Comments Add Comment

पोखरा उद्योग वाणिज्य संघ : अधिकारी र प्रजूले दिए प्यानलसहित उम्मेदवारी

२५ भदौ, पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल आमनेसामने हुने भएका छन् । संघको आउँदो असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा समावेशी व्यवसायी समूह र लोकतान्त्रिक समूह प्रतिस्पर्धामा छन् ।

समावेशी व्यवसायी समूहको नेतृत्व दामु अधिकारीले गरेका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व रवीन्द्रबहादुर प्रजूले गरेका छन् । समावेशी समूहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले र लोकतान्त्रिक समूहलाई कांग्रेसले समर्थन गरेको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी वर्तमान महासचिव हुन् । पोखरा महानगरपालिका ३ का वडाध्यक्षसमेत रहेका प्रजू भने संघका वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । यसअघि उम्मेदवारी दिने भन्दै मनोनयनपत्र लिएर गएका गोकर्ण कार्कीले भने उम्मेदवारी दर्ता गराएनन् ।

उम्मेदवारी दर्ताको प्रमाणपत्र लिँदै रवीन्द्रबहादुर प्रजु ।

समावेशी व्यवसायी समूहले ११ बजे र लोकतान्त्रिक समूहले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गरेको थियो । अधिकारी प्यानल प्रस्याङबाट सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै संघको कार्यालयमा रहेको निर्वाचन सचिवालयमा पुगेको थियो भने प्रजू प्यानल चिप्लेढुंगास्थित पोखरा ट्रेडमल अगाडिबाट महेन्द्रपुल, पालिखेचोक हुँदै कार्यालय पुगेको थियो ।

बरिष्ठ उपाध्यक्षमा अधिकारी प्यानलबाट यदु अधिकारी र प्रजू प्यानलबाट नारायण कोइरालाले उम्मेदवारी दिएका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट गीता तिवारी गौतम र प्रजू प्यानलबाट बिन्दु सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा अधिकारी प्यानलबाट यमनाथ पौडेल र प्रजू प्यानलबाट पवन प्रजापति उम्मेदवार बनेका छन् ।

महासचिवमा अधिकारी प्यानलबाट किसान सुनार र प्रजू प्यानलबाट अर्जुन पोखरेल, कोषाध्यक्षमा अधिकारी प्यानलबाट प्रेम भुजेल र प्रजू प्यानलबाट सुरेन्द्रमान बिजुक्छे, उप-महासचिवमा अधिकारी प्यानलबाट सीता बराल र प्रजू प्यानलबाट चिनु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला १० सदस्यमा २१ जनाको उम्मेदवारी परेको छ । अधिकारी प्यानलबाट सदस्यमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रजू प्यानलबाट खुल्ला सदस्यमा बलराम बराल, केशबबहादुर खत्री, दिनेश चन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गरे । कृष्णप्रसाद तिवारीले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ताको प्रमाणपत्र लिँदै दामु अधिकारी ।

वस्तुगततर्फ ४ सदस्यका लागि ८ जनाको उम्मेदवारी दिएका छन् । वस्तुगततर्फ अधिकारी प्यानलबाट ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगानाले उम्मेदवारी दर्ता गरे भने प्रजू प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् ।

कर्पोरेट २ सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । कर्पोरेट सदस्यका लागि कमलबहादुर बस्नेत, घनश्याम शर्मा, हर्कबहादुर अधिकारी (मिरज) र हरिहर सापकोटाले उम्मेद्वारी दिएका हुन् । सबैको स्वतन्त्र उम्मेदवारी भनिए पनि बस्नेत र शर्मा समावेशी व्यवसायी समूह निकट र अधिकारी र सापकोटा लोकतान्त्रिक समूह निकट भएको बताइन्छ ।

उद्योगतर्फको एक सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यका लागि हिरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । दुबैले स्वतन्त्र उम्मेदवारी दिएको बताए पनि पण्डित समावेशी व्यवसायी समूह निकट र श्रेष्ठ लोकतान्त्रिक समूह निकट भएको बुझिएको छ ।

उम्मेद्वारी दर्तापछि समावेशी व्यवसायी समूहका नेतृत्वकर्ता तथा अध्यक्षका उम्मेदवा दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघलाई राजनीतिबाट बचाउन आफ्नो खाँचो परेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

लोकतान्त्रिक समूहका नेतृत्वकर्ता तथा अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजूले आफ्नो बाह्र बर्षे संघको अनुभव अध्यक्ष भएर काम गर्नका लागि उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment