Comments Add Comment

भारतीय विश्लेषणः ओलीलाई मोदीले फकाउन सकेनन् !

२९ भदौ, काठमाडौं । भारतको पुणेमा सोमबारदेखि सुरु भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स २०१८’ मा नेपालको सहभागिताबारे प्रश्न उठेपछि नेपाली सेनाले अन्तिममा आएर सहभागिता जनाएन । नेपाली सेना त्यहाँ नजाने भएपछि स्वदेशमा यसको चर्चा सेलायो । तर, भारतमा चाहिँ यो विषयले सनसनी मच्चाइदिएको छ ।

आतंकवादविरुद्ध लड्नका लागि बिमस्टेक मुलुकका सेनाबीच सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले गर्ने भनिएको ६ दिने सैन्य अभ्यासमा नेपालले ३० जनाको टोली पठाउने तय गरिसकेको थियो । तर, चर्को आलोचना भएपछि नेपाल सरकारले अन्तिम घडीमा आएर सैन्य अभ्यासमा भाग नलिने निर्णय गर्‍याे ।

काठमाडौंमा भदौ १४/१५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भारतले आतंकवादविरुद्ध लड्नका लागि बिमस्टेक राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको थियो ।

तर, भारतीय प्रस्तावमा हुने सैन्य अभ्यासमा भाग नलिने नेपाल सरकारको निर्णयपछि नेपाली सेनाले त्यहाँ ३ जना पर्यवेक्षक मात्रै पठाएको छ ।

नेपालले जस्तै बिमस्टेकको अर्को सदस्य राष्ट्र थाइल्याण्डले पनि विभिन्न कारण देखाउँदै सैन्य अभ्यासमा भाग लिएको छैन ।

यसैबीच नेपाली सेनाले असोज १ चीनसँग मिलेर ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास गर्दैछ । चीनको छेङ्दुमा हुने अभ्यास १२ दिनसम्म चल्नेछ । अघिल्लो वर्ष काठमाडौंमा यसै नाममा चीनसँग संयुक्त सैन्य अभ्यास भएको थियो ।

भारतीय मिडियाको निश्कर्षः मोदीले फकाए पनि ओली चीनतिरै

बिमस्टेक सदस्यवीचको संयुक्त सैन्य अभ्यासमा भाग नलिएपछि नेपालमा यसबारको चर्चा परिचर्चासेलाएको छ तर, यसै कुराले भारतमा तरंग पैदा गरेको छ ।

भारतका प्रमुख सञ्चारमाध्यमहरुले यस विषयलाई महत्वका साथ प्रकाशन प्रशारण गर्दै नेपाल भारतको साथ छोडेर चीनतिर ढल्किएको चर्चा गरेका छन् । ती सञ्चार माध्यमहरुका अनुसार नेपालको यस्तो कदमले भारत रुष्ट भएको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित ‘भारतले नेपाल नीति परिवर्तन गर्नुपर्छ’ शीर्षकको सम्पादकीयमा भनिएको छः

यसैसाता भएका दुई निर्णयको कारणले भारतलाई टाउको दुखाउने संकेत दिएको छ । पहिलो, नेपालले चीनसँगको पारवहन प्रोटोकलमा गरेको हस्ताक्षरले नेपालमा चीनको राजनीतिक र आर्थिक प्रभाव बढ्दै गएको देखाउँछ, यसले भारतलाई झस्काएको छ ।

दोस्रो, आन्तरिक आलोचनाको कारण देखाउँदै नेपालले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा भाग लिने सहमतिबाट पछि हटेको छ । त्यसबारेमा असन्तुष्टि जनाउँदै भारतले यो निर्णयले बिमस्टेकलाई लज्जास्पद स्थितीमा पुर्याएको बताएको छ ।

सम्पादकीयलाई बिट मार्दै हिन्दुस्तान टाइम्सले लेखेको छः

नयाँदिल्लीले कुनै पनि समस्या नभएको जस्तो बहाना गर्न सक्छ । तर, जबसम्म उसले नेपाललाई हेर्ने नीति परिवर्तन गर्दैन, सार्वजनिकरुपमा सतहमा देखिने न्यानोपन निरन्तर चलिरहे पनि सतहभित्र तनाव झनै गहिरिँदै जान्छ ।

भारतीय अनलाइन पोर्टल द प्रिन्टमा ज्योती मलहोत्राले लेखेको समाचारमा भनिएको छः

बिमस्टेक देशहरुको संयुक्त सैन्य अभ्यासमा भाग नलिने नेपालको निर्णयले आफू दुःखी भएको कुरा भारतले नेपालसँग व्यक्त गरेको छ साथै चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर गरेकोमा पनि भारत बेखुुसी छ ।

त्यस्तै इन्डिया टुडेको अनलाइन पोर्टलमा प्रकाशित ‘बिमस्टेक सैन्य अभ्यासबाट नेपालले बाहिरिए पछि भारतको भनाइः बाध्य बनाउन सकिँदैन’ आशयको शीर्षकमा पत्रकार गीता मोहनले लेखेकी छिन्ः

बिमस्टेक सैन्य अभ्यासमा भाग नलिई नेपालले चीनसँग गर्न लागेको संयुक्त अभ्यास पछिभारतले उक्त निर्णयलाई आफूले ‘राम्रोसँग बुझेको’ बताएको छ ।

भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै गीताले लेखेकी छन्ः

बिमस्टेक यस्तो फोरम हो, जसले ‘सहमति’ मा काम गर्छ र कुनै पनि देशको प्रस्ताव अर्को सदस्यले ‘मान्नै पर्ने’ बाध्यता रहेको छैन ।

त्यस्तै अर्का पत्रकार ब्रह्म चेलानीले डेली ओ डटइनमा मंगलबार ‘नेपाली कम्युनिष्टले भारतलाई दिएको चुनौती किन घातक छ’ शीर्षकको आलेख लेखेका छन् । उनले भनेका छन्–

भारतीय प्रधानमन्त्री मोदीले फकाउने प्रयास गरे पनि नेपालका प्रधामन्त्री खड्गप्रसाद ओलीले चीनतर्फ आफ्नो कमजोर झुकाव राखी रहेका छन् ।

उनको सरकारले सेप्टेम्बर १० बाट पुणेमा सुरु भएको बिमस्टेक राष्ट्रहरुको पहिलो प्रतिआतंकवाद सैन्य अभ्यासमा भाग लिएको छैन र भारतको शक्तिलाई घटाउन चीनसँग पारवहन सम्झौता गरेको छ ।

यी त केही उदाहरणमात्रै हुन् । धेरै भारतीय सञ्चार माध्यमले यस विषयको समाचारलाई महत्वका साथ प्रकाशन प्रशारण गरेका छन्, जसमा उनीहरुले नेपालमा चिनिँया प्रभाव बढ्दै जाँदा भारतसँग भने दुरी बढ्दै गएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment