Comments Add Comment

अवैज्ञानिक ल्याण्डपुलिङको दुष्प्रभाव-जमिन बगेपछि स्थानीयलाई आपत

२० भदौ, काठमाडौं । मापदण्ड बिना गरिएको ल्याण्डपुलिङ (जग्गा अधिग्रहण) को दुष्प्रभाव काठमाडौंको बुढानीलकण्ठबासीले प्रत्यक्ष भोग्नुपरेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५, तुसालमा अवैज्ञानिक ल्याण्डपुलिङकै कारण कम्तीमा १५ घरका बासिन्दा विस्थापित भएका छन् । यो क्रम अझै बढ्ने र सयौं घर जोखिममा पर्न सक्ने खतरा देखिएको बुढानिलकण्ठका मेयर उद्धव खरेलले बताएका छन् ।

भदौ ९ गते बुढानीलकण्ठ स्कूलको पश्चिमपट्टी नेपाली सेनाको स्टाफ कलेज जाने बाटोमा ६ इन्च जति जमिन चर्किएको थियो । जमिन चर्किएपछि तीनवटा घरमा धाँजामात्र फाटेर कामै नलाग्ने भएका छन् ।

स्थानीय वासिन्दाका अनुसार भदौ ८ गते ठूलो वर्षा भएपछि जमिनमा सानो सानो धाँजा देखिन थालेको थियो । त्यसपछिका दिनहरुमा यो क्रमश बढ्दै गएको थियो ।

भोलिपल्टदेखि क्रमशः जमिन चर्किने र भासिने क्रम बढेपछि १५ वटा घरका बासिन्दालाई अन्यत्र सारियो ।

मेयर खरेलका अनुसार नगरपालिकाले बिस्थापित घर परिवारलाई तत्काल राहत स्वरुप २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर त्यस क्षेत्र पूरै जोखिममा परेको र जमिन भासिने क्रम बढ्दै जाँदा विष्णुमती नदी थुन्ने अवस्था देखिएको उनले बताए । यदि बेलैमा रोकथाम गर्न सकिएन भने सयौं घरहरु र बस्ति समेत जोखिममा पर्ने खतरा छ ।

नगरपालिकाले विशेषज्ञहरु लगेर जमिन फाटिएको ठाउँको वैज्ञानिक अध्ययन गराएको छ । मेयर खरेलका अनुसार जिल्ला दैवी प्रकोप कार्यालय, त्रिभुवन विश्वविद्यालयको भूभर्ग विभाग, नेपाली सेना, पुननिर्माण प्राधिकरण लगायतका निकायले अध्ययन गरिरहेको । तर, जमिन भासिने र धाँजा फाट्ने क्रम रोकिएको छैन ।

मेयर खरेलले भने ‘हरेक दिन जमिन बगिरहेको छ । १५ घर जोखिममा परेर उठायौं । तर माथिको मास मुभमेन्ट तल आयो भने बिसौं घरमा क्षति पुग्छ । विष्णुमतीमा आयो भने भयावह अवस्था हुनेछ ।’

त्यो क्षेत्रमा १५ लाख आना जग्गा किनेर मान्छेले घर बनाइरहेका छन् । घरको बरण्डामा बसेर काठमाडौंको दृष्य हेर्न सकिने डाँडाको जग्गा भएकाले यहाँ भीआइपीहरुले पनि घर बनाउन जग्गा खरिद गरेका छन् । तर, एकाएक जमिन बग्न थालेपछि स्थानीय आत्तिएका छन् ।

चार वर्षअघिसम्म तुसाल सानो र परम्परागत तामाङ बस्ती थियो । परम्परागत माटेघरसहित तामाङ वस्ती किनेर सुरेन्द्र श्रेष्ठ नामका एक व्यवसायीले त्यस ठाउँलाई नयाँ बस्ती बनाउन खोजे । त्यसबेलासम्म नेपालमा ल्याण्डपुलिङ सम्बन्धी नीति आएको थिएन ।

मापदण्डबिनै ल्याण्डपुलिङ गर्दाको दुष्परिणाम अहिले आएर देख्नुपरेको मेयर खरेलले बताए । ल्याण्ड पुलिङ गरिएको रमणीय डाँडामा घडेरी बनाएर बिक्री गरियो । डाँडामा घरहरु बनाएपछि ढलान गरेर सडक लगियो । तर, अहिले घर जोखिममा मात्र परेनन्, करोडौंका घरधनी रातारात विस्थापित भएर रोडमा आइपुगेका छन् ।

तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment