Comments Add Comment

दैनिक पाँच बालबालिका बेपत्ताः हराउनेमा छोरी बढी

२७ भदौ, काठमाडौं । वाणगंगा–९, कपिलवस्तुकी बसन्ता बन्जाडे ६ दिनदेखि सम्पर्कविहीन छिन् । १६ वर्षीय छोरी बेपत्ता भएपछि उनकी आमा सुनिता बन्जाडेले इलाका प्रहरी कार्यालय प्रिपामा निवेदन दिइन् ।

यस्तो उजुरी देशभरिका प्रहरी कार्यालयमा औसत दैनिक पाँचवटा पर्ने गरेका छन् । सन् २००९ यताको अभिलेख हेर्दा बर्सेनि १७६४ बालबालिका बेपत्ता हुन्छन् ।

गत आर्थिक वर्षमा मात्रै देशभरि २३३० जना बालबालिका बेपत्तासम्बन्धी उजुरी परेको प्रहरी अभिलेख छ । बेपत्ताको यो संख्या पाँच वर्षअघिको तुलनामा झण्डै तेब्बर हो ।

सन् २००९/०१० मा बालबालिका बेपत्तासम्बन्धी जम्मा ८३७ उजुरी दर्ता भएका थिए ।

किन हराउँछन् बालबालिका ?

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सार्वजनिक गरेको ‘ट्राफिकिङ इन पर्सन्स इन नेपाल’ शीर्षकको प्रतिवेदनमा हराएका बालबालिका शोषण वा यौन शोषणमा पर्ने जोखिम रहेको उल्लेख छ ।

साथीहरूको लहैलहैमा लाग्ने, बिठ्याइँ गर्ने स्वाभावका, कुलतमा फसेका, श्रम शोषण, यौन दुर्व्यवहार भोगेका, बालविवाहमा परेका र बसाइँसराई भइरहने परिवारका बालबालिका हराउने ‘ट्रेन्ड’ देखिएको प्रतिवेदनमा उल्लेख छ

त्यस्तै आपराधिक क्रियाकलापमा संलग्न गराउने, भिख माग्न लगाउने, मृगौला निकाल्ने वा हत्या, हिंसा, बन्धक वा बलात्कारमा पर्ने सम्भावना रहने प्रतिवेदनमा उल्लेख छ ।

बेपत्ता बालबालिकालाई जोखिमयुक्त काममा लगाउने, पोर्नोग्राफीमा प्रयोग गर्ने, विदेशमा बेच्ने र मानसिक तथा शारीरिक आघात पुर्‍याउने जोखिम रहेको प्रतिवेदनको ठहर छ । कतिपयले नारा जुलुसमा प्रयोग गर्ने, प्रहरीलाई ढुंगा हान्न लगाउने गरिएको जानकारहरू बताउँछन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार प्रहरीमा उजुरी परेका मध्ये आधाभन्दा बढी बालबालिका फेला पर्दैनन् ।

बेपत्ता हुनुका कारण

गरिबी र बालबालिकामैत्री परिवारिक वातावरण नहुनुलाई मानव अधिकार आयोगको प्रतिवेदनले बेपत्ताको पहिलो कारण मानेको छ । बाबा वा आमा नभएका, बाबा–आमा दुबै नभएका वा वैदेशिक रोजगारीमा गएका छन् भने बालबालिका हराउने सम्भावना हुने प्रतिवेदनमा उल्लेख छ । यस्तै, सौतेले आमा–बाबा भएको घरमा पनि यस्तो जोखिम हुने आयोगको ठहर छ ।

विद्यालय छाडेका/निस्काशित, शारीरिक वा मानसिकरुपमा कमजोर, आफैंलाई सम्हाल्न नसक्ने, घरेलु हिंसा र शोषणमा परेका बालबालिकालाई पनि जोखिमयुक्त समुहमा पर्छन् । घर, होस्टेल वा विद्यालयको कठिन अनुशासनले पनि कतिपयले बालिबालिकालाई भाग्न प्रेरित गर्ने गरेको अध्ययनको निश्कर्ष छ ।

साथीहरूको लहैलहैमा लाग्ने, बिठ्याइँ गर्ने स्वाभावका, कुलतमा फसेका, श्रम शोषण, यौन दुर्व्यवहार भोगेका, बालविवाहमा परेका र बसाइँसराई भइरहने परिवारका बालबालिका हराउने ‘ट्रेन्ड’ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष काठमाडौंमा गरिएको एक सर्वेअनुसार ५–१२ वर्षबीचका ८० प्रतिशत बालबालिकाले मोवाइल वा ल्यापटपमा इन्टरनेट चलाउँछन् । उनीहरू मध्ये ७५ प्रतिशतले आफ्नै फेसबुक अकाउन्ट खोलेका छन् । यो सर्वेले बालबालिकाको इन्टरनेट र सामाजिक सञ्चालको पहुँच मात्रै देखाउँदैन, उनीहरू अनलाइनबाट हुन सक्ने यौन दुव्र्यवहार र अन्य प्रकारका अपराधको जोखिममा रहेको पनि देखाउँछ ।

आयोगको प्रतिवेदनअनुसार उमेरका हिसाबले गत वर्ष बेपत्तामध्ये साढे एक प्रतिशत पाँच वर्षभन्दा कम उमेरका, ६ प्रतिशत ६–१० वर्षका, ३९ प्रतिशत ११–१४ वर्षका र ५३ प्रतिशत १५–१८ वर्षका छन् । सबै भन्दा बढी १५ देखि १८ वर्ष उमेर समूहको हुनुले कतै न कतै बेचविखनसँग जोडिएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धिताल बालिकाहरू धेरै बेपत्ता हुनुमा मानव बेचविखन एउटा कारण हुन सक्ने बताउँछन् । बेपत्ता हुँदा उजुरी गर्ने तर फेला परिसकेपछि उजुरी गरेको निकायलाई जानकारी नगराउँदा तथ्यांक तलमाथि परेको पनि हुनसक्ने धितालको बुझाई छ ।

बालिका बढी बेपत्ता

गतवर्ष बेपत्ता भएकामध्ये बालिका १४०७ र बालक ९२३ छन् । राष्ट्रिय मानव अधिकार आयोगको ‘ट्राफिकिङ इन पर्सन्स इन नेपाल’ प्रतिवेदनमा सातवटै प्रदेशमा बेपत्ता बालकको तुलनामा बालिकाको संख्या बढी छ (हे. इन्फो) ।

पछिल्लो एक दशकको तथ्यांक हेर्दा बेपत्तामध्ये ५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक छन् ।

हराएका बालबालिका फेला पर्ने दर भने बालिकाको तुलनामा बालकको बढी छ । हराएकामध्ये ५४.५ प्रतिशत बालबालिका फेला नपर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । फेला नपर्ने दर बालिकाको ५८.४ र बालकको ४२.९ प्रतिशत छ ।

बाल मजदुर सरोकार केन्द्र (सीबीन) का अध्यक्ष माधव प्रधान बालिकाहरू बढी हराउनुमा यौन दुव्यर्वहार कारण हुन सक्ने बताउँछन् । सजिलै प्रलोभनमा पार्न सक्ने र शारीरिकरुपमा कमजोर बालबालिका बढी जोखिममा देखिएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment