Comments Add Comment

सेता डाक्टरका १० धन्दा !

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी अस्पतालहरु हड्ताल गरिएका छन् । तर, तिनै सरकारी अस्पतालमा दरबन्दी भएका डाक्टरहरुले निजी अस्पतालमा धमाधम बिरामी जाँचिरहेका, अपरेशन गरिरहेका छन् । नयाँ मुलुकी ऐनमा डाक्टरहरुले उपचारमा लापर्वाही गरेमा तिनीहरलाई कारवाही गर्ने प्रावधान ल्याइएपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो मुलुकमा तीनवटा पेशाका मान्छेले आफूलाई निकै अब्बल, कसैले छुनै नहुने, अरु भन्दा श्रेष्ठ, एक प्रकारले भन्ने हो भने कुनै पनि कानुनले छुनै हुन्न भन्ने खालका व्यवहार प्रदर्शन गर्दै आएका छन् । ती हुन्, डाक्टर, वकिल र पत्रकार ।

गलत फैसला गरेमा बरु न्यायाधीशमाथि कारवाही भएका कैयौं उदाहरण छन् । भ्रष्टाचार प्रमाणित भएर जेल गएका नेता, कर्मचारी, प्रहरीका उच्च अधिकारीका धेरै उदाहरण छन् । तर, गलत मुद्दा लड्ने, गलत प्रमाण पेश गर्ने वकिलहरुलाई कारवाही गरिएको वा उनीहरुको लाइसेन्स खारेज गरिएको समाचार सुन्न पाइएको छैन । गलत समाचार, एक प्रकारले पूरापूर पहेंलो पत्रकारिता गर्ने पत्रकारहरुलाई पनि कुनै कारवाही भएको सुन्न पाइएको छैन । उनीहरुले खण्डन छापेर उन्मुक्ति पाएका छन् । उनीहरु बेलाबेलामा आफूलाई असनका साँढेको रुपमा प्रस्तुत गर्दछन् ।

डाक्टरको लापरवाहीका कारणले धेरै विरामीले अकालमा ज्यान गुमाउनु परेको छ । उनीहरुलाई पनि कारवाही गरिएका समाचार त्यति पढ्न पाईंदैन । संयोगले अहिले पत्रकार र डाक्टर आन्दोलनमा उत्रिएका छन् । यो लेखमा डाक्टरहरुको आन्दोलनको होइन, डाक्टरी पेशामा फैलिएका विकृतिहरुका बारेमा उल्लेख गर्न खोजिएको छ ।

डाक्टरी पेशालाई समाजमा धेरै सम्मानित पेशाका रुपमा लिइन्छ । तर, यसभित्र मौलाएका विकृतिहरुलाई केलाउने हो भने सेतो कोट लगाएर कैयौं काला धन्दाहरु मौलाएका छन् । ती धन्दाहरु अपवादको रुपमा होइन कि पेशाको रुपमा फैलिएका छन् । यो लेखमा ती धन्दाहरुलाई केलाउने प्रयास गरिएको छ ।

गलत धन्दाहरुलाई हटाएर डाक्टरी पेशालाई मर्यादित बनाउनु आवश्यक छ । डाक्टरहरुले के कति कालो धन्दा गरिरहेका छन् र त्यसबाट जनताको स्वास्थ्यमाथि कति ठूलो खेलवाड भइरहेको छ ? यो जान्न पाउने सबैको अधिकार हो ।

धन्दा नम्बर १: दुर्गममा जानै नमान्ने

सरकारले सयौं डाक्टरहरुलाई गाउँका वा दुर्गमका अस्पतालहरुमा दरबन्दीसहित खटाएको छ । त्यसवापत सेवासुविधा पनि दिएको छ । तर सरकारी दरबन्दीमा रहेका डाक्टरहरु दुर्गमका जिल्ला वा गाउँहरुमा उपचारको रुपमा जानै मान्दैनन् वा गए पनि थोरै समय बस्छन् । कि विदा हालेर बस्छन्, कि सरुवा मिलाइहाल्छन् । यिनीहरुको पहिलो धन्दा यहींबाट सुरु हुन्छ ।

डाक्टर गोविन्द केसीको आन्दोलनलाई साथ दिएर सरकारी अस्पतालका डाक्टरहरुले हड्ताल गर्नुको प्रमुख कारण यही थियो । गोविन्द केसीले ४ वर्षे सेवा अवधिलाई घटाएर एक वर्ष बनाउने माग अगाडि सारेका थिए र सम्झौतामा पनि जम्मा दुई वर्षे बनाइयो । सरकारी छात्रवृत्तिमा पढ्ने, तर गरिब जनताको सेवा गर्न जाँदै नजाने प्रवृत्ति नयाँ होइन । डाक्टरहरु दुर्गममा नगएकै कारण लाखौं विरामीले उपचार पाउन सकेका छैनन् । यो डाक्टरहरुबाट सिर्जना गरिएको वितण्डा हो ।

दरबन्दी भएर पनि जानै नमान्ने, भएभरको सोर्सफोर्स लगाएर सहरमै बस्ने रोग क्यान्सरको रुपमा डाक्टरी पेशामा बढ्दो छ । डाक्टरहरुले लाखौं जनतालाई सेवा नदिएर अपराध नै गरिरहेका छन् । डाक्टरहरु किन दुर्गममा जान मान्दैनन् ? त्यहीकारण दुर्गमका कति विरामी सेवाबाट बञ्चित छन्, कतिले ज्यान गुमाउनु परेको छ भन्ने कुरा तथ्यसहित प्रकाशन हुने हो भने धेरै कुरा प्रष्ट हुने थियो । तर, दिलोज्यानले दुर्गममा बसेर विरामीको सेवा गरेका केही डाक्टरहरुलाई यो लेखले कुनै असर नगरोस्, म उहाँहरुसित क्षमा माग्न चाहन्छु ।

धन्दा नम्बर २: पूरा समय डिउटी नगर्ने

सरकारी अस्पतालमा धेरै डाक्टरहरुले पूरा समय डिउटी गर्ने गर्दैनन् । केही महिना पहिलेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म ओपीडीमा विरामी जाँच्ने गरिन्थ्यो भने आजभोलि ४ बजेसम्म बिरामी जाँच्नुपर्ने नियम बनाइएको छ । तर, डाक्टरहरुले पूरा अवधि बिरामी जाँच्ने गर्दैनन् । उनीहरुले सरकारी अस्पतालमा सेवा गर्नुपर्ने समयमा निजी अस्पताल वा क्लिनिकमा समय दिइरहेका हुन्छन् । पहिले उनीहरुले २ बजेसम्म पनि पूरा समय सेवा गर्दैनथे भने ४ बजेसम्म गराएपछि पूरा समय बिरामी जाँच्ने कुरा त लागु भएकै छैन ।

सरकारी कार्यालयमा बरु ५ बजेसम्म कर्मचारी भेटिएलान्, तर अस्पतालमा डाक्टर भेट्न मुस्किल पर्छ । केही डाक्टरहरु त दिउसो खाजा खाने समयमा पनि निजी क्लिनिकमा गएर बिरामी जाँचेर आउने गर्दछन् । उनीहरुलाई खाजाको भोक होइन कि पैसाको भोक लाग्ने गर्दछ र खाजा खाने समयमा पनि निजी क्लिनिकमा जान्छन् । अचम्म मान्नुपर्ने कुरा त के छ भने खाजा खान पनि नपरेपछि उनीहरुलाई पैसा चाहिँ किन चाहिन्छ ?डाक्टरहरुले पूरा समय डिउटी नगरेको कारण सरकारी अस्पतालप्रतिको जनताको विश्वासलाई घटाएको छ ।

धन्दा नम्बर ३ः सरकारी अस्पतालबाट विरामी रेफर

गाउँमा नगएका डाक्टरहरु सहरमा बस्छन् । उनीहरु गाउँमा त गएनन् नै । सहरमा रहेका सरकारी अस्पतालमा पनि राम्रोसित विरामी जाँच्दैनन् । उनीहरुले निजी अस्पताल वा क्लिनिकमा नै अधिकांश समय विताउने गर्दछन् ।

त्यति मात्रै होइन, सरकारी अस्पतालमा गएका विरामीहरुलाई निजी अस्पताल र क्लिनिकहरुमा रेफर गरिदिन्छन् । त्यसरी सरकारी अस्पतालमा सेवा लिन गएका बिरामीहरु बाध्य भएर निजी अस्पतालमा जान्छन् । डाक्टरहरुमा मौलाएको यो सबैभन्दा ठूलो धन्दा हो । यो धन्दाबाट सरकारी अस्पतालका धेरै डाक्टर अछुतो छैनन् । यो धन्दाको कारणले जनताको सरकारी अस्पतालप्रतिको विश्वास घट्दो छ भने बिरामी निजी अस्पतालमा धाउन र चर्काे शुल्क तिर्न बाध्य छन् ।

निजी अस्पतालले घरखेत गरिदिएका केही समाचार त आउँछन् । तर, समाचारमा नआएका, घरखेत गरिदिएका विरामी हजारौंको संख्यामा छन् भन्ने कुरा अनुमान गर्न गाह्रो पर्दैन । यो एउटा अनुसन्धानको विषय हो भने गरिब जनताका लागि कहालीलाग्दो अवस्था हो ।

दुर्गममा नगए पनि सुगमका अस्पतालमा बसेर राम्रो उपचार गरे हुने हो भन्ने सबैलाई लाग्न सक्छ । तर, उनीहरु सुगममा बसेको पनि विरामीलाई सहीप्रकारबाट सरकारी अस्पतालबाटै सेवा दिनको लागि होइन, सरकारी अस्पताल दरबन्दीमा बसेर निजी अस्पताल वा क्लििनकबाट कमाउ धन्दामा लाग्नको लागि हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

धन्दा नम्बर ४ः दुई मिनेटमा ५ सय कमाइ

निजी अस्पतालमा पनि एउटै डाक्टरले एक दिनमा २ सयसम्म बिरामी जाँचेका कैयौं उदाहरण भेटिन्छन् । तिनै डाक्टरले सरकारी अस्पतालमा विरामी नहेर्ने अनि निजीमा पनि राम्रोसित नहेर्ने कुरा ठूलो रोग बनेको छ । उनीहरुले आफ्नो २–३ मिनेटको समयमा विरामीको अनुहार पनि राम्रोसित नहेरीकनै ल्याब टेस्ट र औषधिको प्रेस्कृप्सन लेख्न हतारो भइसक्छ । अहिले निजी अस्पतालमा कम्तीमा पनि ५ सय रुपैयाँ लिइन्छ । ५ सय रुपैयाँ लिएर ५ मिनेट पनि विरामीलाई समय दिइन्न ।

डाक्टर साबहरु, एक सय रुपैयाँको एक मिनेट समय बिरामीका लागि छुट्याउनुपर्दैन ? त्यसो गर्दा ५ सय रुपैयाँको ५ मिनेट हुन आउँछ । ती डाक्टरहरुलाई २ मिनेटमा ५ सय रुपैयाँ किन कमाउनुपरेको हो ? डाक्टरी पेशा २ मिनेटमा ५ सय कमाउने पेशा होइन । तर कैयौं निजी अस्पतालमा पनि त्यही धन्दा चलिरहेका छ ।

यसै विषयमा मैले केही वर्ष पहिले बुटवलका एक चर्चित डाक्टरलाई खुलापत्र नै लेखेको थिएँ । उनले एक दिनमा कम्तिमा पनि २ सय विरामी आजभोलि पनि हेर्ने गर्दछन् । नेपालगञ्ज, चितवन, विराटनगर, झापा, वीरगञ्ज, बुटवल, दाङ, धनगढीजस्ता ठूला सहरका अलि चर्चा पाएका डाक्टरहरुको मुख्य समस्या यही नै देखिएको छ ।

धन्दा नम्बर ५ः लिंग पहिचान गरेर भू्रणहत्या

आज स्त्री भ्रुणहत्याले भयावह रुप लिएको छ । एक सयमा ५९ छोरा जन्मिँदा ४१ छोरी जन्मिएको भनेर समाचार आइरहेका छन् । काठमाडौंको थापाथली प्रसुती गृहको तथ्यांक पनि त्यस्तै खालको छ । छोराछोरी जन्मिने असमान रुप लिनुमा प्रमुखरुपमा डाक्टरहरु नै दोषी छन् । कानुनले कुनै पनि अवस्थामा पेटभित्रको बच्चाको लिंग पहिचान गर्न दिँदैन । झन् लिंग पहिचान गरेर भ्रुणहत्या गर्नु त अपराध नै हो । तर, यो सब डाक्टरहरुकै कारण भइरहेको छ । निजी अस्पतालका धेरै डाक्टरहरु यही धन्दामा छन् । तिनै डाक्टरले सरकारी अस्पतालमा पेटमा बच्चाको लिंग बताइदिन्नन् । उनीहरु सरकारी अस्पतालमा झण्डै पूरापूर इमान्दारी देखाउँछन् । तर, जब तिनै डाक्टरहरु निजी अस्पतालमा आउँछन्, उनीहरुको धन्दा सुरु भइहाल्छ । त्यसवापत उनीहरुले अकूत पैसा लिइरहेका छन् ।

एकातिर यो अपराधिक कार्य हो भने अर्काेतिर ठूलो कमाउ धन्दा । यसले देशको जनसंख्याको सन्तुलनमा नै बाधा पुग्ने सम्भावना देखाएको छ । पहिले जन्मिएपछि छोरीमाथि विभेद हुन्थ्यो भने अहिले छोरीलाई जन्मिनै नदिने धन्दा सुरु भएको छ । डाक्टरहरु यस्ता कार्यमा सामेल हुनु दुखद कुरा हो ।

धन्दा नम्बर ६ः औषधिमा कमिसन

डाक्टरहरुले कुन विरामीका लागि कुन औषधि चलाउनुपर्छ भन्ने कुरा हामीले यहाँ भन्न सक्दैनौं । किनभने त्यो विरामीको अवस्था र उनीहरुको विवेकको कुरा हो । तर, डाक्टरहरुलाई धेरै आरोप आउने गर्दछ कि उनीहरुले प्रायोजित कम्पनीका औषधिहरु चलाउने गर्दछन् । उनीहरुले कुनै निश्चित पसलमा पाइने औषधि सिफारिस गर्छन्, एक प्रकारले भन्ने हो भने त्यहीँका मान्छेले बुझिने अक्षर लेख्ने गर्दछन् ।

आमरुपमा डाक्टरहरुले किन नराम्रा अक्षर लेख्छन् ? त्यसो हुनुको कारण के हो ? अब्बल क्षमता भएका व्यक्तिहरुले नै डाक्टरी पढ्ने गर्दछन् । उनीहरुका अक्षर पनि पढ्ने बेलामा राम्रा हुन्छन् । ट्यालेन्ट विद्यार्थीका अक्षर पनि राम्रा नै हुन्छन् । तर, जब उनीहरु डाक्टर बन्छन्, कसैले पनि नबुझिने अक्षर लेख्न थाल्छन् । यसो किन गरिन्छ ? यसभित्रको धन्दा के हो ? औषधिका नामहरु औषधि पसलेहरुले मात्रै बुझेर हुन्छ कि बिरामीले पनि बुझ्नुपर्दछ ? कुरा जे भए तापनि अक्षरबाट धन्दा सुरु हुन्छ र औषधि कम्पनी र व्यापारीहरुले डाक्टरलाई दिने कमिसनमा पुगेर कुरा टुंगिन्छ भन्ने कुरालाई धेरै नै बल पुगेको छ ।

यो धन्दा औषधि कम्पनीका बजार प्रतिनिधि (एमआर) मार्फत् व्यापक मात्रामा फैलिएको छ । औषधि कम्पनीका बजार प्रतिनिधिहरुबाट पनि प्रष्ट थाहा पाउन सकिन्छ धेरै डाक्टरहरुलाई औषधि कम्पनीले आफ्नो औषधि सिफारिसको लागि किनेका हुन्छन् । के यो डरलाग्दो अवस्था होइन ?औषधि कम्पनी र डाक्टरहरुको सम्बन्ध आवश्यक नै छैन । डाक्टरहरुको सम्बन्ध त औषधिसँग हो र हुनुपर्दछ ।

धन्दा नम्बर ७: ल्याबमा कमिसन

डाक्टरहरुले ल्याब परीक्षणमा पनि उत्तिकै कमिसन लिने गरेका हुन्छन् । भिडियो एक्सरे, ल्याब, सीटीस्क्यान आदि परीक्षणमा उनीहरुले कमिसन नलिई काम गर्दैनन् भने पनि हुन्छ ।

बुटवलको उदाहरण दिने हो भने यदि कुनै डाक्टरले भिडियो एक्सरे वा ल्याब परीक्षण गर्न पठाउँछ भने कुन डाक्टरले पठाएको हो भन्ने ल्याबमा रेकर्ड राखिन्छ र उनीहरुलाई कमिसन दिइन्छ । हप्ताको अन्तिम दिन वा महिनाको अन्तिम दिन ल्याबले सिफारिस गरिएको आधारमा डाक्टरलाई कमिसन बुझाउनुपर्दछ ।

अहिले म आफै ल्याब टेक्निसियन हुँ । डाक्टरको कमिसनबाट म आफंै परिचित छु । मैले पहिले ल्याबमा काम गर्दा त्यही प्रकारले डाक्टरलाई कमिसन जान्थ्यो । अहिले मेरा धेरै साथीहरुले त्यसरी नै ४० प्रतिशतसम्म कमिसन बुझाउँछन् । यदि डाक्टरहरुलाई त्यसरी कमिसन नदिने हो भने उनीहरुले बिरामी अन्तै पठाइदिन्छन् ।

डाक्टरहरु एमबीबीएस वा एमडी गरेका हुन्छन् । तर, उनीहरुले आफू भन्दा तल्लो योग्यता हासिल गरेका ल्याब टेक्निसियनहरुबाट कमिसन लिइरहेका हुन्छन् । २ मिनेटमा एकजना बिरामी जाँचेवापत ५ सयले नपुगेर आफूभन्दा तल्लो योग्यता र मेहनताको पसिनाबाट पनि उनीहरुले कमिसन लिने गर्छन् ।

सामान्य ल्याब टेक्निसियनहरुबाट त कमिसन लिने डाक्टरहरुले करोडौंका मालिक औषधि कम्पनीहरुबाट कमिसन नलिने कुरै भएन । यदि डाक्टरहरुले ल्याबमा कमिसन नलिने हो भने ल्याब शुल्क ४० प्रतिशत सस्तो पर्न जान्छ ।

धन्दा नम्बर ८ : अनावश्यक विरामीको भर्ना

उही प्रकृतिको विरामी सरकारी अस्पतालमा गयो भने सामान्य जाँच, ल्याब परीक्षण र औषधि लेखेर घर पठाइन्छ । तर, उही बिरामी निजी अस्पतालमा गयो भने त्यसलाई गम्भीर समस्या देखाएर भर्ना गर्न लगाइन्छ । बिरामी भर्नाबाट अस्पताल र डाक्टरहरुलाई धेरै नै फाइदा हुन्छ । भर्ना गर्नु नपर्ने धेरै बिरामीलाई भर्ना गरिएको भोग्ने हजारौं बिरामीका आफन्त छन् । त्यसमध्येको भुक्तभोगी म आफैं पनि हुँ । बिरामी भर्ना गरेर उपचार गरिनु नराम्रो होइन, तर सबै प्रकारका बिरामीको भर्ना गर्नुपर्दैन ।

डाक्टरहरुले पनि अस्पतालमा आए जति सबै विरामी भर्ना त गर्दैनन्, तर नगर्नु पर्ने बिरामी भर्ना गरेर उपचार गरिएका उदाहरण धेरै पाइन्छन् । यो अनावश्यक र अनधिकृत तरिका हो । यसले उपचारलाई महंगो बनाइदिन्छ भने निजी क्लिनिक र निजी अस्पतालाई फाइदा गर्छ । यसो गरिनुमा डाक्टरहरुको कमाउ धन्दा जोडिएको छ ।

धन्दा नम्बर ९ : अनावश्यक अपरेशन

सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा अत्यधिक अपरेशन हुने गर्दछ । कुनै विरामी पेट दुखेर सरकारी अस्पतालमा गयो भने भिडियो एक्सरे गरेर समस्या रहेछ भने औषधि दिएर घर पठाइन्छ । त्यस्तै विरामी निजी अस्पतालमा गयो भने एपेन्डिक्सको अपरेशन गर्न बेर लगाइन्न ।

पत्थरीको अपरेशनमा पनि त्यस्तै हुन सक्छन् गरिएका हुन सक्छन् । औषधिबाट निको हुने पथरीलाई पनि अपरेशन गर्ने गरिन्छ भन्ने आरोप डाक्टरहरुलाई निरन्तर लाग्ने गर्छ । यस तर्कको दाबी के हो भने किन सरकारी अस्पतालमा एपेन्डिक्सको अपरेशन थोरै र निजीमा धेरै हुन्छ ? यो यही धन्दाले पनि काम गरेको हुन सक्छ । अर्काे दाबी के गर्न सकिन्छ भने सरकारी अस्पतालमा सामान्य प्रकारले धेरै सुत्केरी गराइन्छ । थोरै मात्रै गर्भवतीको अपरेशन गरिन्छ । तर, अपरेशन निजी अस्पतालमा अत्यधिक हुने गर्दछन् ।

अत्यधिक गर्भवतीको भीड लाग्ने सरकारी अस्पतालमा थोरै अपरेशन हुनु, तर थोरै गर्भवती हुने निजी अस्पतालमा धेरै अपरेशन हुनुले पनि त्यही कुरालाई बल पुग्छ । गर्भवतीको अपरेशन आवश्यकता भएरै गरिने गरिएको छ कि धन्दाको रुपमा गरिएको छ ? यो पनि अनुसन्धानको विषय हो । यो विषय अनुसन्धान गरिनुपर्दछ । गर्भवती अपरेशनलाई धन्दाको रुपमा विकसित गरिनुहुँदैन ।

धन्दा नम्बर १० : बिरामीको व्यापार

बिरामीको व्यापार पनि त्यही प्रकारले हुने गरेको छ । केही दिनपहिले बिराटनगरको एक अस्पतालको समाचार आएको थियो । एक जना डाक्टरले बिरामी रेफर गरेको कारण अस्पताललाई भएको घाटाको क्षतिपूर्ति पनि डाक्टरबाटै भराउने । उनी इमान्दार डाक्टर थिए । आफ्नो अस्पतालमा नहुने र आफूले नसक्ने उपचारका लागि रेफर गरिदिए ।

यो घटनाबाट के प्रष्ट हुन्छ भने निजी अस्पतालमा जाने बिरामीहरु हत्तपत्त रेफर गरिँदैन । त्यहाँ कमाउने बेलासम्म बिरामीबाट असुलिन्छ र बिरामी निको पनि नहुने र टाट पल्टिने अवस्थामा मात्रै रेफर गरिन्छ । यसले एकातिर विरामी सही उपचार पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपर्दछ भने अर्काेतर्फ आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्नुपर्दछ ।

मैले बुटवलमा एकजना सुगर र प्रेसरको बिरामीलाई ९ दिनसम्म इमर्जेन्सीमै राखेको देखेको छु । उनलाई अन्तिममा मात्रै काठमाडौं रेफर गरियो र ती बिरामीको ज्यान गयो । यसरी बिरामीको व्यापारमा पनि डाक्टरहरु संलग्न छन् ।

धन्दा नम्बर : विविध

धेरै डाक्टरहरुमा कमाउने प्रतिस्पर्धा धन्दाको रुपमा प्रकट भएको देखिन्छ । सरकारी अस्पतालमा दरबन्दी भएका डाक्टरहरु निजी अस्पतालमा नियुक्ति लिएर जसरी पनि पैसा कमाउनैपर्ने मनोदशाबाट ग्रसित देखिन्छन् । यसले एकातिर उनीहरुलाई विरामीको उपचार गर्ने उद्देश्यबाट विचलित गराइरहेको छ भने अर्कातिर उनीहरुलाई सेवा भन्दा पनि पैसामुखी बनाइरहेको छ ।

आफू सरहका डाक्टरले धेरै कमायो भने उसले पनि कमाउनैपर्ने मानसिकता विकास भएको पाइन्छ । डाक्टरी पेशा त्यसरी धेरै कमाउने पेशाको रुपमा विकास गरिनुहुँदैन । बिरामीको सेवा गरेवापत् उसले सहज रुपमा कुनै अभावविना जीवन जीउन पाउनुपर्छ । तर, जीवनलाई कमाउ धन्दाका रुपमा विकास गर्नु हुँदैन ।

अन्त्यमा,

माथि उल्लेख गरिएका धन्दामा सबै डाक्टर सामेल छन् भन्ने यो लेखको आशय होइन । स्वास्थ्यको क्षेत्रमा, मूलतः निजी अस्पताल, क्लिनिकहरुमा जे जति विकृति, विसंगति, लापर्वाहीहरु देखिएका छन्, त्यहाँ डाक्टरहरु संलग्न छन् । डाक्टरले आचारसंहिता पालना गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या हटाउन धेरै मद्दत पुग्ने थियो ।

(पोखरेल अखिल छैठौंका अध्यक्ष हुन् । यसलेखमा व्यक्त विचार उनका निजी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment