Comments Add Comment

नेपालमा गैरकानुनी आप्रवासीको योजनावद्ध घुसपैठ

२३ भदौ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएपछि भारतसँगको परनिर्भरता अन्त्य भएको समाचारलाई केही पत्रिकाले प्रमुख हेडलाइन बनाएका छन् ।

मेयरलाई गाडी किन्न छुट्याइएको पैसाले जनताको घरमा पानी वितरण गर्ने ट्यांकर किन्ने स्थानीय जनप्रतिनिधिदेखि संविधानसभा भंग भएको १० महिना पुगिसक्दा पनि सुविधाको ल्यापटपसमेत नछाड्ने पूर्वसभासदहरुको समाचार आजका पत्रिकामा पढ्न पाइन्छ ।

यसबाहेक सरकारले हरेक वर्ष राष्ट्रपतिबाट प्रदान गर्ने तक्मा बनाउन ढुकुटीबाट आठ करोड खर्च हुने गरेको, प्रधान्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाई सोमबार हुन लागेको, आफूलाई ज्योतिषी बताउने एक व्यक्तिले झारफुक गर्ने बाहनामा पाँच महिनादेखि बलात्कार गरेको, धूवाँ फ्याक्ने गाडीलाई कारबाही नभएको लगायतका समाचार आजका पत्रिकाहरुमा छन् ।

गैरकानुनी आप्रवासीको योजनावद्ध घुसपैठ

नागरिक दैनिकमा गैरकानुनी आप्रवासीको नेपालमा योजनावद्ध घुसपैठ भइरहेको समाचार छ । भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाबद्ध रुपमा सक्रिय हुँदै आएको समाचारमा उल्लेख छ ।

गिरोहले राहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ । गिरोहका नाइकेको रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको समाचारमा उल्लेख छ । यसरी अवैध रुपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जा आप्रवासी बूढानीलकण्ठ ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन् ।

तक्मामा ८ करोड खर्च

नयाँ पत्रिका दैनिकले राजनीति कमाउनका लागि होइन, जनसेवाका लागि हो भन्ने उदाहरण बनेका जनप्रतिनिधिहरुको विस्तृत रिपोर्टलाई ‘जनउत्तरदायी जनप्रतिनिधि’ शीर्षकमा छापेको छ ।

सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले आफ्नो गाडी किन्न छुट्याएको पैसाले जनतालाई पानी ट्यांकर किनिदिएको, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वर्षभरिको तलबभत्ता सामुदायिक विद्यालयलाई दिएको, बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगत पहलमा निजी स्रोतबाट ४० शिक्षक नियुक्त गरेको, नवलपरासीको कावासोती नगरपालिका-३ का वडाअध्यक्ष अमृत श्रेष्ठले तलबभत्ता टुहुरा बालबालिकाको पढाइमा खर्च गरेको, दार्चुलाको नौगाढ गाउँपालिकाका जनप्रतिनिधिहरुले बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेको लगायतका विषयहरु समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकमै सरकारले हरेक वर्ष वितरण गर्ने मानपदवी तथा विभूषणमा हरेक वर्ष ८ करोड खर्च हुने गरेको समाचार छ । राज्यलाई महत्वपूर्ण योगदान दिएको भन्दै हरेक वर्ष सयौं व्यक्तिलाई बिभिन्न विभूषणले सम्मान गर्दछ । सबैभन्दा ठूलो विभूषण नेपाल रत्न हो, यो तक्मा बनाउन १५ लाख खर्च हुन्छ । सम्मानित हुनेहरु धेरैजसो सत्ता निकटका हुने भएकाले विभूषण वितरण सधैं विवादमा पर्ने गर्दछ ।

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

अन्नपूर्ण पोष्ट दैनिकले बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने समाचार छापेको छ । नेपालको सहभागीतालाई लिएर विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएको समाचारमा उल्लेख छ ।

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ ।

एक वर्षअघि गोकर्णेश्वर १ रुप्सेटारमा विद्युत सर्ट भएर बाबुराम कार्कीको ओम कृषि फार्मममा आगलागी हुँदा ९७ वटा गाईहरु जलेर मरेका थिए । त्यो हृदयविदारक पीडा भूल्दै बाबुरामले फेरि पनि गाई पालन सुरु गरेको विषय अन्नपूर्णको मुख्य समाचार छ ।

यसैगरी बाराको सिम्रौनगढ नगरपालिका ७ झवानी टोलमा रहेको शिवपावर्तती मन्दिरमा दलित समुदायलाई बन्देज गरिएको समाचार पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।

झारफुकको बहानामा पाँच महिनादेखि बलात्कार

राजधानी दैनिकमा बलात्कार सम्बन्धी बाँकेको समाचारले पहिलो प्राथमिकता पाएको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साईबाबा’ भनी चिनिने व्यक्तिले झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई पाँच महिनादेखि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

पटक पटक बलात्कारपछि किशोरीको गर्भ रहेको र बाबाले गर्भपतन गराउन खुवाएको औषधिका कारण रक्तस्राब नरोकिएपछि परिवारका सदस्यहरुले थाहा पाएका थिए । पीडितको जाहेरी आएलगत्तै प्रहरीले साईबाबा भनिने ति व्यक्तिलाई पक्रेको छ ।

यसअघि बाँकेको कोहलपुरमा हजुरबुवाले नातिनीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

चार अस्पताल चाहार्दा पनि उपचार नपाउँदा बालकको मृत्यु

कान्तिपुर दैनिकमा सर्पले डसेको तीन वर्षीय बालकलाई चितवनका चारवटा अस्पताल चहार्दा पनि उपचार नपाएर मृत्यु भएको हृदयविदारक समाचार छ ।

भरतपुर १५ मंगलपुरका बलराम विकले ३ वर्षे नाति सलिनको उपचार गर्न बुधबार राति भरपुरका चारवटै ठूला अस्पताल पुगे । करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् र अन्ततः सलिनको मृत्यु भयो ।

कान्तिपुरमा चीनसँगको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षरपछि वर्षौंदेखि भारतसँगको एकल निर्भरता तोडिएको समाचार छ । परराष्ट्रविदले यसलाई ग्राउन्ड ब्रेकिङ भन्दै फाइदा लि नेपालले तदनुसार पूर्वाधार विकास गर्नुपर्ने बताएको समाचारमा उल्लेख छ ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार अब नेपालले पारवहनका लागि चारवटा समुद्री बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment