Comments Add Comment

शशांकलेे मागे नेतृत्व परिर्वतन, देउवाले भने-म थाकेको छैन

२९ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले गुट उपगुट अन्त्य हुनुपर्ने बताए । आगामी चुनावमा पार्टीलाई विजयी गराउन कांग्रेस नेताहरु एक हुनुपर्ने उनले बताए । उनले भने, ‘पार्टी एक बनाउन महामन्त्रीका हैसियतले मैले जेजे गर्नुपर्ने हो, भन्नुपर्ने हो म तयार छु ।’

कर्‍याङकुरुङ चराको कथा सुनाउँदै उनले एकवद्ध भएर १० हजार किलोमिटर उडेर आउने बताए । कांग्रेस पनि एकतावद्ध भएर उड्नुपर्ने भन्दै कोइरालाले भने, ‘जुन हाँसले नेतृत्व गरेको हुन्छ, त्यसका लागि शतप्रतिशत भार बोक्नुपर्छ ।’

‘१० हजार किलोमिटर एउटै नेतृत्वमा जाँदैन । नेतृत्व परिर्वतन गरिरहेको हुन्छ । थाक्छ, पछाडि जान्छ’ भन्दै उनले घुमाउरो शैलीमा सभापतिलाई नेतृत्व छाड्न आग्रह गरेका उनले हाँस्दै भने, ‘मैले भन्नुपर्ने कुरा तपाईहरुले बुझिसक्नुभएको छ ।’

तर, सभापति देउवाले त्यही मञ्चबाट नेतृत्व छाड्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू’ देउवाले भने, ‘कर्‍याङकुरुङ थाकेको होला, म थाकेको छैन ।’ देउवाले यसो भन्दा सहभागीहरुमाझ हाँसोको फोहोरा छुट्यो ।

देउवाले पार्टीमा अन्तरघातीलाई कारबाही गर्नुपर्ने बताए । कांग्रेसलाई कांग्रेसले नै हराएको भन्दै भने, ‘अनुशासन समिति बनाउँ भन्दा समस्या हुन्छ । अनुशासन नभई पार्टी चल्छ ? त्यसैले बदमासी गर्नेहरुलाई कारबाही गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment