Comments Add Comment

गीता पढ्नोस् कुशल व्यवस्थापक बन्नोस्

भगवद् गीतालाई पूर्वीय दर्शनको एउटा ऐतिहासिक महाकाव्यको रुपमा लिइँदै आएको छ । भगवद् गीतामा १८ अध्याय र ७०० श्लोक छन् ।

ती श्लोकमध्ये ५७४ भगवान श्रीकृष्णद्वारा, ८४ अर्जुनद्वारा, ४१ संजयद्वारा र एउटा धृतराष्ट्रद्वारा भनिएका छन् । कृष्ण र अर्जुनबीच भएको त्यो वार्तालाप मानव इतिहासकै एक उत्कृष्ट दार्शनिक एवं धार्मिक वार्तालापको रुपमा बुझ्न सकिन्छ । उक्त वार्तालापमा मानव जीवनसँग सम्बन्धित सम्पूर्ण जिज्ञासाहरुको समाधान पाइन्छ ।

पुरानो धार्मिक ग्रन्थ भएता पनि भगवद् गीतामा उपदेशहरु आजको मानव समाजका लागि अति उपयोगी, व्यवहारिक र आवश्यक देखिन्छ । आज यस लेखमाभगवद् गीताका धार्मिक पक्षलाई नभएर त्यहाँ भित्र लुकेका नेतृत्वदायी, उद्यमी र व्यवस्थापकीय सुत्रहरुको बारेमा चर्चा गर्न गइरहेको छु ।

व्यवस्थापकीय भूमिकामा रहनुभएका सम्पूर्ण व्यवस्थापक, उद्यमी, व्यापारी र कर्पोरेट जगताका अन्य उच्च पदस्थ व्यक्तिहरुका लागि निर्णय लिन, समयको व्यव्ास्थापन गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न, भावी योजनाहरु बनाउन, व्यक्तिगत र व्यवसायिक सम्बन्धलाई व्यवस्थापन गर्न र आˆनो मनलाई नियन्त्रण गर्न भगवद् गीताका उपदेशहरु अति नै उपयोगी र समय सापेक्ष रहेको पाइन्छ ।

कतिपय मानिसहरुलाई भगवद् गीता एक धर्मग्रन्थ हो र धर्मप्रति आस्था राख्ने मानिसहरुले मात्र यो पुस्तक पढ्ने हो भन्ने लाग्ला । तर, त्यस्तो होइन रहेछ । जतिपटक अध्ययन गर्दा पनि कृष्ण एक अद्भूत् लिडर र उहाँका उपदेशहरु इतिहासकै अविस्मरणीय र प्रेरक सेमिनार जस्तो लाग्छ ।

कृष्णका वाणीहरुले युद्ध गर्न डराएको अर्जुनलाई पनि एक शक्तिशाली योद्धाको रुपमा परिवर्तन गर्न सफल भएको थियो । आफ्नो कर्तव्यलाई बुझेर, लक्ष्यमा केन्दि्रत भएर मनमाथि विजय प्राप्त गरेर निरन्तर प्रयास गरियो भने जस्तोसुकै कठिन परिस्थितिहरुको पनि सामना गर्न सकिन्छ भन्ने सन्देश भगवद् गीताबाट पाइन्छ । गीतामा १८ अध्याय मध्ये कर्पोरेट जगतका मानिसहरुलाई २, ३, ४, ६ र १८ अध्याय बढी महत्वपूर्ण र व्यवहारिक रहेको पाइन्छ ।

यसमा व्यवस्थापन, नेतृत्वदायी भूमिका, उद्यमशीलता र व्यक्तित्व विकासका बारेमा धेरै चर्चा गरिएको छ । एउटा व्यवसायीले आफ्नो व्यवसायलाई सफलतापूर्वक चलाउँछ भने त्यहाँ सबैलाई फाइदा हुन्छ र विन-विनको वातावरण बन्छ ।

भगवद् गीताबाट हामीले अति नै उपयोगी लिडरसिप सेक्रेट पनि बुझ्न सकिन्छ । भगवद् गीतामा कृष्ण नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । उहाँ अर्जुनको मेन्टोर पनि हुनुहुन्छ । तर, पनि उहाँको पूरा प्रयास अर्जुनलाई आफै युद्ध गर्न सक्ने सफल योद्धा बनाउनमा केन्दि्रत हुन्छ । उहाँले अर्जुनको वास्तविकतालाई बुझेर उनीभित्रको नेतृत्वदायी गुण उजागर गर्न चाहनुहुन्छ ।

अत : एउटा सफल लिडरले आफूजस्तै सफल लिडर नै जन्माउने प्रयास गर्छ भन्ने सन्देश हामीले भगवद् गीताबाट पाउन सकिन्छ । नेतृत्वदायी भूमिका कसरी निभाउने भन्ने कुरामा भगवान श्रीकृष्ण धेरैपटक एउटै कुरा दोहोर्‍याउनुहुन्छ । उहाँ ज्ञान र सत्कर्मलाई बढी जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, नेतृत्वदायी भूमिकामा बसेका मानिसले भनेर मात्र होइन गरेर पनि देखाउनुपर्छ ।

संसारका साधारण मानिसहरु त्यही कुरा सिक्छन् र अनुसरण गर्छन् जुन आफुभन्दा ठूलाले गरेका हुन्छन् ।भगवद् गीताको अध्याय ३ श्लोक २१ मा पनि उहाँ भन्नुहुन्छ, नेतृत्वदायी भूमिकामा रहेका विशिष्ट व्यक्तिहरुले जेजस्तो व्यवहार गर्दछन्, साधारण मानिसले त्यसैको अनुसरण गर्दछन् ।

“यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।” -३-२१)

भगवान श्रीकृष्ण भन्नुहुन्छ, कसैले पनि आफ्नो कर्तव्य कर्म बिर्सनुहुँदैन । कर्पोरेट जगतमा पनि यो सिद्धान्त लागु ुहन्छ । आज धेरै प्राइभेट एवं पब्लिक कम्पनीहरुमा त्यहाँका कर्मचारीहरुले आˆनो हाकिमले भनेको मान्दैनन्, उनीहरुलाई टेर्दैनन् र समयमा आˆनो काम गर्दैनन् । यस्तो हुनुको प्रमुख कारण भनेकै नेतृत्वदायी भूमिकामा बसेका मानिसिहरुको कमजोरी हो ।

एकपटक मेनेजर, जनरल मेनेजर, प्रमुख कार्यकारी अधिकृत जस्तो पदमा पुगेपछि अव मैले जे गरे पनि हुन्छ भन्ने मानसिकताले कम्पनीभित्रको आन्तरिक वातावरणलाई नै प्रदुषित गर्दछ । ठूलो पदमा पुगेका मानिसहरुले आफ्नो कर्तव्य र अधिकारलाई नबुझ्दा र कम्प्लायन्स लाई नमान्दा त्यसको असर उक्त कम्पनीको तल्लो तहसम्म तुरुन्त पुग्छ भन्ने कुराको हेक्का नहुनु पनि नेतृत्व्ादायी भूमिकामा बसेका मानिसहरुको ठूलो कमजोरी हो ।

कर्पोरेट जगतको अर्को चुनौती भनेको आˆना कर्मचारीको रुचि र क्षमता बुझेेर उनीहरुलाई सही जिम्मेवारी प्रदान गर्नु हो । ठिक ठाउँमा ठिक व्यक्ति को महत्व र मर्मलाई व्यवस्थापनले नबुझ्दा कर्मचारी व्यवस्थापन र रिटेन्सन मा धेरै समस्या आउने गरेको छ । सरकारी कार्यालयहरु मात्र नभएर प्राइभेट कम्पनीहरुमा पनि आˆनो इष्टमित्र र नजिकका मानिसहरुलाई मात्र बढुवा गर्ने प्रवृत्तिले अन्य कर्मचारीहरुमा नैराश्य बढेर जान्छ ।

जब कर्मचारीमा नैराश्यता बढ्छ तब उसले आˆनो काममा शतप्रतिशत दिन सक्दैन, जसले गर्दा संस्थाको उत्पादकत्व घट्दै जान्छ ।
भगवद् गीताको अध्याय ६, श्लोक ९ मा कृष्ण भन्नुहुन्छ, ‘एउटा सच्चा व्यक्तिले सबैलाई समान दृष्टिकोणले हेर्नुपर्दछ । रीस, इष्र्या र पूर्वग्रह नराखी सबैलाई समान दृष्टिले हेर्न सक्ने व्यक्ति मात्र सफल लिडर मानिन्छ । त्यस्ता व्यक्तिले मात्र अरुको सही मूल्याङ्कन गर्न सक्दछन् ।’

“सृहृन्मित्रार्युदासीनमध्यस्थद्धेश्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।।” (६-९)

सबैलाई समान भावले हेरेता पनि एउटा व्यक्तिको लगन, मेहनत र निरन्तर परिश्रमले उसलाई अरु भन्दा फरक बनाउँछ । भगवद् गीताको अध्याय ९ श्लोक २९ मा कृष्ण भन्नुहुन्छ, म कसैप्रति द्वेष गर्दिनँ र कसैको पक्ष पनि लिदिनँ । म त सबैलाई समान भावले हेर्दछु । तर, जो व्यक्ति निष्ठापूर्वक आˆनो कर्तव्य कर्ममा तल्लीन हुन्छ, त्यो नै मेरो सच्चा मित्र हो ।

“समोकहं सर्वभूतेषु न मे द्वेष्योकस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहृम् ।।” (९-२९)

कृष्णले भनेजस्तै नेतृत्वदायि भुमिकामा बसेका व्यक्तिहरुले कसैलाई भेदभाव नगरी सच्चा, इमान्दर र लगनसिल व्यक्तिलाई मात्र पुरस्कृत गर्ने हो भने कर्पोरेट कल्चर आफै विकसित हुँदै जान्छ र संस्थामा सुशासन कामय हुन्छ ।

नेपालमा सबैभन्दा बढी नियम कानून पालना गर्ने भनेको बैंक तथा वित्तीय संस्थाहरुले हो । तर उनीहरुको काम गराई शैलीलाई सुक्ष्म विश्लेषण गर्ने हो भने असाध्यै अदूरदर्शी र अपारदर्शी लाग्छ ।

कुनै पनि संस्थामा नियम कानूनको अनुशरण असाध्यै महत्वपूर्ण हुन्छ । सरकारद्वारा जारी नीति, नियम र निर्देशनहरुका साथै संस्थाको सञ्चालक समितिद्वारा जारी विनियम, नियमावली र आन्तरिक टिप्पणीहरुलाई हुबहु पालना गर्नु भन्ने बुझिन्छ । जब संस्था कारोबार र सञ्जालको दृष्टिले ठूलो हुँदै जान्छ तब त्यसको महत्व अझ वृद्धि हुँदै जान्छ, धेरैजसो संस्थाहरुमा माथिल्लो तहबाटै नीति, नियम र निर्देशनहरु पालना नहुँदा कर्पोरेट कल्चर बिग्रँदै गएको देखिन्छ ।

त्यस्ता क्रियाकलापको असर तल्लो तहका कर्मचारीहरुमा समेत स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा बढी नियम कानून पालना गर्ने भनेको बैंक तथा वित्तीय संस्थाहरुले हो । तर, त्यहाँ पनि नेतृत्व तहका व्यक्तिहरुमा इमान्दारीता, नैतिकता, व्यवसायिकता र पारदर्शिता नहुँदा नियम कानून पालना नगरेको देखिन्छ । उनीहरुको काम गराई शैलीलाई सुक्ष्म विश्लेषण गर्ने हो भने असाध्यै अदूरदर्शी र अपारदर्शी लाग्छ । नवीनता, प्रविधिको प्रयोग र दिगो बृद्धितर्फ उनीहरुको पाइला टेकेकै देखिदैन ।

अझ हरेक कर्मचारी र हितधारक ब्यक्तिहरुको उद्यमशीलता विकसित गर्ने कुरा त उनीहरुले सोचेकै हुँदैनन् । उनीहरुको ध्यान केवल नाफामा मात्र हुन्छ । जब एउटा त्रैमासिक सकिन्छ अनि धेरै जस्तो व्यवस्थापकहरु नाफाको फिगरलाई दिमागमा बोकेर प्रचार गर्न निस्कन्छन् ।

उनीहरुले वासलात र नाफा नोक्सान हिसाब खाताभित्र लुकेको गुणात्मक तत्वलाई महत्व दिएको देखिँदैन । संस्था जति ठूलो हुँदै जान्छ, त्यति नै धेरै ब्याक इन्ड प्रोसेसमा ध्यान दिर्नुपर्ने हुन्छ । तर, क्षणिक लाभको लोभले ‘फन्ट इन्ड प्रोसेस’ मा मात्र ध्यान दिँदा संस्थाको आयु घट्दै गएको र संस्था भित्रैदेखि खोक्रो बन्दै गएको कुरा कति व्यवस्थापकहरुलाई थाहा नहुन सक्छ ।

संस्थामा सुशासन कायम नहनु भनेको मन्दविष जस्तै हो । यसले कालान्तरमा संस्थालाई एकादेशको कथा बनाएर छाड्छ । यस्ता बेथितिहरुलाई न्यूनीकरण गर्न संस्थामा सञ्चालक समिति र नियामक नियामकको ठूलो हात हुन्छ ।

उहाँहरुले सही नीति, नियम र निर्देशन जारी गर्ने, बेलैमा सम्यमता अपनाउने र व्यवस्थापनले उक्त नीति, नियमअनुरुप निर्णयहरु लिएको छ, छैन भनेर निरन्तर निगरानी गर्नाले सुशासन र सुव्यवस्थामा देखिएका कमीकमजोरीहरु विस्तारै कम हुँदै जानेछन् ।

भगवद् गीता अध्याय ४ श्लोक ७ मा पनि यही कुरालाई स्पष्ट पारिएको छ ।

“यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहृम् ।। ४-७ ।।”

कृष्ण भन्नुहुन्छ, जहाँ-जहाँ र जहिले-जहिले धर्मको पतन हुन्छ र अधर्मको उत्पत्ति हुन्छ, त्यस्तोबेला म अवश्य उपस्थित हुनेछु र त्यसलाई समाप्त गर्नेछु । कर्पोरेट जगतमा कृष्ण भनेको नियामक निकाय हो, सञ्चालहरु हो र धर्म भनेको ‘कम्प्लायन्स’ हो । जहिले-जहिले संस्थामा सुशासन खतरामा पर्छ, तब-तब नेतृत्वकर्ताले हस्तक्षेप गर्नुपर्छ र सही दिशा दिनुपर्छ ।

अतः भगवद् गीता अहिलेको समयमा पनि उत्तिकै महत्वपूर्ण  छ, जति पहिले थियो । भगवद् गीताका श्लोकहरुलाई ध्यान दिएर अध्ययन गर्ने हो भने त्यो धार्मिक नभएर समस्या समाधानको एउटा अद्भूत् मार्गदर्शनजस्तो लाग्छ । हरेक क्षेत्रका व्यक्तिका लागि अति उपयोगी सफलताका सुत्रहरु र जीवन भोगाइका क्रममा आइपर्ने जिज्ञासाहरुको सम्पूर्ण समाधान भगवद् गीतामा पाइन्छ ।

व्यवसाय गर्ने व्यक्तिहरुका लागि त यो ग्रन्थ झनै महत्वपूर्ण छ । किनकी यसमा व्यवस्थापन, नेतृत्वदायी भूमिका, उद्यमशीलता र व्यक्तित्व विकासका बारेमा धेरै चर्चा गरिएको छ । एउटा व्यवसायीले आफ्नो व्यवसायलाई सफलतापूर्वक चलाउँछ भने त्यहाँ सबैलाई फाइदा हुन्छ र विन-विनको वातावरण बन्छ । उक्त व्यवसायबाट सरकारलाई, कर्मचारीलाई, लगानीकर्तालाई, ग्राहकलाई र समाजलाई पनि विभिन्न दृष्टिकोणले फाइदा पुगेको हुन्छ ।

तसर्थः समाज र देशको आर्थिक विकासका लागि हामी सबैले आफूभित्र भएको उद्यमशीलतालाई विकसित गर्नुपर्छ र भगवद् गीतामा भगवान श्रीकृष्णले भनेजस्तै आफ्नो मनलाई नियन्त्रण गरेर, आफ्नो कर्तव्य कर्ममा निरन्तर लागि परेर, समयको उचित व्यवस्थापन गरी आˆनो क्षमतामा विश्वास गरेर श्रद्धापूर्वक आफ्नो उद्देश्यमा निरन्तर लागि पर्ने हो भने जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिन्छ र आफूले सोचेजस्तो सफलता प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment