्ने ओलीको भनाइ छ । यद्यपि हामीले सार्कलाई पनि पुनर्जागि्रत गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

सोमबार बालुवाटारस्थित सरकारीनिवासमा प्रधानमन्त्री ओली सार्क र बिमस्टेकका विषयमा यसरी प्रस्तुत भए-

अहिले हामी साथीहरु, मित्रहरुसमेतको सहयोगमा देशमा विकासलाई अगाडि बढाउन चाहन्छौं र समृद्ध नेपाल, सुखी नेपाली बनाउन चाहन्छौं । यस प्रशंगमा हाम्रो क्षेत्रीय संगठन सार्क सक्रिय र प्रभावकारी हुनुपर्थ्यो तर हुन सकेन । विभिन्न कारणले सोचेजस्तो एक्टिभ भएन । हाम्रोसमेत संलग्नतामा बनेको क्षेत्रीय संगठन हो त्यो । हामी अध्यक्ष भएकै बेला हामीले त्यसलाई सक्रिय बनाउन सकेका छैनौं । किनभने, हाम्रोमात्रै प्रयासले त्यो अगाडि बढ्न सकेन ।

मैले गत वर्ष पनि म सरकारमा हुँदा पनि, नहुँदा पनि, म भारत भ्रमणमा जाँदा पनि मोदीजी नेपाल भ्रमणमा आउँदा पनि तपाईहरुले औपचारिक भाषणमा पनि वक्तव्यहरुमा पनि देख्नुभएको छ कि सार्कलाई हामीले गतिशील बनाउनुपर्छ ।

संस्थाहरु कहिले-कहिले बढी योगदान गर्न सक्छन्, कहिले अलिकति कम योगदान गर्न सक्छन् । कहिले बढी गतिशील हुन्छन्, कहिले अलिकति धीमा हुन्छन् । तर, ती संस्थाहरुले हामीलाई एउटा फोरम दिन्छन् । असमझदारीहरु एकठाउँ भेटेर कुरा गरेरपछि घटाउनलाई मद्दत पुग्छ ।

कारणहरु अनेक होलान् । सार्क हामीले सोचेजति प्रभावकारी ढंगले अगाडि बढ्न सकेन । जसरी अगाडि बढ्नुपथ्र्यो, त्यसरी अगाडि बढ्न सकेन । अरु क्षेत्रीय संगठनहरु जसरी प्रभावकारीरुपमा अगाडि बढे, सार्क त्यसरी बढ्न सकेन । त्यो एक ढंगले सिथिल भयो । अहिले समिट हुन नसकेर बसेको छ । कारण सबै हामीलाई थाहा छ ।

यस स्थितिमा हामी भनिरहेका छौं, सार्कलाई पुनर्जिवन दिएर गतिशहील बनाउनुपर्छ र यसबाट हामीले क्षेत्रीय सहयोगलाई अगाडि बढाउनुपर्छ ।

कुनै समयमा युद्धहरु भइराखेका हुन्छन् । तर, पनि वार्ताबाट टुंगिन्छ । देशका वीचमा लडाइँहरु भैराखेका हुन्छन् । त्यो वार्ताबाट टुंगिन्छ । लडाइँ भयो भने पनि वार्ताबाट टुंगिन्छ, सम्वादबाट टुंगिन्छ भने लडाइँ नभएको र तनावमात्रै भएको अलिकति कटूता भएको वा कहिले कहिले झडप भएका छन् भने पनि ती भ्रमणहरुको आदान-प्रदान भेटघाट र वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ । त्यसकारण हामीले सार्क कायम रहनुपर्छ र सार्कलाई गति दिनु राम्रो हुन्छ भनेर कोशिस गरिरहेका छौं । हाम्रो धारणा यही हो कि सार्कलाई गति दिनुपर्छ ।

बिमस्टेकलाई गति दिने कुरामा अरुको पनि सहमति नै छ । एउटा भएन भने पनि अर्कोलाई गति दिएर भए पनि हामीले क्षेत्रीय सहयोग, क्षेत्रीय संगठन अगाडि बढाउनुपर्छ । युरोप त्यति महत्वपूर्ण ढंगले आएको छ । यता आसियनहरु संगठित बाटोबाट विकासमा साझेदारी गरिराखेका छन् । हामी पनि त्यसैगरी बिमस्टेकलाई एउटा त्यस्तो फोरमका रुपमा अगाडि बढाउन सक्छौं ।

अहिले हामीले चार/पाँचवटा विषयहरुमा छलफल गर्दैछौंं । कनेक्टिभिटीका कुरा, गरिबी निवारणका कुराहरु अगाडि बढाउने सहमति भएका छन् । उर्जा लगायतका विभिन्न विषयहरुलाई एजेण्डा बनाएर अलिकति ठोस रुपमा मैले यसमा अलिकति जोड गरेको के हो भने यसलाई कर्मकाण्डीरुपमा नलैजाऔं । अब २० वर्षको बिमस्टेकको इतिहासलाई निरन्तरता दिने होइन ।

सार्क गतिशील नभइरहेका बेला अर्को संगठनलाई पनि त्यस्तै सिथिल बन्न दिनुहुँदैन, जस्तो अहिले बिमस्टेक छ । हिजो २० वर्ष बिमस्टेक प्रभावकारी र गतिशील हुन सकेन । यसलाई अब गतिशील र प्रभावकारी बनाउनुपर्छ । खास गरी विकासका क्षेत्रमा साझेदारी गर्ने र कनेक्टिभीटी विस्तार गर्ने र नेपाल, भुटान बंगलादेश र भारतसँग जोडिएका वातावरणीय प्रश्नमा पनि यो संगठन बढी सम्वेदनशील हुनुपर्छ ।

मौसमको कारणले पनि अहिले बिमस्टेक सम्मेलन गर्न नसकेको भए एक वर्ष ढीलो हुन सक्थ्यो । अहिले पनि भुटानका लागि त्यति उपयुक्त समय भएन । सेख हसिनाले अस्ति खबर पठाउनुभयो कि म त आउन नसक्ने भएँ, चुनावले एकदमै साह्रो भयो । मैले फोन गरेर विशेष आग्रह गरें । तपाई आउनैपर्छ । बरु छोटो समय लिएर अघिल्लो दिन आउनोस्, भोलिपल्ट छिटै सकौंला, अनि हिँडिहाल्नुहोला भनेर सम्झाएपछि उहाँले नाई भन्न नसकेर बडो मुस्किलले हुन्छ भन्नुभयो ।

उहाँहरुको चुनाव आउँदैछ । त्यसपछि भारतको चुनाव हुन्छ । त्यसको प्रभाव एक वर्षसम्म पर्छ । त्यो गर्दा अर्को मंसिरतिर गर्ने हो भने सवा वर्ष पछाडि जान्छ र बमिस्टेक सम्मेलन २०१९ मा नभएर २० तिर धकेलिने हो कि भन्ने समस्या थियो । यो धेरैवटा देशका राष्ट्र प्रमुख/सरकार प्रमुखहरुको समय मिलाउन सजिलो छैन । त्यसैले सबैलाई मिलाउनका लागि हामीले अहिले नै यो अगष्टमा गर्ने निर्णय गरेका हौं । अब यो आइ नै सक्यो । यसलाई भव्यताका साथ सफल पार्नुपर्छ । यसमा हाम्रो भूमिका र उपस्थिति अर्थपूर्ण हुन्छ ।

अरु देशहरु हामीभन्दा अगाडि पुगिसके, सहकार्य हामीलाई चाहिएको छ । हामी पछाडि छौं । जो पछाडि छ, उसले छिटो कुद्नुपर्ने हुन्छ । त्यसकारण यस्तो को-अपरेटिभको अनुभति र अभ्यास हामीलाई चाहिएको छ । त्यसकारण यसमा हामी चियर भएर मात्रै होइन, हाम्रो राष्ट्रिय आवश्यकता अनुसार यसलाई अगाडि बढाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment