Comments Add Comment

गैंडाकोट नगरपालिका विवाद : मेयर चौतारोमा, उपमेयर कुर्चीमा

२७, भदौ, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकामा केही दिनदेखि मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ । तीजको दिन विहानै नगरपालिकामा पुग्दा उपमेयर विष्णु कँडेल महिलाहरुको ठूलो समूहसहित कार्य कक्षमा बसिरहेकी थिइन् ।

नगरपालिकाका मेयर छत्रराज पौडेल नगरपालिका गेट बाहिरको चौतारोतिर थिए । मेयरको कार्यकक्षमा उपमेयर कँडेलले मंगलबार ताला लगाएपछि मेयर अलपत्र परेका हुन् । सबै महिलाहरु तीजमा रमाइरहेका बेला उपमेयर कँडेल भने दलबलसहित नगरपालिकामा विहानै आएर कुर्चीमा बसेकी थिइन् ।

मंगलबार भएको तालाबन्दीपछि मेयर पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । नगरपालिका कार्यालयमा मेयरको पार्टी नेपाल कम्युनिस्ट पार्टी र उपमेयरको पार्टी नेपाली कांग्रेसका कार्यकर्ताहरु भरिभराउ थिए । भडप हुन सक्ने भन्दैं सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।

मेयर पौडेलले पत्रकार सम्मेलनका लागि पत्रकार त बोलाएका थिए तर कहाँ गर्ने भन्ने निधो थिएन । चौतारोमा उभिएर नै मेयरले पत्रकार सम्मेलन गरे । उनले नगरपालिकाको हिसाब हेर्ने नाममा महत्वपूर्ण कागजातहरु घर लैजाने र नस्ट बनाउने षडयन्त्रमा उपमेयर लागेको भन्दै आरोप लगाए ।

गत साउन १० गते भएको नगरसभाको नीति तथा कार्यक्रम पनि षडयन्त्र गरी कम्प्युटरबाट नै डिलिट गरिएको भन्दै मेयर पौडेलले भने, ‘उपमेयरलाई मात्रै किन, सारा नगरवासी, पत्रकार, नागरिक समाज, वुद्धिजीवि सवैलाई साक्षी राखेर नगरपालिकाको हिसाबकिताब सार्वजनिक गर्न तयार छु, तर उहाँमाथि मेरो विश्वास छैन, म घरमा लैजान दिन्न ।’

उपमेयर विष्णु कँडेलले भने मेयर र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको भन्दैं ताला लगाएको बताइन् । गत असारको खर्च विवरणसहितको भौचर एकपटक हेर्न प्रमुख प्रशासकीय अधिकृतसँग मौखिक र लिखित रुपमा माग्दासमेत नदिएको कारणले तालावन्दी गर्नुपरेको उपमेयर कँडेलले दावी गरिन् । विवाद मिलाउन जिल्ला प्रशासन कार्यालय नवलपुरमा बुधबार दुवै पक्षलाई बोलाइएको छ ।

पत्रकार कुट्ने जनप्रतिनिधिको उपमेयरले गरिन् बचाउ

गत भदौ २२ गते गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिद्वारा पत्रकार अजय गोर्खाली कुटिएको घटनाको उपमेयर कँडेलले बचाउ गरेकी छिन् । संचारकर्मीसँग कुरा गर्दै उनले गोर्खालीलाई कुटपिट नगरेको तर बैठक कक्षबाट बाहिर निकालेको बताइन् । आफ्नो परिचय र अनुमति विना बैठक कक्षमा प्रवेश गरेकाले जनप्रतिनिधीले बाहिर निकालेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

उपमेयरले लगाइन् गैंडाकोट नगरपालिका कार्यालयमा ताला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment