+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गौरा पर्व किन र कसरी मनाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १०:१४

१८ भदौ, कैलाली । धनगढी उपमहानगरपालिका-५ की भुवनेश्वरी चैसिर तीन दिनदेखि व्रत बसेकी थिइन् । पञ्चमीदेखि गौरा पर्व सुरु भएपछि सप्तमीसम्मका लागि उनी उपवास बसेकी हुन् ।

‘गौरा-महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुन्छ’, व्रतालु भुवनेश्वरीले भनिन्, ‘अपुतलाई पुत, पुत्र, सुखी जीवन प्राप्त हुने हाम्रो परम्परागत विश्वास छ ।’

प्रदेश नम्बर ७ मा दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ । यहि विश्वासले यो प्रदेशभरीसप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेको छन् ।

तीन दिनसम्म व्रत बस्नु परम्परा र पहिल्यैदेखि चलिएको मौलिक संस्कृति रहेको तारानगरकै सरस्वती कार्कीले बताइन् । ‘घरमा जूठोे परेकाले यो वर्ष मैले व्रत राखेकी छैन’, उनले अगाडि भनिन्, ‘तर, सप्तमीमा गौरा माताको गरिने पूजापाठको रमाइलो हेर्न गौरा घर रहेको मन्दिरसम्म पुगेकी छु ।’

व्रतालु महिलाले यहाँको वनदेवी मन्दिरमा स्थापना गरिएको गौरा घरमा सप्तमीका दिन गौरा राखेर पूजापाठ गरेका छन् । वैदिक विधि अनुसार गौरा माताको व्रत बसी पूजापाठ गरेमा सन्तान, सुख, दीर्घायु प्राप्त हुने गरेको मन्दिरका सहायक पुजारी खेमराज अवस्थी बताउँछन् । ‘यो पर्वमा सौभाग्य प्राप्तिका लागि गौरा पार्वती माताको पूजन गरिन्छ’, उनले भने ।

भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्वलाई यो क्षेत्रका महिलाहरुले माङ्गलिक कामना गर्दै मनाउने गरेका छन् । यो प्रदेशको पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो, गौरा । बसाइँ सरेर तराई झरेकाहरुले तराईमा पनि गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।

यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले धुमधामसँग मनाउने गरेको व्रतालु महिलाहरुको भनाइ छ । गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको भुवनेश्वरीले उल्लेख गरिन् ।

‘त्यसैले यो पर्व मनाउनका लागि देश विदेश गएकाहरु पनि आ-आफ्नो गाउँघर आउने गरेका छन्’, उनले भनिन् ।

पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई नै मुख्य हो । यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ । गौरा पर्वलाई पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाउने गरिएको छ । गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो । तर, आज भोलि पुरुषहरुको पनि उत्तिकै सहभागीता पाइन्छ । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वमा गौरा-महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको जानकार मनिराज जोशीले बताए ।

पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात षष्ठीका दिन गेंडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ ।

सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका विरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी विरुवालाई नवदूर्गाको प्रतिकको रुपमा लिने गरेको संस्कृतिविद् एवम् साहित्यकार पदमराज जोशीले बताए । यसैलाई गौरा भन्ने गरिन्छ ।

व्रतालु महिलाले डालोमा राखेर फाग गीत/गाउँदै गौरालाई नचाउने चलन छ । उनीहरुले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याइ पूजापाठ गर्ने गर्दछन् । विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ । ‘गौरा चारदिनसम्म मनाइए पनि रमाउनका लागि केहि दिन लम्ब्याएर पनि देउडा खेल्ने गरिन्छ’, साहित्यकार जोशीले भने ।

गौरालाई महिलाहरुले गौरा-महादेवको विवाहोत्सवको रुपमा पनि मान्ने गरेको जानकार मनिराज जोशीको धारणा छ । उनले गौरा सेलाएको अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको बताए ।

जोशीले भने, ‘यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ । कुनै भेदभाव बिना नै यस क्षेत्रका बासिन्दाहरु देउडा खेल्दै रमाउने गरेका छन् ।’

महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ । देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषय वस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ । युवा पुस्ताले माया प्रेममा आधारित गीत गाएर पनि देउडामा खेल्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?