Comments Add Comment

प्रचण्डको छिमेक यात्राः दिल्लीसँग उत्साहित, बेइजिङसँग आशावादी

३० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेलगत्तै भारत र चीनको भ्रमण गरेर दुबै छिमेकीसँग विश्वास आर्जन गरेको बताएका थिए । अहिले त्यही ‘विश्वास’ लाई ढल्न नदिन नेकपा अध्यक्ष प्रचण्डले भारतको भ्रमण गरेका छन् । र, उनी आजैदेखि चीन भ्रमणमा निस्केका छन् ।

ओली सरकारको पाँच महिने उपलब्धिको सूचीमा छिमेकी देशसँग आपसी विश्वासको वातावरण बनाइएको विषयले महत्व पाउँदै आएका बेला फेरि यी भ्रमणहरु आयोजना गरिएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डको यस्तो बेलामा भारत भ्रमण सम्पन्न गरेका छन्, जतिबेला नेपालले बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको भन्दै दिल्लीमा बहस चर्किरहेको थियो ।

सैन्य अभ्यासमा नेपाल सहभागी नहुनुलाई मोदी र ओलीवीचको सम्बन्ध विश्वासिलो नबनिसकेको संकेतका रुपमा भारतीय पक्षले अर्थ्याइरहेको थियो । र, ठीक त्यहीबेला प्रचण्ड दिल्ली पुगेका थिए ।

भारतीय विश्लेषकहरुले नेपाल सरकार अझै पनि चीनतिरै ढल्किएको आरोप लगाइरहेकै छन् । यस्तो बेलामा मोदी र प्रचण्डवीच वान टु वान छलफलमा के के कुारकानी भयो, सबै कुरा बाहिर नआए पनि प्रचण्डले आफू भारतबाट उत्साहित भएर फर्किएको आफू निकटस्थ नेताहरुलाई बताएका छन् ।

दुबै छिमेकी सशंकित भएकै हुन् त ?

ओली सरकारसँग भारत र चीन दुबै देश सशंकित भएको विश्लेषण सत्ता इत्तरका विश्लेषकहरुले गर्न थालेका छन् । चिनियाँ लगानीकर्ताहरु केपी ओलीको भ्रमणपछि पनि विश्वस्त नभएको, पश्चिम सेती र बूढीगण्डकीबाट चिनियाँ कम्पनी बाहिरिने निर्णयमा पुगेको अनि चिनियाँ लगानीकर्ताहरु नेपाल आउन हिच्किचाइरहेको जस्ता तर्कहरु आइरहेका छन् ।

उता भारतबाट पनि उच्चस्तरीय भ्रमणका बेला ठूलो आर्थिक सहयोग पाइने ओली सरकारको अपेक्षा पूरा नभएको र भारतले अझै पनि पर्ख र हेरको नीति लिएको तर्क सुरु भएको छ । यहीबेला सैन्य अभ्यासमा नेपालको सहभागिताको प्रश्न दिल्लीमा अलि जोडतोडका साथ उठेको छ ।

आोली सरकारप्रति भारत र चीन दुबै देशको विश्वास कमजोर बन्न थालेको आरोप नेकपाका नेताहरु भने स्वीकार गर्दैनन् । यस्ता आशंकाहरु ‘मिडियाका अनुमान’ मात्रै भएको सत्तारुढ दलका नेताहरुको तर्क छ ।

पूर्वमाओवादीका विदेश विभाग सचिवसमेत रहेका नेकपाका युवा नेता युवराज चौलागाई भन्छन्- ‘मिडियाले गरेको अनुमान एउटा होला, तर, भारतीय संस्थापन पक्ष र नेपालको संस्थापन पक्षका वीचमा त्यति धेरै दूरी बढेकोजस्तो मलाई लाग्दैन । किनभने, नेपालसँग दुरी बनाएर भारतलाई फाइदा छैन भन्ने उनीहरुले महसुस गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्केपछि उत्साहित देखिएको चौलागाईले सुनाए । उनले भने- ‘अध्यक्ष प्रचण्ड भारतबाट एकदमै उत्साहित भएर आउनुभएको छ, भारतीय पक्षसँग ताजा घटनाक्रममा बारेमा पनि लामो कुराकानी भयो । मोदी र प्रचण्डवीच लामो भेटघाट भयो ।’

नेकपा नेता चौलागाईले संकेत गरेको ‘ताजा घटनाक्रम’ त्यही संयुक्त सैनिक अभ्यास हो, जसमा नेपालले सहभागिता जनाएन ।

यद्यपि भारतले प्रस्ताव गरेको सैन्य अभ्यास उपयुक्त नभएकाले नेपालले सहभागिता नजनाएर ठीकै गरेको चौलागाईले अनलाइनखबरलाई बताए ।

‘इण्डियाका प्रधानमन्त्रीले के आधारमा सैन्य अभ्यासको प्रस्ताव राख्नुभयो’ भन्ने प्रश्न गर्दै चौलागाईले भने- ‘त्यो परिस्थिति बनिसकेको थिएन र उपयुक्त पनि थिएन । छलफल भएर पनि गरिएको होइन । त्यसैले बिमस्टेकको सैन्य अभ्यासका र चीनसँगको प्रोटोकोल सम्झौताबारे अहिले जे निर्णयहरु भएका छन्, ती नेपालको हितमा छन् ।’

भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उच्चपदस्थ नेताहरुसँग भेटघाट र छलफल गरेका थिए । भारत जाने बेलामा खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई देशवीचको सम्बन्ध सुधार गर्ने र नेपाल सरकारलाई सहगोग गर्ने उद्देश्य लिइएको बताएका थिए । विकास निर्माणमा परियोजनाहरु भित्र्याउन आफूले छिमेकीसित कुराकानी गर्ने उनले बताएका थिए ।

अब हुन लागेको चीन भ्रमणबाट पनि नेपाल-चीनवीच विश्वासको वातावरण बढ्ने र परियोजनाहरुमा चिनियाँ लगानीहरु भित्रिन सक्ने दाबी सत्तापक्षका नेताले गरेका छन् ।

नेकपा नेता चौलागाई अगाडि भन्छन्- ‘मेरो विचारमा चाइनासँगको प्रोटोकोल सम्झौता र बिमस्टेक बैठक मौलिक भएको छ । मैले सुन्दा चिनियाँहरु पनि धेरै सशंकित छैनन् । बरु दुई तिहाइ बहुमतको सरकारले विकास निर्माणमा गति नलिएको सत्य हुन सक्छ । तर, यी निर्णयहरुले दुबै पक्षको हित गर्छ र बाह्य लगानी बढ्छ भन्ने लाग्छ ।’

चिनियाँ लगानीकर्ताहरुले नेपालमा लगानी गर्न हिच्किचाएजस्तो आफूलाई नलागेको बताउँदै चौलागाईले पार्टीका शीषै नेताको चीन भ्रमणपछि उत्तरसँगको सम्बन्ध अझ विश्वासिलो बन्ने दाबी गरे । भारतसँग पनि नेपाल सरकारको सम्बन्ध राम्रो बनेको र बन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment