Comments Add Comment

कञ्चनपुरका चेली भन्छन्- १० जना कौरबलाई जोगाउन राज्य लागेको छ

२८ भदौ, काठमाडौं । नारीको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा त हिन्दुशास्त्रमा दूर्गामाताको कहावतबाटै स्पष्ट हुन्छ । यस्तै शक्ति कञ्चनपुरका महिलाले व्यवहारमै सावित गरिदिएका छन् ।

भीमदत्त नगरपालिकाका सचेत महिलाहरु यसरी नजागेको भए निर्मला पन्तको हत्या प्रकरण दबिएर रहने थियो । न त एसपी निलम्बनमा पर्थे, न त कुनै छानविन समिति नै गठन हुने थियो ।

नारी अस्मिताको रक्षाका लागि संघर्ष गरिरहेका कञ्चनपुरका संघर्षशील महिलाहरु पन्त परिवारसँगै अहिले काठमाडौंमा आएका छन् ।

‘हामी आफ्नै खर्चमा आएका हौं । घरमा सबैका वालवच्चा छन्,’ महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘अब निर्मला पन्तले न्याय नपाउञ्जेल हामी काठमाडौंमै रहन्छौं ।’

कञ्चनपुर घटनामा सुरुमा एउटामात्रै कौरब रहेकोमा अहिले १० जना देखिएको उनले बताइन् । नेगीले पत्रकारहरुसँग भनिन्- ‘सुरुमा एकजना कौरब थिए, पछि १० कौरबहरु भए । अहिले ती १० कौरबलाई बचाउन राज्य नै लागिराखेको छ । अपराधीलाई राज्यले नै संरक्षण गरेको जस्तो लाग्छ । राज्यपक्षले शंकास्पदहरुलाई केही पनि गरेका छैनन् ।’

जुनसुकै घटनामा पनि आन्दोलन नागरी न्याय नपाइने विडम्बना देशमा बढ्दै गएको नेगीको गुनासो छ । प्रदेश ७ बाट सिंहदरबारमा न्यया माग्न आइपुगेकी नेगीले भनिन्- ‘नेपाल कस्तो राष्ट्र रहेछ भने जे पनि आन्दोलनबाटै पार लगाउनुपर्ने । राज्यले न्याय दिनुको सट्टा गोली चलाएको छ ।’

उनले अगाडि भनिन्- ‘न्याय माग्दा कञ्चनपुरवासीले छोरा गुमाउनुपरेको छ, भएका छोराहरु अपाङ्ग बनाउनुपरेको छ । हामीमात्रै होइन, देशैभरि । स्थानीय जनताले तोकेर दोषी भनिसक्दा पनि अनेकौं बाहना बनाइनु कञ्चनपुरबासीका लागि दुर्भाग्य हो ।’

नेगीका अनुसार लास जलाउने सहमति गर्दा तीन दलका नेताहरु थिए । त्यहाँ कांग्रेसका सचिवका साथै पूर्वएमाले र पूर्वमाओवादीका नेता सहभागी थिए । ‘त्यो सर्वदलीय सहमतिमा लास जलाउने र क्षतिपूर्ति दिने भनिएको थियो । प्रहरीलाई कारवाही गर्नुपर्छर् भन्ने हाम्रो आवाज उल्लेख थिएन, नेगीले भनिन्, हामीले प्रश्न गर्‍यौं- बलात्कार किन भनिएन ? यो सहमति हामी मान्दैनौं । यसो भनेपछि प्रहरी हस्तक्षेप भयो ।’

थुनाबाट खाली खुट्टा अस्पताल पुगें- लक्ष्मी मल्ल 

निर्मला पन्तलाई न्याय दिलाउने संघर्षमा सरिक भएकी अर्की जोदाहा महिला हुन्- लक्ष्मी मल्ल । पीडित परिवारसँगै कञ्चनपुरबाट काठमाडौं आएकी लक्ष्मीले आफ्नो संघर्षको कथा यसरी सुनाइन्ः

साउन ११ गते घरअगाडि निर्मलाको लास राखिएको थियो । मानिसहरु ३ बजेतिर मेयरका लागि पर्खेर बसिराखेका थिए । म त्यहाँ पुग्दा तीनजना मान्छे भित्र पठाएका छौं भने ।

रोशनी बम हाम्रो घरमा नियमित आउँथी । छोरीलाई डान्स सिक्न पठाइदे आन्टी भन्थी । मैले हुँदैन रोशनी भनेर हकार्थेँ

प्रहरीले सुरुमा कसैलाई भित्र जान दिएनन् । आन्दोलन गरेर डीएसपीलाई थर्काएपछि हामी भित्र गयौं । मेयरको कोठाको चाबी खोलिएन । मेयर हुनुहुन्न भनेपछि बाहिर आन्दोलन सुरु भयो ।

प्रहरीले सबैलाइ हड्न भने । मलाई पनि हटाउन खोजे । मैले जान्न भनें । त्यसपछि प्रहरीले अश्रुग्यास हान्यो । म हटिनँ । एकजना सरले मिनरल वाटर दिनुभयो । प्रहरीले यसलाई लगेपछि यो आन्दोलन शान्त हुन्छ भनेर साढे ४ बजे मलाई पक्रेर थुने ।

१२ गते बिहानै ८ बजेदेखि फेरि आन्दोलन चर्कियो । निर्मलाका बुबा बेहोस् थिए, स्लाइन पानी चढाइरहेका थिए । त्यसपछि मामा तीर्थराज आए । भीमदत्त वडा नम्बर २ र १८ का वडाध्यक्षलाई हामीले घटनाको जिम्मा लिनुपर्छ भन्यौं, त्यसपछि त्यहाँ झगडा पर्‍यो । तीर्थराजले निर्मलाका बुबा पागल हो भने ।

निर्मलाको लास उठाउन नगरपालिकाको पुरानो ट्याक्टर ल्याइयो । त्यो पनि फोहोर उठाउने ट्याक्टर ।

मामाले लास उठाएर लैजान्छ भने उसको घरमा आगो लगाउन हामी जान्छौं भनेर मैले भनेकै हो । त्यसपछि प्रहरीले हट्न भन्दै माइकिङ गरे । कतिपय साथीहरु भागे, म भागिनँ । फेरि माइकिङ गरे । तितर-वितर भइयो । तेस्रोपालिमा फेरि ट्याक्टर ल्याए । मलाई सईले बन्दुकको कुन्दै कुन्दाले हान्यो । कति हान्छस् हान् भनें । तँ नै भनें । एकछनिमा पत्रकारले भिडियो खिचेपछि महिला प्रहरीले मलाई भित्र लगेर थुने । म आधा घण्टासम्म रोएँ ।

बबिता बम त्यहीँ थिई । एउटा हवल्दारले तपाई बच्चाको माया भए आन्दोलनमा आउनुहुन्नथ्यो भन्यो । फ्यान लग्यो । तर, बबिता बमलाई ‘फुपू पानी खानुहुन्छ ? पैसा नभए म दिउँला’ भने ।

भोलिपल्ट निस्किएँ । त्यहाँबाट खाली खुट्टै अस्पतालमा पुगें ।

निर्मलाकी आमा अर्थात् दूर्गादेवी ।

निर्मलाकी आमा दुर्गादेवी कञ्चनपुरमा चटपटे बेचेर गुजारा गर्दै आएकी सामान्य महिला हुन् । तर, परिस्थितिले उनलाई अहिले संघर्षशील साँच्चैकी ‘दूर्गादेवी’ जस्तै बनाइदिएको छ ।

दूर्गादेवीले घटनाको प्रारम्भिक विवरण यसरी सुनाइन्-

छोरी आउली भनेर बसेँ । कहिल्यै ढिला गर्दिनथी । ६ बजेसम्म नआएपछि खोलाको बाटोमा र रुखहरु छ भनेर साइकल लिएर गएँ । त्यहाँ (बमको घरमा) जाँदा गेट लगाएकै हुनाले मैले बाहिरदेखि बोलाएँ । रोशनी बाहिर आउ, मेरी छोरीलाई पनि बाहिर ल्याऊ । अहिलेसम्म के गरेर बसेको ? रात परेको थाहा छैन ? भनेँ ।
उसले भनी, अन्टी उ त गइसकी । ११ बजे नै आएको हो, २ बजेसम्म बसी । चटपटेको पैसा पनि मैले दिया हुँ । अम्बा लगेर गईँ ।

२ बजे त म घरमै थिएँ । कहाँ गई त ? ल भन । यहीँबाट हराएकी छे । तेरी पनि साथी हो । मलाई नसोधी बोलाइछे भने मैले ।

म नभएको बेलामा यहीँबाट छोरी हराई । तैंले जिम्मा लिनुपर्छ । या त तैंले पनि खोज्न लाग्नुपर्छ भनें । रोशनीलाई बोल्न नदिई अर्को कोठाबाट उसकी दिदीले चर्को स्वरमा भनी- अरे आन्टी के भन्दैछौ ? धम्याउने ? हाम्रा यहाँ कोही छैनन् । आफ्नी छोरी कस्ती छ, विचार नगर्ने । पोइला गई कि कहाँ गई तिम्री छोरी ।
पक्कै पनि उसले कहीँ पठाई कि भन्ने सोचेँ । आउँछे वा खोज्नुपर्छ भनेर म घर फर्किएँ । उ आइन । पकाएर खाने कुरा भएन । बाबुकहाँ गएकी भए पनि आईजान्थी ।

लक्ष्मण भट्ट (छिमेकी)लाई लिएर मोटरसाइकलमा गएँ । उसले बारबार किन आइराख्नुहुन्छ भनेर कराउन थाली ।

घर आएपछि प्रहरीलाई खबर गरेँ । तुरुन्त आउँछौं भन्यो । शायद ८ बजेको होला । बबिताले पोइला गई भनेको हुनाले पक्कै बेच्न लग्यो होला, सीमाना पार गर्न नसकोस् भनेर गड्डा चौकीमा फोन गरेँ । वडामा फोन गरेँ । जिप्रकामा फोन गर्दा दिउँसो गएको मान्छे, यतिबेला खोज्ने हो भनेर उल्टै हकार्‍यो । प्रहरीले सुरुदेखि नै लापरवाही गर्‍यो । फोन गरेर आएनन्, वडा प्रहरीमा लक्ष्मण आफैं गएका थिए । अरु साथीकहाँ पनि खोज्यौं । सबै समाजसहित ७/८ जना राति १२ बजेतिर वडा नम्बर १८ को प्रहरी बिटमा गयौं ।

रोशनी बम हाम्रो घरमा नियमित आउँथी । छोरीलाई डान्स सिक्न पठाइदे आन्टी भन्थी । मैले हुँदैन रोशनी भनेर हकार्थेँ । अर्काको छोरीलाई त कुट्नु भएन, आफ्नै छोरीलाई कुटेँ ।

९ गते साँझ चटपटे उधारो खाएर बोलाएको रहेछ । मैले त न जा त्योसँग भनेर हकारेको थिएँ । उसले पनि उधारो खाएर बोलाएकी रहिछे ।

प्रहरी आइदिएनन् । हामीले सबै साथीको घरमा खोज्दा पनि भेटेपछि सालघारी विटका प्रहरीलाई लगेर घरमा हेर्नुपर्छ भनेर समाजले पनि भन्यो । तर, प्रहरी आइदिएनन् । प्रहरी टोली ड्रेस लगाएर तयार भए पनि सईले जिल्लामा सोध्यो र राति अनुमतिविना जान हुँदैन, भोलि हुन्छ भन्यो ।

हाम्रो आशंका छ, या तिनीहरुको हात थियो वा घटनामा उनीहरुको संलग्नता थियो ।

भोलिपल्ट वडामा गयौं । फर्कने क्रममा बमको घर बाटोमा पथ्र्यो, त्यसैले समाजले गएर हेर्नुस् भन्यो । मैले सबैलाई लिएर गएँ । म बमको घरमा पुग्नासाथ रोशनी कहाँ हिँड्न ठीक्क परेकी रहिछन् ।

मैले भनें, हेर रोशनी । हिजो ११ बजे नै यहाँ आएकी रहिछे । २ बजे गई भने गएकी छैन । रातभर खोजी गर्दा पनि छोरी आइन । म तेरो रीसले होइन, छोरी खोज्न आएको हुँ भने । उनकी दिदीले बारबार किन आउने, हिजै भनिसकेकी छु भनेर जोडले झपारी । प्रहरी पनि थिए, समाजका मान्छे पनि थिएँ ।

मैले प्रहरीलाई भनें, सुन्नुस् । हिजो पनि हेर्न सकिनँ । रात बित्यो मेरी छोरी भेटेकी छैनन् । प्रहरीले हजुर चुप लाग्नु, हाम्रो हो बुझ्ने काम हो भने । प्रहरीले घरभित्र हेर्‍यौं, केही छैन भने ।

रोशनी बमलाई फेरि सोध्न मन लाग्यो । हेर रोशनी, त मेरो घरमा गएको बेला कहिल्यै रिसाइनँ । साँच्ची बताइदे । यो घरमा कुनै केटा आएको थियो ? कुनै केटाबारे तलाई भनेकी छे ? तलाई दोष दिन्नँ भनें ।

उसले नाई आन्टी भनी । आजसम्म स्कुलमा केही सुनेको छैन भनी । यहाँबाट अम्बा लगेर गई भनी । गेटबाट निस्किएर बजारतिर गई कि कताभन्दा थाहा छैन भभनी ।

बुबाकहाँ जाने भन्थी । ४/५ दिन भाषी (जहाँ निर्मलाका बाबु र कान्छी श्रीमती बस्थे) जाने हो भनेकी थिइन् भनी । जब कि उनलाई थाहा थियो कि बाबु इण्डियातिर गएका थिए ।

बिहान साढे ८/९ बजेतिर खोला छेउमा साइकल भेटियो । साइकल भेटियो भने शव पनि त्यतै होला भनेर बविता बमले भनेको हाम्रो छिमेकी रुपा कार्कीले सुनेका रहेछिन् । मुखमा त्यति छिटो त नआउनु पर्ने । मरिसकेको कुरा कसैले भनेको छैन, बबिताले नै पहिला भनेकी हुन् । नभन्दै १० बजेतिर शव भेटियो । एसपी साबहरु पुग्नासाथ महिला प्रहरीले ट्राउजर धोइदिए ।

स्थानीयले ‘शव भेटिएको ठाउँलाई निषेध गर्नुस्, प्रमाणहरु नष्ट होला’ भन्दा इन्स्पेक्टर एकेन्द्र खड्का ‘नेपाल प्रहरीलाई तपाईहरुले सिकाउने’ भन्दै कडि्कए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment