Comments Add Comment

आजका पत्रपत्रिकाः बलात्कारी लुकाउन सांसद् नै पन्चेतीमा !

२८ भदौ, काठमाडौं ।संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अधिकांशको प्राथमिकतामा निर्मला पन्त हत्या छानबिन प्रकरण परेको छ । न्याय माग्दै निर्मलाका बाबु–आमा काठमाडौं आएको घटनासँग जोड्दै पत्रपत्रिकाहरुले प्रहरीबाटै प्रमाण नष्ट भएको दाबी गरेका छन् ।

प्रहरीले हत्यारा करार गर्दै पक्राउ परे पनि डीएनए परीक्षणबाट निर्दोष सावित भएका दिलीपसिंह विष्टले बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाएको वयान दिएका छन् । यसलाई पनि आजका पत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै बलात्कारी जोगाउन सांसद् नै पन्चेतीमा बसेको, उपप्रधानमन्त्री उपेन्द्र यादवकै पार्टी संविधान दिवस कार्यक्रम बहिष्कारमा जुटेको, लेखा समितिले वाइडबडी जहाज खरिदको कागजात मागेको, शिक्षा मन्त्रालयका कर्मचारीले २ महिनादेखि तलब नपाएको खबर छ । त्यसैगरी, मन्दिर छोएको निहुँमा दलित बारामा दलित कुटिएको, अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको, पार्टी एकता टुंग्याउन नेकपाले थप मापदण्ड बनाउन लागेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

कान्तिपुरले ‘प्रहरीबाटै प्रमाण नष्ट’ शीर्षक दिएर प्रहरी निर्मला पन्त हत्या प्रकरणको छानबिनमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट च्यूत भएको निष्कर्ष निकालेको छ ।

‘फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो’, कान्तिपुरले समाचारको लिड लाइनमा लेखेको छ, ‘तर कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ ।’

पत्रकार सम्मेलन गर्दै निर्मलाका बाबुआमाले एसपी र डीएसपीको डीएनए जाँच गर्न माग गरेकोलाई मुख्य समाचार बनाएको नागरिकले दृष्टिका प्रधानसम्पादकसँग प्रहरीले वयान लिएको समाचार छापेको छ ।

नागरिकमै बारामा मन्दिर छोएको निहुँमा दलित पिटिएको अर्को खबर पनि छ । परवानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छोएको भन्दै कुटपिट भएको हो ।

समाचार अनुसार स्थानीय गैरदलितको कुटाइबाट सुमन राम, उनका दाजु उमेद र भतिज आकाश गम्भीर घाइते भएका छन् । सुमनको सघन उपचार कक्षमा तथा उमेद र आकाशको जनरल वार्डमा उपचार भइरहेको छ ।

पानी खाने धारो छोएको निहुँमा कुटिएकी महोत्तरीकी बुद्धमाया विश्वकर्माको कथा छापेको अन्नपूर्णले बलात्कारी लुकाउन सांसद् नै पन्चेती (भेला)मा बसेकोलाई एंकर बनाएको छ ।

बालिका बलात्कारको घटना लुकाउन रौतहतमा जनप्रतिनिधिकै घरमा पन्चेती बसेको हो ।

समाचार अनुसार गढीमाई नगरपालिका–३, गम्हरियाटोलकी १२ वर्षीया बालिका बलात्कारको घटना मिलाउन प्रदेशसभा सदस्य अब्दुल कलाम आजात (फूलबाबु) को घरमा पन्चेती बसेको थियो । उनी रौतहट क्षेत्र नं. ४ ‘ख’ बाट प्रदेशसभा निर्वाचित सांसद् हुन् ।

यसरी बसेको पन्चेतीले पीडित बालिकाको परिवारलाई प्रहरीमा उजुरी गर्न नदिन र बलात्कारपछि घटना दबाउन गाउँमै प्रयास भएको समाचारमा उल्लेख छ । तर पीडित बालिकाको परिवारले मानेनन् र प्रहरीमा उजुरी गरे ।

प्रहरीले बलात्कार आरोपमा ५५ वर्षे सहमत अन्सारीलाई पक्रेको छ ।

राजधानीले सरकार संविधान दिवस भव्य बनाउन जुटिरहेका बेला उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरम बहिष्कारको तयारीमा जुटेको खबर लेखेको छ ।

संविधानमा असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रुपमा बहिष्कार गर्ने निर्णयमा पुगेको राजधानीको समाचारमा उल्लेख छ ।

डलरको मूल्य उच्च भएकोबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले निर्मला पन्तको बलात्कारी भनेर प्रहरीले पक्रेको दिलीप सिंहको वयान छापेको छ ।

उनले वयानमा बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाएको बताएका छन् । उनले आफूमा यौन चाहना नभएको र निर्मलालाई नचिनेको जनाएका छन् ।

‘प्रहरीले पक्राउ गरेका दिन दुईवटा कुर्सीको बीचमा च्यापेर अपराध सकार्न लगाए । मैले होइन भनेँ । मसँग त्यसदिन ३२ रुपैयाँ थियो । सीआईबीबाट आएको प्रहरीले फकाएर २ सय रुपैयाँ पनि दिए । गाँजा चरेसको व्यवस्था पनि गरिदिन्छु भने । पेटभर खान पाउँछस्, कति दिन माग्दै हिँड्छस् भने’, विष्टले नयाँ पत्रिकासँग भनेका छन्, ‘तर मैले गर्दे नगरेको अपराध कसरी सकार्ने ? म त्यस्तो हराम गर्ने गरी बिग्रेको मान्छे होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment